दीर्घजीवनका लागि मुटु बचाऔँ

अन‌ि यो पनि

दिनहुँजसो विभिन्न दिवस आउँछन् अनि औपचारिकता निभाउँदै कार्यक्रम गरिन्छन् । भर्खरै अर्थात् सेप्टेम्बर २९ मा पनि ‘विश्व मुटु दिवस’ आयो र उसैगरी औपचारिकता पूरा गरेर गयो । यसवर्ष ‘मन लगाउ, मुटु बचाउ’ भन्ने मूल नाराका साथ विश्वभर यो दिवस मनाइएको छ । खासगरी मुटुरोगबारे जनसाधारणलाई सचेतना फैलाउन, मुटु स्वस्थ राख्ने उपाय बुझाउन र मुटुरोगको समस्यासम्बन्धी बहस गर्न विश्व मुटु महासंघ र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९९, सेम्टेम्बर २९ देखि यो दिवस मनाइँदै आइएको हो । यो दिवस मनाउन सुरू गरेको दुई दशकमा मुटुरोगबाट प्रभावित हुनेको संख्या झनै बढ्दै गएको विशेषज्ञहरुले औँल्याएका छन् । पछिल्लो समय यो रोग घरघरको समस्याजस्तै बन्न पुगेको छ । विलासी जीवनशैली, शारीरिक व्यायामको कमी र जथाभावी खानपानका कारण मुटुरोगले युवा अवस्थामै नराम्ररी पिरोल्दै आएको छ । विश्व मुटु महासंघका अनुसार विश्वभर बर्सेनि एक करोड ७५ लाख मानिसको ज्यान मुटुरोगकै कारण जाने गरेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा मुटुरोगकै कारण विश्वभर बर्सेनि दुई करोड ५० लाख मानिसले ज्यान गुमाउने अनुमान गरेको छ ।
नेपालमा हाल ७५ लाख अर्थात् करिब २५ प्रतिशत मुटुरोगी रहेको अनुमान गरिएको छ । यद्यपि, विश्व स्वास्थ्य संगठनले नेपाललगायत विकासोन्मुख देशमा हृदयाघात भएर मर्नेको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरेको छ । नेपालमा कुल मृत्युको ५० प्रतिशत हृदयाघातलगायत मुटुसम्बन्धी रोगका कारणले मात्र मर्ने गरेको तथ्याङ्क छ । जब कि, एक दशकअघिसम्म ५० वर्ष नाघेपछिमात्रै मुटुसम्बन्धी समस्या देखिने गरेकोमा पछिल्लो समय जन्मजात वा युवा अवस्थामै यो समस्या देखिन थालेपछि विज्ञहरुले चिन्ता प्रकट गरेका छन् । नेपाल हृदय रोग निवारण प्रतिष्ठानको प्रतिवेदनअनुसार नेपालमा मुटुरोगीको संख्या एक दशकयता पाँच गुणाले वृद्धि भएको छ । मुटुरोग लाग्नुमा मानिसको जीवनशैलीमा आएको अस्वस्थकर परिवर्तन नै प्रमुख कारक बनेको छ । धूमपान तथा सुर्ती सेवन, शारीरिक अभ्यास नगर्ने, मोटोपन, विलासिता, असन्तुलित आहार, अल्छीपन, ड्राइफुडको अत्यधिक प्रयोग र मानसिक तनावका कारण नेपालमा हृदयाघातसँगै उच्च रक्तचाप र मधुमेहजस्ता घातक रोग तीव्र गतिमा बढेको पाइएको छ । नेपालमा अझै पनि गम्भीर समस्या नभईकन नियमित स्वास्थ्य परीक्षण गराउने बानी÷प्रचलन छैन, जसका कारण हृदयाघातजस्ता स्वास्थ्य समस्या बढिरहेको छ ।
सबैलाई अवगतै छ कि रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु बुद्धिमानी कार्य हो । तर, यो एउटा उपदेश र दार्शनिक विषयजस्तो बन्न पुगेको छ । स्वास्थ्य संस्थामा पहुँच नपुग्ने निमुखा जनताको त कुरै छाडौँ जानेका, बुझेका र स्वास्थ्य संस्थामा पहुँच भएकाहरुले समेत मुटु स्वस्थ राख्नेसम्बन्धमा त्यति ख्याल राखेको पाइँदैन । मुटुरोग लाग्ने सम्भावना प्रायः खानपानकै कारणबाट हुन्छ । त्यसकारण कुन खानेकुरा कति खाने भन्नेसम्बन्धमा पनि उत्तिकै हेक्का राख्नुपर्ने हुन्छ । विशेषज्ञहरुले मधुमेह र रक्तचापको परीक्षण गराउने, नियमित व्यायाम वा दैनिक एक घन्टा हिँड्ने, पानी धेरै पिउने र तनावमुक्त रहन सके मुटुरोगबाट बच्न सकिने सुझाव दिएका छन् । स्मरणीय के छ भने कोरोना महाव्याधिमा मृत्यु हुनेमध्ये अधिकांश मुटुरोगी र रोगप्रतिरोधी क्षमता कमजोर भएका दीर्घरोगी नै बढी रहेका छन् । मुटुरोगको समस्या भएकाहरुमा कोरोना सङ्क्रमणको जोखिम पनि बढी रहने देखिएको छ । त्यसैले, हरेक नागरिकले आफ्नो जीवनशैलीमा ध्यान दिनसकेमात्रै यस्तो घातक रोगबाट बच्न सकिने विज्ञहरुले सुझाव दिएका छन् । मुटु स्वस्थ राख्न रोग निम्त्याउने आहार तथा क्रियाकलापमा ध्यान दिनु पनि उत्तिकै आवश्यक देखिएको छ ।

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया