जथाभावी विषादी मल प्रयोगको असर, प्राकृतिक शत्रु मर्दा धानमा रोगैरोग

अन‌ि यो पनि

भरतपुर । यतिबेला चितवन जिल्लामा पसाउने बेलाको धानमा रोगैरोग देखिएको छ । कीराको बढ्दो प्रकोप छ । चमरा लाग्ने बेलाको धानमा रोगकीराको प्रकोप बढेपछि किसान चिन्तित भएका छन् ।
भरतपुर महानगरपालिका वडा नं–२५ का किसान दीपक खनालले चमरा लाग्ने बेलाको धानमा रोगकीराको प्रकोप बढेको बताए । उनले भने, ‘धानमा फड्के कीरा देखिएको छ, गबारो देखिएको छ, सेते रोग लागेको छ ।’ उनका अनुसार पर्याप्त युरिया मल नपाएका धानमा रोगकीराले सताउन थालेको छ ।
किसान खनाल भन्छन्, ‘बाढीले लतारेर बल्लबल्ल उठेको धान रोगकीराको प्रकोपले सुकेका छन् ।’ उनले यसपटक धानको उत्पादन घट्ने बताए । उनले भने, ‘झन्डै एक बिघामा धान लगाइएको हो, पहिलेको जस्तो उत्पादन हुने अवस्था छैन ।’
खनालमात्रै होइन सोही वडाका पुष्पराज ओझा पनि पसाउने बेलाको धानबालीमा कीरा लागेपछि चिन्तित भएका छन् । धानमा अनेकौँ कीराहरु लागेपछि औषधि छरे पनि धान सुक्न नछोडेको उनको भनाइ छ । उनले पहिले धानमा हाल्ने मल नपाउँदा पीर लागेको र अहिले कीरा एवं रोगव्याधिले पिरोलेको बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाले प्राकृतिक शत्रु मरेका कारण धानबालीमा रोगव्याधि र कीराको प्रकोप बढेको बताउँछन् । उनी भन्छन्, ‘चितवनमा रोगव्याधि र कीरा नदेखिएको ठाउँ नै छैन, जिल्लाभरि नै प्रकोप छ ।’ उनका अनुसार किसानले लापर्बाहीरुपमा रासायनिक मल हाल्दा यो अवस्था आएको हो । उनले भने, ‘किसानले जथाभावी रासायनिक मलको प्रयोग गरे, त्यसका कारण प्राकृतिक शत्रुजीव मरे, अनि धानमा रोगकीराको प्रकोप बढी देखियो ।’
उनी अघिपछि पनि चितवनका धानबालीमा रोगकीरा देखिने गरेको बताउँछन् । उनी भन्छन्, ‘यसपटक बढी देखियो, नोक्सान बढी हुने अवस्था पनि छ, किसानका मित्रजीवहरु सबै रासायनिक मलले सखाप भए ।’ उनले किसानलाई जथाभावी आवश्यकभन्दा बढी रासायनिक तथा विषादी मल नहाल्न सुझाव दिए ।
परियोजना प्रमुख तिमिल्सिनाले भने, ‘धानको उत्पादन यसपटक देशभरि नै घट्ने अनुमान गरिएको छ, चितवनमा पनि यसवर्ष १० प्रतिशतसम्म धानको उत्पादन घट्ने हामीले अनुमान गरेका छौँ ।’ उनका अनुसार चितवनको धानमा फड्के कीरा, धोर्के कीरा, सेतो कीरालगायतको प्रकोप देखिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकाल पनि रोगकीराको प्रकोपले चितवनमा धानको उत्पादन घट्ने बताउँछन् । उनी भन्छन्, ‘जिल्लाभरि रोगको प्रकोप छ, उत्पादन घट्ने अनुमान गरिएको छ ।’
कृषि ज्ञान केन्द्रका अनुसार चितवनमा गत वर्ष २७ हजार ४४५ हेक्टर जमिनमा धान लगाइएको थियो । चितवनमा प्रतिहेक्टर ३.८१ प्रतिशत धान उत्पादन भएको थियो । प्रमुख ढकाल भन्छन्, ‘चमरा लाग्ने बेलाको धानमा रोग र कीरा भेटिएको छ, धानको उत्पादन सोचेजस्तो हुँदैन ।’
चितवनलाई धानखेतीको भण्डार नै मानिन्छ । पूर्वी चितवनको पिप्ले, कठार, कुमरोज, भण्डारा, बछौलीलगायतका क्षेत्रमा बढी उत्पादन हुने गर्छ । चितवनमा धान जोन क्षेत्रमा पनि विभिन्न रोग देखिएको छ । यो क्षेत्र अन्य क्षेत्रको तुलनामा बढी सिंचित भएको क्षेत्र हो । चितवनमा प्रतिवर्ष प्रशोधित खाद्यान्नको आवश्यकता ६ हजार मेट्रिक टन रहेको अनुमान छ । चितवनमा हुने उत्पादनको ३५ देखि ४० प्रतिशत उत्पादन सावित्री जातको धान हुन्छ ।

 

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया