धादिङका सात स्थानीय तहको ‘नमूना कार्य’

अन‌ि यो पनि

धादिङ, १६ असोज । कोभिडको–१९ को जोखिम बढ्दै गएपछि धादिङमा स्थानीय पालिकाहरूले क्वारेन्टीन र आइसोलेसन बसाइलाई व्यवस्थित बनाउन कडाईका साथ आचारसंहिता लागू गर्न थालेका छन् ।

धादिङका १३ मध्ये सातओटा स्थानीय तहले क्वारेन्टिन र आइसोलेसन बसाईसम्बन्धी नागरिक आचार संहिता र सञ्चालन तथा व्यवस्थापन मापदण्ड तयार गरी १० वटा क्वारेन्टिनमा लागू गराएका छन् । यी पालिकाहरूले निर्माण गरेका क्वारेन्टिन र आचारसंहिता जिल्लाका अरू पालिका मात्र होइन देशकै स्थानीय सरकारहरूको लागि नमूना कार्य भएको छ ।

कोरोना संक्रमण रोकिनुको साटो बढ्दै गएपछि धादिङका स्थानीय तहहरु संक्रमित पहिचान भएकारुको सुरक्षित व्यवस्थापनका लागि जुटेका छन् । जिल्लाका १३ मध्ये सात स्थानीय तहले क्वारेन्टिन र आइसोलेसनमा बस्नेहरुले पालना गर्नुपर्ने नागरिक आचारसंहिता बनाएर लागू गरेका हुन् ।

जिल्लाको गजुरी, बेनिघाटरोराङ,थाँक्रे,गल्छी, ज्वालामुखी, गंगाजमुना र खनियाबास गरी सात ओटापालिकाहरूले व्यवस्थित र नमूनालायक क्वारेन्टिन र आइशोलेसन निर्माण गरेर त्यहाँ बस्नका लागि आचार संहिता निर्माण गरेका हुन् ।

केही साता अघिसम्म विद्यालय र सरकारी भवनहरुलाई क्वारेन्टिन र आइशोलेसन बनाएर प्रयोग गरिरहेका स्थानीय तहहरु अहिले बैकल्पिक ठाउँको पहिचान गरी व्यवस्थापन गरिरहेका छन् । विद्यालयको क्वारेन्टिन हटाइएपछि स्थानीय पालिकाहरूले नयाँ ठाउँमा क्वारेन्टिन र आइशोलेसन निर्माण गरेका छन् । उनीहरूले नौ बुँदे आचारसंहिता समेत जारी गरेका छन् ।

क्वारेन्टीनमा रहने प्रत्येक ब्यक्तिलाइ आवश्यक पर्ने व्यक्तिगत सरसफाइ सामग्रीदेखि, क्वारेन्टिनमा इन्टरनेट, टेलिभिजन, महिला र पुरुषको लागि छुट्टाछुट्टै शौचालय र स्नानघरका साथै मनोपरामर्श र योगाको समेत व्यवस्थापन गरिएको छ ।
पालिकाहरूले व्यवस्थित क्वारेन्टिन निर्माण गरेपछि स्थानीय बासिन्दामा समेत कोरोना भाइरसलाई हल्का ढङ्गले नहेरी सतर्क र सजग रहनु पर्ने थप प्रेरणा र उत्साह प्राप्त भएको ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठ बताउँछन् ।

भदौ महिना शुरु भए संगै जिल्लाका अधिकांश विद्यालयमा पठनपाठन शुरू भएकाले विद्यालयमा रहेका क्वारेन्टिन र आइशोलेसन खाली गरेर सेनिटाइज गरेर विद्यालयलाई सुरक्षित र सफा बनाएर छाडिएको छ ।
भारत र तेश्रो मुलुकबाट घर फर्किनेको संख्या नरोकिएको र दिनहुँ कोरोना भाइरस संक्रमितको संख्या थपिंदै गएकाले पालिकाहरूले क्वारेन्टिन र आइशोलेसनलाई व्यवस्थित गर्न थालेका हुन् । केही समय अघिसम्म विदेशबाट फिर्ता हुनेहरूमा मात्र कोरोना संक्रमण देखिएकोमा अहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी, व्यवसायी जस्ता अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्ति र सर्वसाधारणमा समेत कोरोना संक्रमण देखिनेक्रम बढ्दै गएको छ ।

दशैं, तिहार र छठ जस्ता ठूला चाडपर्व नजिकै आउन थालेकाले गाउँघरमा मानिसहरूको आवतजावत , भेटघाट र जमघट बढ्दै जाने भएपछि कोरोना संक्रमण फैलन नदिन स्थानीय तह सक्रिय भएका छन् ।
चाडपर्वको बेला गाउँघरमा हुने जमघटले कोरोना भाइरसको उपस्थिति बढाउने खतरा प्रति सचेत हुँदै धादिङका स्थानीय तह क्वारेन्टिन र आइशोलेसनको व्यवस्थापनमा चनाखो देखिएका हुन् ।

कोरोना संक्रमण फैलने क्रम बढ्दै गएकाले क्वारेन्टिन र आइसोलेसनमा को कहिले सम्म बस्नु पर्छ भन्ने कुनै यकिन नहुने भएकाले आचारसंहिता बनाएर लागू गर्न थालिएको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताए । अध्यक्ष तामाङका अनुसार क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापनमा संघीय सरकारले तोकेको मापदण्डलाई पछ्याउँदै आफ्नो भुगोल र समुदायलाई हेरेर गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय, स्वास्थ्य संयोजक सहयोगी संस्थाहरु मिलेर व्यवस्थापन र बसाई आचारसंहिताको निर्माण गरिएको हो । जिल्लाका सात वटा पालिकाले आचारसंहिता बनाएर लागू गर्न थालेका हुन ।

बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग ‘युके एड’ को आर्थिक सहयोग तथा मट म्याक डोनाल्डको व्यवस्थापनमा सञ्चालित पुर्णिमा परियोजना अन्तर्गत डेनमार्क स्थित गैह्र सरकारी संस्था डिसिएको अगुवाईमा एक्सन नेपालले धादिङमा स्थानीय तहसंग मिलेर आचारसंहिता निर्माण कार्यान्वयनका लागि स्थानीय तहलाई सहयोग गरिरहेको छ ।

स्थानीय सरकारले बसाई आचार–संहिता निर्माण देखि ब्यवस्थापनमा जुट्दा क्वारेन्टिन र आइशोलेसनमा बस्नुपर्दा पनि संक्रमित र जोखिममा रहेका व्यक्तिहरु थप जोखिममा रहेको महसुस गर्न नपाउने गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीको भनाई छ ।

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया