भरिएको इन्द्रसरोवर : कुर्दैछ पर्यटक

अन‌ि यो पनि

हेटौँडा । गत हप्ता परेको वर्षाले नेपालकै ठूलो मानवनिर्मित जलाशय टिलपिल छ । इन्द्रसरोवर गाउँपालिका र थाहा नगरको आर्थिक स्थितिमा समेत जोडिने जलाशयमा गत वर्ष यतिबेला पर्यटकहरुको भीड लाग्ने गथ्र्यो, तर यसपालि कोरोनाको कारण भरिएको इन्द्रसरोवरमा खासै पर्यटक आएका छैनन् ।
मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर जलाशयमा पानीको सतह बढिरहेको छ । पानीको सतह हाल १ हजार ५२३ मटरमाथि पुगेको छ । साउनमा आयोजना धेरै समय चलाएकोले घटेको पानीको सतह असोज १ गतेदेखि नै बढ्न थालेको हो । गत वर्ष असोजमा जलाशयमा पानीको सतह १ हजार ५२७ दशमलब ७० मिटर पुगेको थियो । जलाशयमा १ हजार ५३० मिटरसम्मको तहमा पानी भर्न सकिन्छ । मकवानपुर उत्तरी क्षेत्रस्थित देशकै ‘पावर ब्याकअप’को रुपमा परिचित कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर तालमा गत मंगलबारदेखि भारी वर्षा भएका कारण पानीको सतह बढेको कुलेखानी जलविद्युत् प्रथम ‘ए’ का आयोजना प्रमुख धीरेन्द्र चौधरीले बताए ।
तर, भरिभराउ जलाशयमा यसपालि पर्यटक, मोटरबोट र डुङ्गा सवार गर्नेहरु नहुँदा मार्खु, चित्लाङ क्षेत्रका पर्यटन व्यवसायी र होटल सञ्चालकहरुमा सन्नाटा छाएको छ । इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामा भन्छन्, ‘पर्यटक नआउँदा, कुलेखानीको पर्यटन व्यवसाय र अन्य आर्थिक क्षेत्रमा समेत असर परेको छ ।’ कुलेखानी क्षेत्रमा यो मौसममा दैनिक ४ सयसम्म पर्यटक आउने गरेको स्थानीय होटल व्यवसायीहरु बताउँछन् । तर, यसवर्ष भने कोरोनाको कारण इन्द्रसरोवर खाली भएको छ ।
कुलेखानी जलाशयमा १ हजार ५३० मिटरसम्म पानी भरिन सक्छ । कुलेखानी ड्याममा १ हजार ५२७ मिटरसम्म पानीको सतह पुग्नेबित्तिकै कुलेखानीका ढोकाहरु खोलिने उनले बताए । लगातार वर्षाका कारण ७ किलोमिटर लम्बाइ भएको कुलेखानी जलाशयको सतह बढेको हो । उनले जलसतह बढेपछि विद्युत् पनि बढी उत्पादन हुने बताए । अहिले कुलेखानी ‘ए’ ले ६० मेगावाट बिजुली उत्पादन गर्दै आएको छ । काठमाडौँको लोड व्यवस्थापन केन्द्र (एलडिसी)को निर्देशनअनुसार आयोजना सञ्चालन गरिने चौधरीले बताए । साउन र भदौमा पूर्ण क्षमतामा २४ घन्टा नै चलेको आयोजनामा पानीको सतह घटेको थियो । असोजमा कम चलेकोले सतह बढ्न थालेको उनले बताए ।
गत वर्ष असोजमा कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५२७ दशमलब ७ पुगेको थियो । कुलेखानी प्रथम, कुलेखानी दोस्रो र कुलेखानी तेस्रो तीनवटै आयोजना निरन्तर चलेकोले गत वर्षको जति पानीको सतह नबढेको उनले बताए । कुलेखानी प्रथममा ६० मेगावाट, दोस्रोमा ३२ मेगावाट र कुलेखानी तेस्रोमा १४ मेगावाट गरी १०६ मेगावाट जलविद्युत् उत्पादन क्षमता छ । कुलेखानीको जल सतह बढेर यसवर्ष गत वर्षहरुजस्तै विद्युत् उत्पादनमा फाइदा भएता पनि पर्यटन व्यवसायमा भने फाइदा हुन सकेन ।

 

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया