सुविधाबाट वञ्चित समूहमा जीवनपर्यन्त सिकाइ

अन‌ि यो पनि

सुविधा वञ्चित समूह
हाम्रा मुलुकमा अनेकौँ छन् राज्यप्रदत्त सुविधाहरुबाट वञ्चित समुदाय । त्यस्ता समूहमध्ये भौगोलिक दृष्टिले ज्यादा वञ्चितीकरणमा छन् । त्यस्ता समूहहरु पनि छन् विभिन्न प्रकृतिका । एक सीमान्तीय समुदाय र अर्को विकट भौगोलिक क्षेत्रमा रहने, जो सधैँ पेटको दावानल शान्त पार्न हरदम कर्मक्षेत्रमा जुटिरहेका हुन्छन् प्रायः । रोग, भोग र शोकलाई समेत दिल, दिमाग र देहबाट पचाउँदै सदा कर्मको पूजा गरिरहेका मान्छेका दैनिक जीवन कम छैनन् दर्दले भरिएका ।

प्रायः सचेतनाको अभाव हुन्छ उनीहरुमा नै । सन्तान पनि धेरै हुन्छन् तिनकै । बालबच्चाको लालनपालनकै निम्ति हुन्छ ठूलो उल्झन उनीहरुलाई । गाईबाख्रादेखि खेतीपातीको कामको चाप छ छुट्टै । बच्चा बिरामी हुँदाका पलहरुमा ओखती गर्न पैसा हुँदैन र ऋण गरेर जीवनयापन गर्नुपर्ने विवशता हुन्छ सधैँ । अझ छोरीछोरीलाई पढाउन त झनै हुन्छ अथाह समस्या । ठूलाले सानालाई हेरचाह गर्नुपर्ने बाध्यता । खेतीपातीको काम गर्न सघाउनुपर्ने बाध्यता ।

यस्तो विषम स्थितिमा छन् लाखौँ मानिसहरु । जो एक त भौगोलिक दूरता, घन्टौँ पैदलयात्रा गरेरमात्रै पुगिने शैक्षिक संस्थाहरु । त्यसमा पनि हरेक वर्ष हुने पहिरो र भूक्षयका कारण जीवन गुमाउनु परिरहेछ । घरबारबाट बेदखल बन्नु परिरहेछ । सरकारले व्यवस्था गरेको शैक्षिक संस्थाहरुमा पुग्न सकिरहेको छैन । सरकारले बालबालिकाका निम्ति व्यवस्था गरेको खाजा कार्यक्रम, छात्रवृत्ति आदिबाट पनि वञ्चित छन् उनीहरु । कोरोनाको यो विषम कहरमा अनलाइनबाट, टेलिभिजन र रेडियो आदिबाट भइरहेका शैक्षणिक कार्यकलापहरुबाट पनि उनीहरु नै परिरहेछन् मारमा । सरकारले प्रदान गर्ने कैयौँ वृद्धभत्ता, एकल भत्ता, विधवा भत्ता आदि जस्ता सुविधाहरुबाट पनि कतिपय मानिस छन् वञ्चित । सुस्ताजस्ता छन् अनेकौँ समथर भूमिहरु जहाँ पुग्न विशालतम नारायणी नदी पार तर्नुपर्ने छन् अनेकौँ मोडहरु । तराईका कैयौँ इलाकाहरु जो सीमान्तीय क्षेत्रहरु हुन् त्यहाँका जाति, वर्ग र समुदायहरु छन् कैयौँ सुविधाहरुबाट वञ्चित । सहरमै बसोवास गर्ने दैनिक ज्यालादारी गरी खाने मजदुर, भरिया आदिका कतिपय बालबालिकाहरु पनि छन् वञ्चित । गिट्टी फोरेर बेच्ने, नदीबाट बालुवा निकाल्नेहरु पनि उत्तिकै छन् व्यथित र उनीहरुको जीवन छ करूण ।

तराईमा बसोवास गर्ने निषाद, चमार, तेली, चुरौटे, पोडे, चिडिमार, माझी, मुुसहर, बोटे, झाँगड, किसानदेखि पहाडमा बस्ने राजी, व्यासी, हायु, जिरेल हिमाली भेकमा बस्ने कतिपय शेर्पा आदि जातिहरु पनि सुविधाबाट वञ्चित वर्गमा पर्छन् । त्यसो त, दलित समुदायका पनि गाउँ र पहाडी दुर्गम इलाकामा बस्नेहरु पनि त्यस्तै वर्गमा पर्छन् अझै । ब्राह्मण, क्षत्री दशनामी वर्गका मान्छेहरु भए पनि कतिपय आर्थिक दृष्टिले अत्यन्तै अभाव र गरिबीबाट पिल्सिएकाहरु पनि छन् । यसैले सीमान्तीय, दलित आदि जाति भन्दैमा मात्रै त हुँदैन, तीमध्ये पनि कोही आर्थिक तथा शैक्षिक आदि दृष्टिले सक्षम हुन सक्छन् पनि । कोही विपन्नताको अत्यन्त नाजुक स्थितिबाट गुज्रिरहेका पनि हुन सक्छन् ।

राज्यले तिनको आर्थिक, सामाजिक तथा शैक्षिक अवस्थामा सुधार गर्न पनि राज्यले तिनलाई विशेष सुविधा प्रदान गर्नु आवश्यक थियो र छ । तर, त्यस्तो विशेष सुविधा प्रदान गर्न सरकारले सकिरहेको देखिन्न । हो, सरकारले पिछडिएको वर्ग, जाति र समुदायहरुलाई पनि थोरै भए पनि सुविधा प्रदान गर्न थालेको त छ, तर त्यो कुनै कोणबाट पनि पर्याप्त रहने सवाल उठ्दैन पनि । ताकि, ती बालबालिका विद्यालयमा पुगून् र अध्ययनमा सहभागी बन्न सकून् ।

तिनलाई सिकाइसँग जोड्न राज्यले त्यस्ता परिवारको पहिचान गरी आवश्यक सुविधा दिएर पढाइको वातावरण बनाइराख्नुपर्छ । त्यस्तो वातावरण बनाउन नसकेसम्म त्यस्ता परिवारका बालबालिकालाई छात्रावासमा राखेर भए पनि उनीहरुलाई पढ्ने व्यवस्था गर्नुपर्ने हो, तर गर्न सकिरहेको अवस्था छैन । थाहा छ राज्यसँग यथेष्ट पुँजी छैन र त्यस्तो लगानी गर्न सक्ने स्थिति पनि शायदै होला ! तर, तीनै तहका सरकारले इच्छाशक्ति देखाएमा एक थुकी सुकी सय थुकी नदी भनेझैँ सुरूवात गर्दै जाँदा सहयोग गर्ने हातहरु बढ्ने र अनावश्यक तालिम आदिमा हुँदै आएको खर्च कटाएर शिक्षामा लगानी प्रवद्र्धन गर्ने हो भने आँप, स्याउ आदि रुखले झैँ पछि दिने फल निकै लाभकर बन्न सक्छ ।
शिक्षा साक्षरता
आधारभूत तह पूरा गरेका, कक्षा ८ सम्म अध्ययन पूरा गरेका बालबालिका साक्षरभित्र पर्दछन् । प्रौढशिक्षा, गृहिणी शिक्षा आदिका पाठ्यक्रम पूरा गरेकाहरु पनि साक्षरै गनिन्छन् । पक्कै पनि यस्ता बालबालिकाहरु हजारौँ छन् हामीकहाँ । कतिपय स्थानमा सरकारी विद्यालय भए पनि पढ्ने समुचित वातावरण बन्न नसक्दा उनीहरु पढ्नबाट वञ्चित छन् । पढाइ गरे पनि उनीहरुले समुचित ज्ञान, सीप र अभिवृत्ति हासिल गर्न सकिरहेका छैनन् ।
सहरका राम्रा अभिभावक र आयआर्जन रहेका अभिभावकका बालबालिकाले पाउनेजत्तिकै पर्याप्त समय पाउनुपर्छ उनीहरुले पनि । यस अतिरिक्त समुचित सिकाइको वातावरण बन्नु पनि उत्तिकै हुन्छ आवश्यक । गुणस्तरीय ज्ञान प्राप्तिका लागि पर्याप्त कापी, कलम, पाठ्यक्रम, पाठ्यपुस्तक, सहयोगी पाठ्यपुस्तक, सन्दर्भपूर्ण पाठ्यसामग्री पनि उत्तिकै अपेक्षित हुन्छ । शैक्षिक सामग्रीका रुपमा ज्योमिटी बक्स, एटलस, ग्लोब, चित्र आदि हुनु उत्तिकै जरूरी छ । गुरूजनको पर्याप्त निर्देशन र नियमित अभ्यास गर्ने कार्यले नै बल्ल सिकाइ परिणाममुखी बन्न सक्छ ।
यस्तो भौतिक तथा शैक्षिक सुविधाबाट सदा वञ्चित रहेका बालबालिकाहरुलाई पनि शिक्षामा साक्षरता विकास गर्नु पहिलो सर्त हो । यस्ता अनेकौँ बालबच्चाहरु छन् जो शिक्षाको उज्यालो किरणबाट सदा वञ्चित रहँदै आएका छन् । उनीहरुका आङमा अलिकति पनि शिक्षाको उज्यालो पर्न सकेको छैन ।
त्यस्ता बालबालिकालाई साक्षर तुल्याउन विशेष कार्यक्रम ल्याउनु अपेक्षित छ । खासगरी, विशेष सुविधासम्पन्न स्थानमा छात्रावास सञ्चालन गरी त्यहाँ उनीहरुलाई भर्ना गरी समुचित शैक्षिक वातावरण प्रदान गर्न सकिएमा नै उनीहरु साक्षरताको न्यानो किरणबाट वञ्चित रहन पर्दैन । पहाडी इलाकामा बस्ने जनसंख्याको अनुपातभन्दा पनि भौगोलिक दूरतालाई दृष्टिगत गरी स्थापना गरिएका विद्यालयहरुको संख्या सयौँ छन्, जहाँ अध्ययन गर्ने विद्यार्थीको नै खडेरी छ ।

विकट ग्रामीण इलाकामा खुलेका विद्यालयमा पनि जनशक्तिको व्यवस्था गरिएको हुन्छ । त्यहाँ शिक्षक र कर्मचारीको पनि प्रबन्ध गरिएको हुन्छ नै । तर दुर्भाग्य ! सरकारले तोकेअनुरुपको दरबन्दी शिक्षक विद्यार्थी अनुपात पुग्न सकेकै हुँदैन । कतिपय विद्यालयमा भर्ना भएको भए पनि एक जना विद्यार्थी पनि पढ्न आउँदैनन् । कारण घरको काम, चेतनाको कमी, पढेर पनि के काम, पढेकाले त जागिर पाएको छैन भन्ने मनोविज्ञान, भौगोलिक विकटता आदि इत्यादि । गाउँमा शैक्षिक वातावरणको कमी, खेतीकिसानीमा व्यस्त रहनुपर्ने आदि त छँदै छ, त्यसमा पनि मकै छर्ने, कोदो रोप्ने, धान रोप्नेदेखि गोड्ने र बाली स्याहार्ने बेलामा पनि कामकै माचो भइदिँदा पनि विद्यालयहरु खाली नै रहन्छन् । वार्षिक २२० दिन कक्षा र पचहत्तर प्रतिशत हाजिर भएर विद्यालयका पठनपाठनमा सहभागी हुनुपर्नेमा आधा प्रतिशत उपस्थित हुन पनि सम्भव भइरहेको पाइँदैन । तिनले सहरका महँगा र राम्रा विद्यालयमा पढेकासँग प्रतिस्पर्धा गर्न सक्ने कुरै आउँदैन ।

यस्तो स्थिति कतिपय हिमाल, पहाडका मात्र नभई तराईका कतिपय देहातका दूरदराजहरुमा रहेका विद्यालयहरुको स्थिति रहेको देखिन्छ । यसले पनि साक्षर बन्नैपर्ने धौधौको अवस्था छ । अझ तराईका कतिपय थारु, मुस्लिम, मधेसी आदि समुदायमा बच्चालाई पाँच कक्षा पनि पढ्न नदिँदै काममा लगाइदिने गरिएको छ । पढेर के हुन्छ र ? बरू, काम सिक्यो भने जहान र बालबच्चा पाल्न सक्छ भन्ने मान्यताले घर गरेको देखिन्छ, त्यताका विपन्न परिवारका अभिभावकमा । त्यसैले, उनीहरु सानैमा छोराहरुलाई गाउँको ठेकेदारहरुलाई जिम्मा लगाइदिन्छन् आप्mना छोराहरु ।

घर बनाउने काममा, इँटा भट्टामा, सिलाइमा, साढीमा कढाइ गर्ने काममा, पोते उन्ने, दारी–कपाल काट्ने, छाता–जुत्ता सिलाउने, होटलमा काम गर्नेदेखि मिठाई बनाउने काममा, सडक र ग्यारेजमा काम गर्ने आदि इत्यादि काममा जोतिएका हुन्छन् उनीहरु । यस्तो स्थितिमा उनीहरु साक्षर बन्नु र बनाउने लक्षित उद्देश्य ‘आकासको फल आँखा तरी मर’कै स्थितिबाट गुज्रिरहेछ भन्दा अतिशयोक्ति हुँदैन पनि । तिनका निम्ति ‘पहिले जीवन पछि शिक्षा’ नै मूल मन्त्र बन्ने गरेको छ ।

जीवनपर्यन्त सिकाइ पहुँच विस्तार

यस्तो स्थितिमा जीवनपर्यन्त सिकाइ भन्ने कथन नै आफैँमा हास्यास्पद लाग्छ । सिकाइ भनेको भाषिक सीप हो वा जीवनोपयोगी सीप र अभिवृत्ति पनि हुन् भन्ने प्रश्न पनि उठ्छ । त्यसो त, भाषिक सीपअन्तर्गतका सुनाइ र बोलाइ हरेक बालबालिकाले सहजरुपमै सिक्छ । चाहे मातृभाषा वा नेपाली मातृभाषा होस् वा अन्य कुनै । प्रायः नेपाली समाज कतैकतै एकभाषी भए पनि अधिकांश द्विभाषी रहेको हुँदा उसले घर र समाजबाटै आधारभूत भाषिक सीप सिकिसकेको हुन्छ । उसले विद्यालय पुगेर सिक्ने भनेको औपचारिक सीप हो । सँगसँगै थोरैधेरै नेपाली र अङ्ग्रेजी अक्षर र अङ्क ज्ञान, जोडभाग र गुनासम्म सिके जीवन चलिहाल्छ । उसलाई जीवन जिउन चाहिने भनेकै सीप हो ।
त्यस्तो सीप भनेकै सिमेन्ट मिस्त्री, अटो ग्यारेजहरुको मिस्त्री, सिलाइकढाइ मिस्त्री, काठको मिस्त्री, सडक निर्माण मिस्त्री, जुत्ता सिलाइ मिस्त्री, गरगहना मिस्त्री, सिरक डस्ना मिस्त्री, खानाका परिकार निर्माण मिस्त्री इँटा निर्माण मिस्त्री, ग्रिल सटर निर्माण मिस्त्री, घडी, रेडियो, टेलिभिजन, मोबाइल, ल्यापटप, क्यामेरा आदि इत्यादिसँग सम्बन्धी मिस्त्री बन्नु हो भन्ने आमबुझाइ छ हामीकहाँ र आजसम्म पनि त्यत्तिकैमा चल्दै आइरहेछ निर्माण र मर्मतका कार्यहरु ।

हो, जीवन जिउन सिकाउने कला भन्नु यिनै हुन्, जसले जीवनलाई गुणस्तरीय र आयमूलक पनि बनाउँछ । मत्स्यपालन, गौपालन, भैँसीपालन, खसीबोकापालन, कुखुरा, बट्टाइ आदिदेखि मौरीपालनका निम्ति आवश्यक सीप, ज्ञान र दक्षता अपेक्षित हुन्छ । त्यस्तै तरकारी बाली, फलपूmलखेती, समग्रमा यसो भनौँ सबै कृषि उपजहरुको उत्पादनका निम्ति पढाइभन्दा पनि भोगाइ अपेक्षित हुन्छ नै । सैद्धान्तिक ज्ञानभन्दा व्यावहारिकरुपमा हासिल गरिएको ज्ञान र सीप अडिलो, उपयोगी र कार्यमूलक पनि हुन्छ ।

यो हो सत्य, तर सँगसँगै सत्य यो पनि हो कि तिनलाई सैद्धान्तिक ज्ञानसहितको आवश्यक ज्ञान र सीपसँग जोड्न सकिएमा त्यसले चमत्कारपूर्ण उपलब्धि दिन थाल्छ । सामान्य साक्षरले जुन उपलब्धि हासिल गरिरहेको हुन्छ उसले आप्mनो जीवनमा अझ सैद्धान्तिक ज्ञान पनि हासिल गरेको भए पक्कै सुनमा सुगन्ध थप्नसक्ने कुरा बुझाउनु आवश्यक छ । त्यो ज्ञान भनेको त्यस्ता सीमान्तीय वर्ग, किनारामा परेका र पारिएका समुदाय र गरिबीको जाँतोमा पिसिइरहेका अभिभावकलाई दिनु आवश्यक देखिन्छ । उनीहरुले आप्mना सन्ततिलाई बाल्यावस्थामा विद्यालय छोडाउनु किमार्थ उचित देखिन्न । कम्तीमा पनि माध्यमिक तहको शिक्षा दिलाएर मात्र सीपसँग जोड्न प्रेरित गर्नुपर्छ ।

जहाँ राज्यले उपलब्ध गराएको शैक्षिक सुविधा र अवसरहरुबाट टाढा रहेका अभिभावकहरुको निष्पक्ष र निस्वार्थ पहिचान नै अहिलेको मुख्य चुनौती बन्ने गरेको छ, त्यस्ता क्षेत्रमा विद्यालय खोलेरमात्रै हुँदैन । जहाँ घरको कामको चाप र भौगोलिक दूरीका कारण बच्चा विद्यालय नै जाँदैनन् त्यस्ता ठाउँमा खोलिएका साधनस्रोत र शैक्षिक जनशक्तिहरुको व्यवस्थापनका निम्ति राज्यले अरबौँ बजेट लगानी गरिरहेछ । त्यो बजेट भनेको सीधै बालुवामा पानी खन्याएसरह हो । त्यो बजेटलाई सीधै पालिकाहरुमा पठाएर आवासीय प्रबन्धसहितको प्राविधिक शिक्षालयको व्यवस्थापन प्रवद्र्धन र विकासमा लगाउने हो भने त्यो बजेटले साधारण समूहका शैक्षिक ज्ञान, सीप र अभिवृत्तिसँगै प्राविधिक धारका समग्र ज्ञान प्रदान गर्नमा मद्दत पुग्दछ । हो, सरकारले युवाहरुलाई लक्षित गरी ३ महिने ६ महिने वार्षिकरुपमा पनि प्राविधिक तालिमहरु व्यवस्था गरेको छ । तर, ती सुविधाबाट वञ्चित समुदायका बालबालिकालाई साक्षर र सिकाइको निरन्तरताका निम्ति उपयोगी बन्न सकेका छैनन् ।

कतिपय संस्थागत विद्यालयले पनि केही सीमित संख्यामा त्यस्ता बालबालिकाहरुलाई पढाइरहेको पाइए पनि त्यो उँटको मुखमा जिरासरह मात्र भइरहेछन् । सुविधाबाट वञ्चित समुदायका बच्चाहरु अझै लाखौँको संख्यामा छन् भनेर हरेक वर्ष विद्यालय भर्ना गर्नेताका राज्यले नै भन्ने गरेको छ । यसका निम्ति राज्यले स्पष्ट नीति बनाउनुपर्छ । जस्तो कि हरेक पालिकाभित्र त्यस्तो छात्रावास सञ्चालन गर्ने यो एउटा उपाय हुन सक्तछ । त्योभन्दा पनि राज्यले त्यस्ता दुर्गम क्षेत्र र अल्पसंख्यक, सीमान्तीय वर्ग र अत्यन्त विपन्न वर्गका निम्ति सामूहिक आवासको व्यवस्था गरिदिनुपर्छ, जहाँ उनीहरुले दैनिक पेटपालो गर्न कुनै समस्या नहोस् । त्यस्तो औद्योगिक प्रतिष्ठान स्थापना गरी त्यसवरपर उनीहरुलाई घर बनाएर राख्ने हो भने तिनका सन्तति विद्यालय आएर पढ्न सक्छन् ।

औद्योगिक प्रतिष्ठान खोल्न सकिएन भने पनि उनीहरुलाई कुनै सुरक्षित स्थानमा आवास प्रबन्ध गरिदिई गौपालन, कुखुरापालन, घरबुना कपडा आदिमध्ये कुनै पेटपालोको प्रबन्ध गरिदिनुुपर्छ । त्यसपछि ती बालबालिका अभिभावककै प्रत्यक्ष संरक्षण र अभिभावकत्वमा हुर्किन्छन् र राज्यले प्रबन्ध गरिदिएका शैक्षिक संस्थाहरुमा पुगेर साक्षर हुँदै जीवनपर्यन्तका निम्ति निरन्तर सिकाइ गरिरहन सक्छन् ।
सिकाइ भन्ने कुरा चितासम्मै चलिरहन्छ । हाम्रा पञ्चेन्द्रियसहित मन र चेतनाले जीवनमा आइपर्ने समस्याहरुसँग मुकाबिला गर्न र त्यसबाट पार तर्न सङ्घर्ष गरिरहँदा पनि पाउपाउमै सिकाइ भइरहेकै हुन्छ । दत्तात्रयले प्रकृतिका २४ वस्तु र जीवहरुलाई थापे गुरू र सिकिरहे ज्ञान । हेर्न, अनुभूत गर्न र देख्न सक्नुपर्छ जुनकुनै वस्तुबाट पनि केही न केही सिक्न सकिन्छ । यसर्थ, जीवनपर्यन्त सिक्ने प्रक्रियामा नै हरेकको जीवन नदीझैँ धाराप्रवाह बगिरहेकै हुन्छ र ती बालबालिकाहरुलाई पनि आवश्यक हुन्छ नै ।

निष्कर्ष

राज्यप्रदत्त सुविधा प्राप्त गर्न नसकिरहेका विभिन्न विकट भूगोलहरुमा बसोवास गर्ने विभिन्न जातजातिदेखि सीमान्तकृत वर्ग, समुदाय, शोषित पीडित, निम्छरो वर्गका बालबालिकाहरु अझै कति छन् तिनको निःसर्त, निस्वार्थ र स्पष्टरुपमा पहिचान गर्नु पहिलो कार्यभार रहेको देखिन्छ । यस्ता बालबालिकाहरुलाई विद्यार्थी नभएका विद्यालयहरुमा लगानी कटौती गरी पालिकाका सदरमुकामहरुमा आवासीय विद्यालयको प्रबन्ध गरी प्राविधिक धार प्रदान गर्ने व्यवस्था गर्नु दोस्रो कार्यभार हो । जहाँ उनीहरुको इच्छा, रूचि, लगाव र राष्ट्रिय आवश्यकताअनुरुपको दक्ष प्राविधिक जनशक्ति निर्माण गर्न सकियोस् । जस्तो कि हालै सरकारले रेलवे कर्मचारी माग गरी विज्ञापन निकालेकोमा कसैले पनि आवेदन हाल्न सकेनन् । त्यहाँ विदेशबाट कर्मचारी ल्याइने सरकारले जनाएको छ । यसले उनीहरुलाई साक्षर मात्र नबनाई जीवन जिउने आधार प्रदान गर्दछ । भोलि जन्मने सन्ततिलाई समेत शिक्षा दिन ऊ सक्षम हुन्छ । कतिपय जोखिम बस्तीहरुलाई पनि एकीकृत बस्तीमा रुपान्तरण गरी त्यहाँ उद्योग सञ्चालन गरी तिनको आय–आम्दानी बढाउन सकिएमा ती राज्यको सुविधाबाट वञ्चित हुँदैनन् । यसले उनीहरुलाई जीवनभरि सकिरहने सिकाइ र सिकाइको पहुँच विस्तारमा पनि स्वतः टेवा पु¥याउन सक्तछ ।
[email protected]

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया