रामबाबु सुवेदी
गुञ्जनगर (गाजीपुर) । नेकपा एमालेकी उपाध्यक्ष एवम् पूर्व रक्षामन्त्री विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीसँग जोडिएका ठाउँको विकास गर्न नसकेकोमा एमाले नै दोषी रहेको बताउनुभएको छ ।
नेकपा एमाले चितवनद्वारा गुञ्जनगर गाविस–८ गाजीपुरमा सोमबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेत्री भण्डारीले सो कुरा बताउनुभएको हो । पचास सालपछि एमाले तीन पटक सरकारमा रहँदा पनि मदन–आश्रित दुर्घटनास्थल कविलासको दासढुंगा, मदनको शव भेटिएको स्थान गाजीपुर र जन्मस्थान ताप्लेजुङको ढुंगेसाँघुलाई जनचाहना अनुसार विकास गर्न नसकिएको भन्दै नेत्री भण्डारीले दुःख व्यक्त गर्नुभयो ।
‘जति हामीले यी ठाउँलाई विकास गर्नुपर्ने थियो त्यो गर्न सकिएन यसको दोष एमालेले नै लिनुपर्छ । पचाससाल पछि एमाले तीन पटक सरकारमा गयो । तर पनि हामीले यी ठाउँको विकास गर्न सकेनौं’, नेत्री भण्डारीले भन्नुभयो ।
मदन–आश्रितले गरेको अठोट पूरा गर्न एमाले प्रतिबद्ध रहेको नेत्री भण्डारीको भनाइ थियो । ‘उहाँहरुले समृद्ध नेपाल निर्माण गर्न जुन संकल्प गर्नुभएको थियो, त्यो पूरा गर्न एमाले प्रतिबद्ध छ’, भण्डारीले भन्नुभयो ।
मदन भण्डारीले देशको विकासमा निधन पछि पनि योगदान पु¥याएको नेत्री भण्डारीको कथन थियो । नेत्री भण्डारीले भन्नुभयो, ‘म उहाँले निधनपछि पनि देशमा योगदान पु¥याएको भन्न रूचाउँछुु । मदनको बलिदानको जगमा एमाले तीन पटक सरकारमा पुगेको हो ।
ठूलो लडाइँपछि नेताद्वयको स्मृतिमा दासढुंगामा ‘मोटरेबल’ पुल निर्माण भइरहेको भन्दै उहाँले गाजीपुरमा पनि एकीकृत विकास समिति बनाएर गुरूयोजनाका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा भावनात्मक सम्बन्ध जोडिएका स्थानहरुको विकास गर्नुपर्छ । स्थानीय साथीहरु य¬ोजना लिएर आउनुस् सरकारलाई घच्घच्याउने काममा म पनि लाग्नेछु ।’
अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष समेत रहेकी नेत्री भण्डारीले राजनीतिमा महिला समान सहभागिताका लागि ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने बताउनुभयो । स्थानीय निकाय निर्वाचनमा ५० प्रतिशत सहभागिताको माग उठाएको उहाँको भनाइ थियो । महिलाको स्थितिलाई जरैदेखि मजबुत बनाउनुपर्ने उहाँले बताउनुभयो ।
नेकपा एमाले चितवनले गाजीपुर एकीकृत विकास गुरू योजना निर्माण गरी सरकारसँग बजेट माग गर्ने भएको छ । गाजीपुरको नारायणी किनारमा स्नानघाटको निर्माण, कम्पाउण्डसहितको पार्क क्षेत्र, उद्यान, व्यवस्थित तटबन्धन, नारायणीको टापुमा मदन–आश्रित कुञ्जको निर्माण, नेताद्वयको शालिक निर्माण, खानेपानी, शौचालयलगायतका भौतिक पूर्वाधार निर्माण गर्ने सो गुरू योजनामा उल्लेख छ ।
सो अवसर पारेर मदन भण्डारी फाउन्डेशन चितवनले गुञ्जनगर गाविसका पाँचवटा महिला समूलाई ‘सिडमनि’ वापत प्रति समूह ११ हजारका दरले वितरण गरेको छ । सो रकम पाउनेमा इन्दे्रणी, शीतल, छहारी, अञ्जली र कुशल महिला समूह रहेका छन् । त्यस्तै सोही अवसर पारेर मदनको शव फेला पार्ने ६ जनालाई पनि सम्मान गरिएको थियो ।
२०५० साल जेठ ३ गते कविलास गाविसको दासढुंगामा ‘रहस्यमय’ जीप दुर्घटनामा परेका मध्ये मदनको शव जेठ ५ गते गाजीपुरमा फेला परेको थियो । सोही दिनको स्मरण गर्दै श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।
Discussion about this post