मुख्य बजारमै बाटोको समस्या, तीनवर्षसम्म पनि बनेन सहिदचोक बेलचोकको बाटो

अन‌ि यो पनि

नारायणगढ । विगत तीनवर्षदेखि बाटो नबनेपछि सहिदचोकस्थित संगम रोडका व्यापारीले बाटो छेकेर आन्दोलन गरेका छन्। सहिदचोकदेखि बेलचोकतर्फको बाटो लामो समयसम्म पनि नबनेपछि दबाबस्वरुप आन्दोलन गरेको व्यवसायीहरु बताउँछन्।

बाटो भत्काएर समयमै नबनाइदिँदा मानव स्वास्थ्यमा समस्या पर्नुका साथै कारोबारसमेत ठप्प भएकोले आन्दोलन गर्न बाध्य भएको संगम टोल विकास संस्थाका अध्यक्ष भागीकुमार श्रेष्ठले बताए। नारायणगढको मुख्य बजार क्षेत्रमै विकासको काममा ढिलाई हुँदा बजार अस्तव्यस्त भएको उनले बताए। ‘कहिले विद्युतलाई, कहिले खानेपानीलाई त टेलिकमलाई दोष देखाएर काम रोकिरहेको छ,’ उनले भने।

बाटोकै कारण केही समयअघिदेखि बजार खुले पनि कारोबार ठप्प भएको उनको भनाइ छ। ‘कोरोना कहरले शून्यमा झरेको व्यापार खुलेपछि केही होला कि भनेको खुलेपछि पनि अवस्था उस्तै छ,’ उनले थपे, ‘बाटोकै कारण धूलो बढी हुँदा संगमरोड आसपासका १५ प्रतिशत व्यापारी बिरामी भएका छन्।’

धूलोकै कारण सेवाग्राही कोही पनि नआउने हुँदा व्यापार नै शून्यमा सीमित व्यापारीहरुको गुनासो छ। ‘हामीलाई कोभिडको भन्दा पनि बाटोको धूलोको डर बढी भयो,’ व्यापारी विशाल शर्माले भने, ‘कोभिडका कारण थलिएको व्यवसाय बाटोकै कारण झनै थला परेको छ।’ काम गर्नको लागि लकडाउनभरको समय पर्याप्त भए पनि समयमै काम नगरिदिँदा समस्या सिर्जना भएको उनको भनाइ छ।

उद्योग वाणिज्य संघ चितवनका कार्यसमिति सदस्यसमेत रहेका विकास थापाका अनुसार १५ दिनअघि सहरी विकासमा यही विषयलाई लिएर डेलिगेसनसमेत गएको थियो। तर, असोज २ गतेबाट फटाफट काम हुन्छ भनेर आश्वासन पाएपछि फर्किएका व्यवसायी अहिलेसम्म पनि काम नभएपछि बाटो बन्द गर्न बाध्य भएको उनले बताए। ‘हामी धूलो खाएर बस्नुभन्दा बाटो छेके फाइदा देखियो,’ उनले भने, ‘बाटो छेक्दा सवारीसाधन गुड्न नपाइने भएपछि धूलो पनि कम हुन्छ।’त्यतिमात्र होइन, यो बाटोमा ढल निकास समेत अहिलेसम्म राम्रोसँग हुन सकेको छैन। ठाउँठाउँमा खानेपानीका पाइप फुटेर बिजोग भएको छ। तर, सम्बन्धित निकायले ध्यान नै नदिइएको संगम टोल विकास संस्थाका कोषाध्यक्ष विष्णु न्यौपानेले बताए।

मुख्य सहरको बाटो समयमै निर्माण नहुँदा उपभोक्ता र व्यापारी दुवैलाई समस्या परेको उनले बताए। ‘बजार आउँदा यो बाटो नहिँडि नहुने बाहेकका मान्छेहरु मात्रै हिँड्ने गरेका छन्,’ उनले भने, ‘नत्र मान्छेहरु बाटो घुमेर जान्छन्।’ अहिले सहिदचोकदेखि बेलचोकसम्म विभिन्न स्थानमा बिजुलीको पोल तथा ह्युमपाइप राखेर बाटो बन्द गरेका छन्।
प्रतिकृया

मुख्य समाचार

बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिन माग

रत्ननगर । सोमबार जंगलमा निउरो टिन गएकी रत्ननगर-५ मगरटोलकी गीता अधिकारीको बाघको आक्रमणबाट निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया