मुख्य बजारमै बाटोको समस्या : तीन वर्षसम्म पनि बनेन शहीदचोक–बेलचोक सडक

अन‌ि यो पनि

नारायणगढ । विगत तीन वर्षदेखि बाटो नबनेपछि शहीदचोकस्थित संगमरोडका व्यापारीले बाटो छेकेर आन्दोलन गरेका छन् । शहीदचोकदेखि बेलचोकतर्फको बाटो लामो समयसम्म पनि नबनेपछि दबाबस्वरुप आन्दोलन गरेको व्यवसायीहरु बताउँछन् ।
बाटो भत्काएर समयमै नबनाइदिँदा मानव स्वास्थ्यमा समस्या पर्नुका साथै कारोबारसमेत ठप्प भएकोले आन्दोलन गर्न बाध्य भएको संगम टोल विकास संस्थाका अध्यक्ष भागीकुमार श्रेष्ठले बताए । नारायणगढको मुख्य बजार क्षेत्रमै विकासको काममा ढिलाइ हुँदा बजार अस्तव्यस्त भएको उनले बताए । ’कहिले विद्युत्लाई, कहिले खानेपानीलाई त कहिले टेलिकमलाई दोष देखाएर काम रोकिइरहेको छ’, उनले भने ।
बाटोकै कारण केही समयअघिदेखि बजार खुले पनि कारोबार ठप्प भएको उनको भनाइ छ । ’कोरोना कहरले शून्यमा झरेको व्यापार खुलेपछि केही होला कि भनेको खुलेपछि पनि अवस्था उस्तै छ’, उनले थपे, ’बाटोकै कारण धूलो बढी हुँदा संगमरोडआसपासका १५ प्रतिशत व्यापारी बिरामी भएका छन् ।’ धूलोकै कारण सेवाग्राही कोही पनि नआउने हुँदा व्यापार नै शून्यमा सीमित भएको व्यापारीहरुको गुनासो छ । ‘हामीलाई कोभिडको भन्दा पनि बाटोको धूलोको डर बढी भयो’, व्यापारी विशाल शर्माले भने, ’कोभिडका कारण थलिएको व्यवसाय बाटोकै कारण झनै थला परेको छ ।’ काम गर्नका लागि लकडाउनभरिको समय पर्याप्त भए पनि समयमै काम नगरिदिँदा समस्या सिर्जना भएको उनको भनाइ छ ।
उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्यसमेत रहेका विकास थापाका अनुसार १५ दिनअघि सहरी विकासमा यही विषयलाई लिएर डेलिगेसनसमेत गएको थियो । तर, असोज २ गतेबाट फटाफट काम हुन्छ भनेर आश्वासन पाएपछि फर्किएका व्यवसायी अहिलेसम्म पनि काम नभएपछि बाटो बन्द गर्न बाध्य भएको उनले बताए । ’हामी धूलो खाएर बस्नुभन्दा बाटो छेके फाइदा देखियो’, उनले भने, ’बाटो छेक्दा सवारीसाधन गुड्न नपाइने भएपछि धूलो पनि कम हुन्छ ।’
त्यतिमात्र होइन, यो बाटोमा ढल निकाससमेत अहिलेसम्म राम्रोसँग हुन सकेको छैन । ठाउँठाउँमा खानेपानीका पाइप फुटेर बिजोग भएको छ । तर, सम्बन्धित निकायले ध्यान नै नदिएको संगम टोल विकास संस्थाका कोषाध्यक्ष विष्णु न्यौपानेले बताए । मुख्य सहरको बाटो समयमै निर्माण नहुँदा उपभोक्ता र व्यापारी दुवैलाई समस्या परेको उनले बताए । ’बजार आउँदा यो बाटो नहिँडी नहुनेबाहेकका मान्छेहरुमात्रै हिँड्ने गरेका छन्’, उनले भने, ’नत्र मान्छेहरु बाटो घुमेर जान्छन् ।’ अहिले शहीदचोकदेखि बेलचोकसम्म विभिन्न स्थानमा बिजुलीको पोल तथा ह्युमपाइप राखेर बाटो बन्द गरेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...