माछापालनबाट मनग्य आम्दानी गर्दै रामकुमारी

अन‌ि यो पनि

राइगञ्ज । भरतपुर माहानगरपालिका–१८, राइगञ्ज डिकेशाही डाँडाकी ५६ वर्षीया रामकुमारी शाही विगत ६ वर्षदेखि व्यावसायिक माछापालन गरी मनग्य आम्दानी गर्दै आइरहेकी छन् । विगत लामो समयसम्म लमजुङमा राजनीतिमा सक्रिय शाही दम्पती नै चितवन झरेर व्यावसायिक माछापालनमा सक्रिय रहेका हुन् । उनीहरुले ४ बिगाहा १४ कट्ठा जग्गामा आठ पोखरी बनाएर माछापालन गरेका छन् ।
हुन पनि धेरै राजनीति गर्नेहरु निकै कममात्रैले कृषि पेसालाई अँगालेका छन् । लमजुङमा जिल्ला तहका नेता रहेका उनका श्रीमान् योगेन्द्रनारायण शाही सैनिक सेवाबाट अवकाश लिएपछि लमजुङमा दुई कार्यकाल गाविस अध्यक्षसमेत भएका थिए । पारिवारिक समस्याको कारण ६ वर्ष वैदेशिक रोजगारीका क्रममा कतारमा बिताएका उनको परिवारको पहिचान अब भने राजनीतिभन्दा व्यावसायिक कृषकको रुपमा फेरिएको छ ।
‘भुरा तथा माछा बिक्री गर्ने उद्देश्यले माछापालन सुरू गरेका हौँ’, रामकुमारीले भनिन् । पोखरीमा ग्रास, कमन, सिल्भर, नैनी, रोहु, भ्याकुर, विगेट र पंगासिस रहुललगायतका माछा पालेका छन्, उनीहरुले । माहुर, तिलापिया र जलकपुर जातका माछा कम्तीमा आठदेखि १० महिनामा बेच्न मिल्छ । माहुर एक किलोसम्म हुन्छ । यसको बजार मूल्य राम्रो छ । जलकपुर आधा किलोको हुन्छ । तिलापिया बढीमा २०० ग्रामको हुन्छ । तिलापियाले भुरा आफैँ उत्पादन गर्ने भएकाले यसको विस्तारमा सहज हुने उनको भनाइ छ ।
सुरूमा १२ वर्षका लागि ४ बिगाहा १४ कट्ठामा बिगाहाको ४० हजार तिर्ने गरी लिजमा लिएर ‘रामकुमारी अमृता माछा फार्म’ सुरू गरेको उनले बताइन् । एक रोपनीमा जति धान उत्पादन हुन्छ त्यसको चार गुना बढी माछा उत्पादन हुने भएकाले आफू यसतर्फ आकर्षित भएको बताइन् । सुरूमा भैँसीपालन गर्ने सोच आयो र १८ वटासम्म भैँसी पालेको तर धेरै दुःख र नाफा पनि नभएपछि हटाएको उनी बताउँछिन् ।
माछाबाट वार्षिक ४०–५० लाख आम्दानी हुने गरेको उनले बताइन् । पछिल्लो समय गाउँका युवापुस्ता विदेशिने क्रम बढ्न थालेको छ । उनीहरुलाई गाउँघरमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिने उद्देश्यले व्यवसाय थालेको रामकुमारीले सुनाइन् । साथै, महिलाहरु घरको काममा मात्रै सीमित नरही व्यावसायिक पहिचान बनाउनुपर्नेमा उनको जोड छ ।
‘उत्पादन गरिएका माछाका लागि बजारको कुनै पनि अभाव झेल्न परेको छैन’, उनले भनिन्, ‘उत्पादित माछा स्थानीयस्तरमा खपत हुने हुँदा कतिपय मानिस त पोखरीमा नै लिन आउँछन् । चितवनमा माछाको बजार राम्रो छ, तर मागअनुसार उत्पादन गर्न सकिएको छैन ।’ कृषि ज्ञान केन्द्रले व्यवसायका लागि अनुदानमा माछा पोखरीमा पम्पसेट निर्माण गरीदिएको उनी बताउँछिन् । माछाको आहारका लागि दाना भने आफैँ तयार गरिरहेको रामकुमारी बताउँछिन् । स्थानीय स्रोत र साधनको परिचालन, माछापालन गर्न तोरीको पिना र भुस मोलेर दिने चलन छ । बजारको दानाभन्दा स्थानीयस्तरमा उत्पादित दानाको प्रयोग सहज, सस्तो र राम्रो हुने उनले बताइन् ।
राज्यले कृषि पेसामा लागेकालाई प्रोत्साहन गर्नुपर्नेमा शाहीले जोड दिइन् । ‘कम्तीमा राज्यले लागत हेरेर अनुदान दिन सक्नुपर्छ’, उनले भनिन्, ‘लागत मूल्य बढी हुने र राज्यबाट केही नपाइने हुँदा व्यवसायी मर्कामा परेका हौँ ।’ यस व्यवसायबाट आफू अत्यन्तै सन्तुष्ट रहेको बताउँदै उनले गाउँघरमा नै बसेर कम लागतमा मनग्य आम्दानी गर्न सकिने भएकाले यो व्यवसायमा लाग्न बेरोजगारहरुलाई सुझावसमेत दिइन् ।

 

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया