अप्राकृतिक कामको नकारात्मक परिणाम

अन‌ि यो पनि

कोदो रोपेर धान फल्दैन । कोदो रोप्ने र धानको आशा गर्ने काम अप्राकृतिक चाहना हो । अम्बाको बोटमा अम्बै फल्छ यो प्राकृतिक हो । आशा पनि अम्बाको बोटमा अम्बैको गर्नुपर्छ । छोराछोरीलाई कुसंस्कार सिकाउने र सुसंस्कारको आशा गर्नु अप्राकृतिक हो । गलत मान्छेको संगतमा छाड्ने वा जानीजानी चोरको संगत दिएर छोरो विद्वान् भएन भन्ने चिन्ता व्यक्त गर्ने काम पनि प्राकृतिक होइन, अप्राकृतिक चिन्तन हो ।
मकैको गेडा जमिनमा रोप्ने काम प्राकृतिक हो, तर त्यही मकैको गेडा कालोपत्रे सडकमा छाडेर मकै उम्रिने आशा गर्नु अप्राकृतिक चाहना हो, उल्टा कर्म हो । यस्ता उदाहरणहरु एक दुईवटा होइन सयौँ दिन सकिन्छ, तर तथ्यसत्य बुझ्नका लागि धेरै उदाहरणको जरूरी पर्दैन । यतिबेलाको मानव विश्वले जानीजानी अप्राकृतिक काम गरेर नकारात्मक परिणाम त भोग्दैछ, तर फेरि प्राप्त परिणामलाई समेत इन्कार गरेर लाचारीपन प्रदर्शन गरिरहेको छ । नेपालमा भए गरिएको अप्राकृतिक काम र परिणामबारे चर्चा गर्नुअघि अन्य देशका नागरिकहरुले गरेका अप्राकृतिक काम र त्यो कामको परिणामस्वरुप विश्वमानवले भाग्न परेको कठिनाइबारे सामान्य चर्चा गरौँ ।
केही दिनअघिमात्रै वैज्ञानिकहरुको खोजबाट पत्ता लाग्यो कि विश्वमा भएका जीवहरुमध्ये मान्छेलाई छाडेर अरु जीवहरुको संख्या ६८ प्रतिशतले घट्यो । पानीमा बस्ने जीव, जमिनमा बस्ने जीव र आकासमा उडेर रुखमा वा बोटबिरूवामा बस्ने जीवहरुमध्ये ६८ प्रतिशतले संख्या घट्नु भनेको ठूलै चिन्ताको विषय हो भने यो जीव संख्या घट्नुको कारण मान्छेको अप्राकृतिक काम नै जिम्मेवार भएको पनि वैज्ञानिकहरुले ठोकुवा गरेका छन् । नदी, खोला र तालतलैयाबाट चाहिनेभन्दा ज्यादा संसारका मान्छेले माछा मारे । विभिन्न प्रजातिका माछा मार्ने तर फेरि संख्या बढोस् भन्नेतर्फ कुनै सोच विकास नगर्नुको परिणामस्वरुप विश्वमा माछाको संख्या कम भयो । जमिनलाई बासस्थान बनाएर आाफ्नो अस्तित्व धानेका जीवहरुलाई मान्छेले खोजी–खोजी मारेर खाए । यो एउटा कारणले जमिनमा बस्ने जीवहरुको संख्या कम भयो भने मान्छेकै अप्राकृतिक चिन्तन र व्यवहारका कारण विश्वभरिका जंगलमा डढेलो सल्काउने काम भयो र जंगलमा बस्ने हजारौँ प्रजातिका जीवहरु डढेर खरानी भए । पछिल्लोपटकको दर्दनाक घटना अस्ट्रेलियाको जंगलमा लागेको डढेलोलाई लिन सकिन्छ, जुन डढेलोले करोडौँ जीवलाई भष्म बनाएको थियो । अब चराचुरूङ्गीको कुरा पनि त्यहो हो । चरा अकासमा उड्छन्, तर आकासमा गुँड बनाउन सम्भव हुन्न, रुखबिरूवामै बस्नुपर्छ । डढेलो लाग्दा चराचुरूङ्गीलाई आकासमा र रुखमा बस्ने ठाउँ हृुँदैन । तल ओर्लेर जलेर मर्नुसिवाय तिनका अगाडि अरु विकल्प हुन्नन् । संसारका जंगलहरुमा लाग्दै आएको डढेलोका कारण यसरी चराचुरूङ्गी मरे । ठूलो संख्या घट्यो । यसरी विश्वमा मान्छेले गरेको अप्राकृतिक कामले प्रकृति बिरामी भइन् । पर्यावरण भत्कियो । इकोसिस्टममा पूरै नकारात्मक असर प¥यो । मौसममा आएको गडबडीले विश्वमानव आतंकित हुन पुग्यो ।
आर्थिक र भौतिक कोणबाट विकसित मानिएका देशहरुले इकोसिस्टमलाई नै भत्काउने किसिमले प्रकृतिलाई चिथोरे । यो अप्राकृतिक कदमले संसारका अरु देशले त नकारात्मक परिणाम भोगेकै छन्, नेपाल पनि त्यो नकारात्मक परिणाम भोग्नबाट भाग्न सकेन । भोगिरहेको छ । अब नेपालभित्र भएका अप्राकृतिक काम र अहिले निम्तिएको परिणाम र भविष्यमा देखिने परिणामबारे चर्चा गरौँ ताकि अहिलेका नेपालीले कष्ट व्यहोर्न परे पनि अब जन्मिने नेपालीले कठिनाइ भोग्न नपरोस् ।
नेपालको कास्की र तनहुँ जिल्लामा चितुवाले लगातार केही महिनाको फरकमा १० जना बालबालिकालाई टिपेर लग्यो । सरकारले प्रत्येक परिवारलाई क्षतिपूर्तिस्वरुप नगद दाम पनि दियो तर क्षति त भयो नै, मानव क्षति । चितुवा विशेषज्ञहरुले जाँचबुझ गर्दा पत्ता लाग्यो, जंगलमा चितुवाको आहारा सकिएको रहेछ । आहारा सकिएपछि मान्छेलाई आहारा बनाएको रहेछ र सजिलो हुने हुँदा बालबालिकालाई टिपेको रहेछ । अब यहाँनेर स्पष्ट देखियो, त्यो इलाकाका मानिसहरुले चितुवाको आहारा नष्ट गरिदिएका रहेछन् । जब आहारा सकियो प्राणी हुनुको नाताले खानाको खोजी गर्नु चितुवाको बाध्यता हुन गयो र यही कारण चितुवाले बालबालिकाको वध ग¥यो ।
फेरि यतिबेला चितवनका सामुदायिक वनहरुमा बाघले केही दिनको फरकमा भकाभक तीन जना मान्छे मा¥यो । यहाँनेर पनि बेइमानी र अप्राकृतिक काम मान्छेबाटै भएको देखिन्छ । बरन्डाभार जंगलसँगै जोडिएका सामुदायिक वनहरुमा बाघहरु आहाराको खोजीमा बेलाबखत आउँछन् भन्ने कुरा सामान्यदेखि सामान्य मानिसहरुलाई समेत थाहा छ । फेरि ती जो जो मारिए ती वनमा एक्लै एक्लै किन गए ? वा त्यसरी वनमा जान हुन्न भन्ने स्थानीय निकाय, जनप्रतिनिधि, समाजसेवी वन कर्मचारी वा अन्य चेतनशीलहरुले किन खबरदारी गरेनन् वा सम्झाउने काम गरेनन् ? वन कर्मचारीले वनमा जंगली जनावर हुने हुँदा मान्छे जंगली जनावरबाट आक्रमणमा पर्न सक्ने जानकारी दिएर जनताको ज्यान जोगाउने पहिलो कर्तव्यलाई मध्यनजर राखी वन प्रवेशमा पूर्णरुपले बन्देज किन नलगाएको ? के जंगली जनावर र मान्छे एउटै जंगलमा भेट हुने अवस्था सिर्जना गर्नु प्राकृतिक काम हो ? बाघको भेट जंगलमा बस्ने जनावरसँग हुनु प्राकृतिक हो । यसलाई यसरी पनि भनौँ कि बाघको भेट उसको आहारा मृगसँग हुनु स्वाभाविक र प्राकृतिक हो । जब मान्छे र बाघको भेट हुन्छ त्यो पनि जंगलमा भने यसलाई कसरी प्राकृतिक भन्न सकिन्छ ? मान्छे जंगलमा पुग्नु अप्राकृतिक हो भने बाघ मानवबस्तीमा आइपुग्नु पनि प्रकृतिसम्मत होइन । मान्छे र जनावर बस्ने स्थान अलग हुन्छ, एकै ठाउँमा बस्न सम्भव हुन्न तर जब राज्यले वा वन कर्मचारीले जंगली जनावर र मान्छेलाई एकै स्थानमा पुग्ने वा भेट हुने अवस्था सिर्जना गर्छन् भने यो अप्राकृतिक हो र यसले विनासबाहेक केही निम्त्याउँदैन । अहिले केही दिनको अन्तरमा तीन जना नेपालीको ज्यान जानुमा कारण यही हो, मान्छेको अप्राकृतिक व्यवहार र चिन्तन ।
मान्छे यदि सुख चाहन्छ र आफ्नो अस्तित्व बचाइरहन चाहन्छ भने प्रकृतिको नियमलाई तोड्न वा घाइते हुने गरी प्रकृतिलाई चिथोर्ने काम बन्द गर्नुपर्छ । जंगलको घास नष्ट गर्दा मृग बाँच्न सक्दैन । मृग सकिए आफ्नो आहारा सकिएपछि आहाराको खोजीमा बाघ गाउँ पस्न थाल्छ र पहिले घरपालुवा जनावरलाई सिकार बनाउँछ र ती सकिएपछि मान्छेलाई आहारा बनाउँछ । यो अवस्था नआओस् भन्नाका खातिर मान्छेले जंगलको घाँस काट्ने होइन, खेतबारीबाटै घाँसको बन्दोबस्त गर्नुपर्छ । जंगलमा घाँस रहुन्जेल बाघबाट मान्छे सुरक्षित हुन सक्छ भन्ने कुरा यहाँनेर साबित हुन्छ । घाँस खाएर मृग बाँच्ने, मृगको मासु खाएर बाघ बाँच्ने र बाँघ बाँच्दा प्राकृतिक सन्तुलन कायम रहने हुँदा नै इकोसिस्टमलाई भत्काउन हुन्न भनिएको हो । इकोसिस्टमलाई भत्काउने काम अप्राकृतिक हो र यही अप्राकृतिक काम गर्दा नै आजको मानव विश्व अनेकौँ कष्टको भुमरीमा पर्न गएको हो । मान्छेलगायत पृथ्वीका सबै प्राणी प्रकृतिको उत्पादन हो । प्रकृतिले नै जन्माउने र नास गर्ने गर्छ । कुन प्राणीको आहारा जन्मजात के हो तोकिदिएको हुन्छ । बाघले आजसम्म घाँस खाएको छैन । मृगले कहिल्यै मासु खाएको छैन । बाघले घाँस खानु अप्राकृतिक हो भने मृगले मासु खानु पनि अप्राकृतिक हो । प्रकृतिको नियमलाई नभत्काउने तरिकाले बाघ र मृगले आफ्नो आहारालाई परिवर्तन गरेका छैनन् । यही कारण हो युगौँयुगदेखि बाघले मृग मारिरहेको छ र पनि मृगको संख्यामा खासै तलमाथि भएको छैन । तर, जहाँसम्म मान्छेको सवाल हो मान्छेले आफ्नो प्राकृतिक खानालाई परिवर्तन गरेको छ । मान्छेको शरीरको बनोट र दाँतको बनोटलाई हेर्दा स्पष्ट हुन्छ मान्छेको आहारा अन्न, फलफूल र तरकारीमात्रै हो तर मान्छेले प्रकृतिलाई चुनौती दिएर अरु प्राणीको आहारा खोसेर खायो । पेटमा लामो आन्द्रा भएको मान्छे जातिले मासु खाँदा पचाउन धेरै समय लाग्ने र छोटो आन्द्रा भएका जीवले चाँडो पचाउन सक्ने अवस्था बुझेर मान्छेले मासु खान हुन्थेन, तर उल्टो कर्म गर्दा एकातिर अरु जीवलाई आहारा पुगेन भने अर्कोतिर मान्छे रोग लागेर मर्ने अवस्थामा पुग्यो ।
अब मान्छेले खासगरी हामी नेपालीले बुझ्नैपर्ने विषयचाहिँ के हो भने आजसम्म हामीले अप्राकृतिक काम गरेकै कारण कष्टमाथि कष्ट व्यहोर्दै आएका छौँ, अमूल्य जीवन क्षति भएको आँखैले देखिरहेका छौँ । यो अवस्था अब आउन दिनुहुन्न । यसका लागि कम्तीमा हामी नेपालीले प्रकृतिको गुण र विशेषतालाई बुझेर इकोसिस्टमलाई सम्मान गर्दै अप्राकृतिक काम गर्न तुरून्तै बन्द गर्नुपर्छ ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया