चितवनमा कोरोना : ५१ वर्ष नाघेका ३४० सङ्क्रमित, १६ को मृत्यु

अन‌ि यो पनि

भरतपुर । चितवनमा बिहीबारसम्म ५१ वर्ष नाघेका ३४० जना व्यक्तिमा कोरोना पुष्टि भएको छ । सङ्क्रमितमध्ये १६ जनाको मृत्यु भइसकेको छ । उनीहरु लगभग सबैमा दीर्घरोगसमेत रहेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले बताएको छ । बिहीबारसम्म जिल्लाका दुई हजार ८४ जनामा कोरोना पुष्टि भएको थियो, जसमा २१ सङ्क्रमितको मृत्यु भएको छ ।

५१ वर्ष नाघेका सङ्क्रमितहरुको मृत्युदर ४.७ प्रतिशत छ । ५० वर्षमुनिका सङ्क्रमितको संख्या एक हजार ७४४ छ भने मृत्यु हुनेको संख्या पाँच छ । ५० वर्षमुनिका सङ्क्रमितको मृत्युदर ०.२८ प्रतिशत छ । यस हिसाबले ५१ वर्ष नाघेका एवम् दीर्घरोग भएका कोरोना सङ्क्रमितहरु मृत्युको उच्च जोखिममा छन् ।

५१ वर्ष नाघेका मृतक सङ्क्रमितहरु १६ जनामध्ये ५१ देखि ६० वर्ष र ६१ देखि ७० वर्ष उमेर समूहका पाँच/पाँच जना र ७१ वर्षदेखि ८० वर्ष र ८० वर्षमाथिका तीन/तीन जना छन् । ५० वर्षमुनिका मृतक सङ्क्रमितहरु पाँच जनामध्ये २१ देखि ३० वर्ष उमेर समूहका दुई जना र ११ देखि २० वर्ष, ३१ देखि ४० वर्ष र ४१ देखि ५० वर्ष उमेर समूहका एक/एक जना रहेका स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताइन् ।

मृत्यु हुनेहरुमा पुरूष १३ जना र महिला ८ जना छन् । मृतकहरुमा भरतपुर महानगरका १३ जना, रत्ननगर नगरपालिकाका तीन जना, खैरहनी र राप्ती नगरपालिकाका दुई/दुई जना र कालिका नगरपालिकाका एक जना छन् । माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाका कुनै पनि सङ्क्रमितको अहिलेसम्म मृत्यु भएको छैन ।

बिहीबारसम्मको तथ्याङ्कअनुसार जिल्लामा सक्रिय सङ्क्रमित ७६० जना छन् भने एक हजार ३०३ जना निको भएर घर गइसकेका छन् । सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसोलेसनमा २२५ जना र होम आइसोलेसनमा ५३५ जना सङ्क्रमित छन् । भरतपुरका ५५६, रत्ननगरका ६१, खैरहनीका ९०, राप्तीका २७, कालिकाका १९, इच्छाकामनाका पाँच र माडीका दुई सङ्क्रमित आइसोलेसनमा बसेका छन् ।

शुक्रबार ७३ सङ्क्रमित थपिए
भरतपुर । चितवनमा शुक्रबार ७३ जना सङ्क्रमित थपिएका छन् । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाका अनुसार शुक्रबार १७० नमुना परीक्षण गरिएकोमा भरतपुरका १७ जना र राप्तीका एक जना गरी १८ जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितहरु क्वारेन्टिन, भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र पुष्पाञ्जली अस्पतालमा उपचार गराइरहेका व्यक्ति हुन् ।
त्यस्तै, चितवन मेडिकल कलेजको ल्याबमा गरिएको परीक्षणमा चितवनका ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण हुनेहरुमा भरतपुरका ४३ जना, रत्ननगरका सात जना, कालिकाका तीन जना तथा खैरहनी र इच्छाकामनाका एक/एक जना हुन् ।

चितवनमा शुक्रबार नै हेटौँडाका ७८ वर्षीय एक सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणसहित चितवन मेडिकल कलेजबाट भरतपुर अस्पताल पुगेका उनमा श्वासप्रश्वासमा समस्या र निमोनिया देखिएको अस्पतालले जनाएको छ । भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रबार बिहान मृत्यु भएको अस्पतालले बताएको छ ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया