ज्येष्ठ नागरिकको भावना बुझौँ

अन‌ि यो पनि

आफ्ना सन्तानकै पालनपोषण र सुखद भविष्यको सपना बोकेर जीवनमा अनेकौँ हण्डर र ठक्कर खाएर पाको बनेको पुस्ता अर्थात् ज्येष्ठ नागरिक हरेक परिवारका जिउँदा इतिहास हुन् । संसारमा बिरलै आमाबाबु होलान् जसले आफ्ना सन्ततिको लागि जीवनका अधिकांश समय खर्च नगरेका होऊन् । तर, समयको परिवर्तनसँगै अधिकांश छोराछोरीले आफ्ना आमाबुबाका लागि गर्नुपर्ने सम्मान, दिनुपर्ने समय र गर्नुपर्ने कर्तव्यबाट विचलित भइरहेको पाइन्छ । राज्यले ६० वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको श्रेणीमा राखेको छ । उत्तराद्र्धमा जीवन व्यतीत गरिरहेका वृद्धवृद्धाहरु राज्यका अमूल्य गहना हुन् । समग्रमा ज्येष्ठ नागरिकहरु अपहेलित भएका छन्, राज्यबाट पाउनुपर्ने न्यूनतम अधिकारबाट वञ्चित भइरहेका छन् । ज्येष्ठ नागरिकहरु अनुभव र योगदानका हिसाबले स्वतः सम्मानका हकदार मानिन्छन् । तर, उनीहरुको भावना र मौलिक अधिकारका विषयमा राज्य अझै मौन रहेको प्रतीत भइरहेको छ । सरकारले ज्येष्ठ नागरिकको माग अझैसम्म पूरा गर्न सकिरहेको छैन । ज्येष्ठ नागरिकहरु राज्यबाट मात्र होइन, सामाजिकरुपमा पनि अपहेलित छन् । उमेर ढल्कँदै गएपछि मानिस मानसिक तथा शारीरिकरुपमा अशक्त तथा कमजोर बन्दै जान्छ । पछिल्लो समय केही हदसम्म उनीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आए पनि समग्रमा उनीहरु उपेक्षित र अपहेलित नै छन् ।
युरोप, अमेरिकालगायतका पश्चिमेली मुलुकहरुमा विकसित एकल परिवारको संस्कृतिको सिको नेपालमा पनि हुन थालेको छ । नेपालमा घरपरिवारबाट भइरहेका शारीरिक, मानसिक, आर्थिकलगायतका दुव्र्यवहार यसैका उपज हुन् । जीवनभर संघर्ष गर्दै आएका ज्येष्ठ नागरिकको उत्तराद्र्धको समय भनेको तनावमुक्त जीवन व्यतीत गर्नु हो । मायाममता, आदर–सम्मान र आराम चाहने पनि यही समय हो । तर, उनीहरुको हकहित र सुविधामा ध्यान दिनुपर्ने अवस्थामा बुढेसकाल लागेपछि वृद्धाश्रममा छाड्ने परम्पराले ज्येष्ठ नागरिकको अवमूल्यन भइरहेको छ । ज्येष्ठ नागरिकलाई पालनपोषणको अधिकार, परिवारमा बस्न पाउने अधिकार, परिवार रोज्न पाउने अधिकार, सम्पत्ति आफूखुसी गर्न पाउने अधिकार, मुद्दा–मामिलामा प्राथमिकताको अधिकार, कानुन व्यवसायीद्वारा प्रतिनिधित्व गर्न पाउने अधिकार, प्राथमिकतामा काम गराउन पाउने अधिकार, कैदमा छूट, सामाजिक सुरक्षा पाउने अधिकार संविधानले प्रदान गरेको छ । तर, सम्मानित जीवन बाँच्न र कानुनले दिएको अधिकारबाट उनीहरु वञ्चित हुनु विडम्बनाको कुरा हो । पछिल्लो समय केही सामाजिक संघसंस्थाले परिवार, समाज र देशका लागि अतुलनीय योगदान गरेका अनुभवी व्यक्तित्वहरुलाई ज्येष्ठ नागरिकका रुपमा सम्मान गर्दै आएका छन् । राज्यले पनि ज्येष्ठ नागरिकका अनुभव, सीप र दक्षतालाई राष्ट्रको विकासमा उपयोग गर्न सक्नुपर्छ ।
ज्येष्ठ नागरिकसम्बन्धी ऐन–२०६३ मा वृद्धवृद्धाहरुलाई संरक्षण र सामाजिक सुरक्षा प्रदान गरी उनीहरुमा रहेको ज्ञान, सीप र अनुभवको सदुपयोग गर्दै श्रद्धा, आदर–सम्मान, सद्भाव अभिवृद्धि गर्ने व्यवस्था गरिएको छ । उक्त ऐनमा उनीहरुलाई सम्मान गर्नुपर्ने, पालनपोषण र हेरचाह गर्नुपर्ने, उनीहरुले कमाएको सम्पत्ति आफूखुसी खर्च गर्न पाउनुपर्ने उल्लेख छ । ऐनमा सार्वजनिक सवारीमा दुई सिट आरक्षण छुट्टयाई त्यसमा बस्ने वृद्धवृद्धाका लागि ५० प्रतिशत छूट दिने व्यवस्था छ । तर, यात्रा गर्दा सधैँ अपहेलित हुनुपर्ने, ज्येष्ठ नागरिकका हैसियतमा सुविधा खोज्दा अपमान, दुव्र्यवहार र आक्रमणको सिकार हुनुपर्ने नियति छ । ज्येष्ठ नागरिकले सबै ज्येष्ठ नागरिकका लागि छूटको व्यवस्था गर्न माग राख्दै आएका छन् । नेपालमा करिब ३० लाख ज्येष्ठ नागरिक छन् । उनीहरुले उपचार र यातायात सेवामा सहुलियत चाहेका छन् । सरकारले ६० वर्ष उमेर पुगेका सबै ज्येष्ठ नागरिकका लागि यातायात, औषधोपचारलगायतमा सुविधा प्रदान गर्नुपर्छ । ज्येष्ठ नागरिकका चाहना र आवश्यकतालाई सम्मान गर्दै हरेक परिवार, समाज र सिङ्गो राज्यले ज्येष्ठ नागरिकको संरक्षण र संवद्र्धनमा ध्यान दिनु आवश्यक देखिएको छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया