रत्ननगरमा कोरोना नियन्त्रणमा डेढ करोड खर्च

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर नगरपालिकामा कोरोना नियन्त्रण, रोकथाम र व्यवस्थापनमा डेढ करोड रूपैयाँ खर्च भएको छ । शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सो नगरपालिकाले ६ महिनाको अवधिमा राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन सञ्चालन र सुरक्षा तथा स्वास्थ्य सामग्री खरिदमा १ करोड ४९ लाख ८९६ रूपैयाँ खर्च भएको जानकारी दिएको हो ।

आर्थिक वर्ष २०७६/७७ मा १ करोड २७ लाख र चालू आर्थिक वर्षमा २२ लाख ८९६ रूपैयाँ खर्च भएको छ । गत वर्ष क्वारेन्टाइन व्यवस्थापनमा १६ लाख, सुरक्षा सामग्री खरिदमा १६ लाख, गुन्जमान आइसोलेसन अस्पताल व्यवस्थापनमा ५ लाख, राहत वितरण ८२ लाख, स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्तास्वरुप ८ लाख रूपैयाँ खर्च भएको रत्ननगर मेयर नारायण वनले जानकारी दिए ।

आर्थिक वर्ष २०७६/७७ मा कोरोना नियन्त्रण, रोकथाम र व्यवस्थापनका लागि २ करोड खर्च हुने अनुमान गरिएको थियो । सो आर्थिक वर्षमा ४२ लाख वडागत बजेट, ६० लाख नगरस्तरीय बजेट, २० लाख प्रदेश सरकार र १० लाख रूपैयाँ विभिन्न संघसंस्थाबाट सहयोगस्वरुप प्राप्त भएको थियो । चालू आर्थिक वर्षमा कोरोना नियन्त्रणका लागि स्वास्थ्यतर्फको बजेट १० लाख विपद् व्यवस्थापनतर्फको बजेट ४० लाख र आन्तरिक आम्दानीबाट एक करोड गरी एक करोड ५० लाख विनियोजन गरिएको छ । चालू आर्थिक वर्षको साढे दुई महिनामा सो नगरपालिकाले २२ लाख रूपैयाँ खर्च गरिसकेको छ ।
चालू आर्थिक वर्षमा क्वारेन्टाइन व्यवस्थापनमा १७ लाख ७८ हजार ३०६ रूपैयाँ, सुरक्षा सामग्री खरिदमा २ लाख, टरौली आइसोलेसन सेन्टर सञ्चालनमा १ लाख ५० हजार रूपैयाँ खर्च भएको मेयर नारायण वनले जानकारी दिए । ६ महिनाको अबधिमा सो नगरपालिकाले विदेशबाट आएका आफ्ना नागरिकलाई राख्न वडागत क्वारेन्टाइन, क्वारेन्टाइनमा बसेकाहरुलाई बेड, खानाको सुविधा, गुन्जमान अस्पतालमा आइसोलेसन सेन्टर सञ्चालन, लकडाउनका कारण समस्यामा परेकालाई राहत वितरण, विभिन्न जिल्लाबाट नागरिक ल्याउन सवारीसाधनको व्यवस्थापन र पछिल्लो समय टरौलीमा संयुक्त आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।

‘कोरोना नियन्त्रणका लागि हामीले सबै उपायहरु अपनाएका छौँ’, मेयर नारायण वनले भने, ‘नगरवासीलाई कोरोनाको जोखिमबाट जोगाउने क्रममा म आफैँ कोरोनाको सिकार बनेँ ।’ पछिल्लो समय रत्ननगरका दुई उद्योगमा कार्यरत कामदारहरुलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि रत्ननगरलाई कोरोना नियन्त्रणमा चुनौती थपिएको थियो । उचित व्यवस्थापनका कारण ती दुवै उद्योगका सङ्क्रमितहरु कोरोनामुक्त भएका छन् ।

रत्ननगरमा ६ महिनाको अवधिमा २४८ जना कोरोनामुक्त भइसकेको मेयर वनले जानकारी दिए । १ हजार ४४४ जनाको पिसिआर परीक्षण गरिएकोमा ३१६ जनालाई कोरोना पुष्टि भएको र तीमध्ये २४८ जना निको भइसकेको उनले बताए । शुक्रबारसम्म सो नगरपालिकामा सक्रिय सङ्क्रमितको संख्या ६५ जना रहेको छ, जसमध्ये ५७ जना होम आइसोलेसन, ५ जना सामुदायिक आइसोलेसन र ३ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए ।

रत्ननगरमा सबैभन्दा धेरै वडा नम्बर–१४ मा ६५ जना र सबैभन्दा कम वडा नम्बर–६ मा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमणकै कारण सो नगरपालिकामा तीन जनाको मृत्यु भएको छ । पत्रकार सम्मेलनमा उपमेयर विमला दुवाडीले कोरोनाको सङ्क्रमण बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन नगरवासीलाई आग्रह गरिन् । ‘सामाजिक दूरी कायम गर्ने र सुरक्षाका उपायहरु अपनाउने हो भने कोरोनाबाट जोगिन सकिन्छ’, उनले भनिन्, ‘कोरोना केही होइन भनेर वेवास्ता गर्न हुँदैन ।’

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया