मेघौली राइनो पार्कको निर्माण कार्य सुरू

अन‌ि यो पनि

मेघौली । बागमती प्रदेशको एक जिल्ला एक पर्यटकीय गन्तव्यमा समेटिएको पश्चिम चितवनको मेघौलीमा पाँच सय बिघा क्षेत्रफलमा बन्न लागेको मेघौली राइनो पार्कको निर्माण कार्य सुरू भएको छ । पर्यटकीय गन्तव्य विकासका निम्ति बागमती प्रदेश सरकारबाट विनियोजित रकमबाट मालिका मध्यवर्ती सामुदायिक वनमा बन्दै गरेको मेघौली राइनो पार्कको निर्माण कार्य सुरू भएको हो ।
बागमती प्रदेश सरकारबाट मेघौली राइनो पार्कका निम्ति बहुवर्षीय योजनाअन्तर्गत हाल ४७ लाख ७३ हजार विनियोजन भएको पार्क निर्माणका लागि स्थानीयसँग समन्वय गर्न गठित समितिका संयोजक मायाराम महतोले बताए । सो रकमबाट पार्कको पर्खाल र गैँडाको मूर्ति बन्न लागेको संयोजक महतोले बताए । उनका अनुसार भरतपुर महानगरले विनियोजन गरेको १० लाखबाट पार्कमा शौचालय बनेको छ भने महानगरबाटै थप १० लाख रकम विनियोजन भएको र सो रकमले पार्कको गेट बनाउने उनले बताए ।
बागमती प्रदेशसभा सदस्य कृष्ण भूर्तेलले पर्यटकीय गन्तव्य विकासका निम्ति यसवर्ष भोजराज सिद्धबाबा मन्दिरका लागि ६ लाख ९३ हजार, भरतपुर–२८, गोलाघाटमा मञ्च निर्माणका लागि ६ लाख ९२ हजार, कुमाल सङ्ग्रहालयका लागि १ लाख ४१ हजार, बहुसांस्कृतिक भवनका लागि २ लाख ७६ हजार एवम् मेघौली राइनो पार्कका निम्ति ४७ लाख ७३ हजार विनियोजन भएको बताए ।
प्रदेशसभा सदस्य भूर्तेलका अनुसार मेघौलीको सदाभार, मालिका, राधाकृष्ण र हरियाली राप्ती तथा बेतरी मध्यवर्ती सामुदायिक वनलाई समेटेर मेघौली राइनो पार्कका रुपमा विकास गर्न लागिएको छ । पर्यटनमा विविधता ल्याउन र त्यसको प्रवद्र्धनमा टेवा पुगोस् भन्ने उद्देश्यले प्रदेश सरकारको पहलमा राइनो पार्क निर्माण हुन लागेको हो । सांसद् भूर्तेलले विगतको टाइगर टप्स र हात्ती पोलोलाई राइनो पार्कले बिर्साउने बताए ।
मेघौली विमानस्थलनजिकै राइनो पार्क क्षेत्रको प्रवेशद्वारमा ३० फिट अग्लो र ४० फिट चौडा विश्वकै अग्लो गैँडाको प्रतिमा बनाउने काम हुँदैछ । प्रतिमा निर्माणमा मात्र ३ करोड ३९ लाख रूपैयाँ खर्च हुनेछ । मूर्तिभित्र दुई तला हुनेछन् । तिनमा पर्यटन सूचना केन्द्र र सङ्ग्रहालय रहने उनले जानकारी दिए । दुई करोड ५० लाख खर्च गरी मूर्ति र भित्री संरचना निर्माण गर्न लागिएको हो ।
पार्कका योजनाकार भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ विश्व सुवेदीका अनुसार उद्यानभित्र भ्यू–टावर, २५ बिघामा ताल, ५० बिघामा घाँसे मैदान, टाइगर टावर, जंगल सफारी, असहाय वन्यजन्तु उद्धार केन्द्र, जैविक विविधता सूचना केन्द्र, अहिले भइरहेको थारु सङ्ग्रहालयलगायतका संरचना निर्माण रहनेछन् । प्रदेश सरकारको मुख्य सहयोगमा पार्क निर्माण गर्न लागिएको हो । पर्यापर्यटनलाई नै प्राथमिकता दिएर गैँडालाई ब्रान्डिङ गर्न लागिएको पार्क जैविक विविधता अध्ययन केन्द्रका रुपमा समेत रहने उनको भनाइ छ ।
तालको वरिपरि पर्यटकलाई हिँड्न मिल्ने गरी ‘क्यानोपिक वाक’ निर्माण गरिनेछ, जसमा पोखरीको वरिपरि १५ फिट अग्लो दूरीमा हिँड्न मिल्ने गरी फलामको एक किलोमिटर लामो पुलका लागि आवश्यक पूर्वाधार तयार गरिनेछ । ‘अहिले सामुदायिक वनमा १८ किलोमिटरमा जिप सफारी हुने गरेको छ’, उनले भने, ‘अब जिप सफारीभन्दा पनि क्यानोपिक वाकबाट प्रत्यक्ष गैँडा देखाउने तयारी हुनेछ ।’ सुवेदीका अनुसार फलामको फ्रेममाथि काठ राखेर बार्दलीजस्तो बनाएर क्यानोपिक वाक निर्माण गरिनेछ । पार्कमा बाघ आउने करिडोर पनि पर्ने भएकाले टाइगर टावर र चरा अवलोकन गर्ने टावर निर्माण हुनेछ ।
पार्क निर्माणको डिपिआर तयार गर्न प्रदेश ३ सरकारले सहयोग गरेको थियो । भरतपुरदेखि २५ किलोमिटर पश्चिम–दक्षिणमा रहेको स्थानमा पार्क निर्माण गर्न लागिएको हो । चार वर्षभित्र पार्क निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ । पर्यटन विज्ञ सुवेदीका अनुसार त्यसमा मुख्य आकर्षण गैँडाको मूर्ति हुनेछ । पर्यटक संख्या र बसाइँ अवधि लम्ब्याउने उद्देश्यले गैँडा पार्क निर्माण गर्न लागिएको हो । यो ठाउँबाट सहजै गैँडा देख्न पाइन्छ । जलयात्राका लागि गोलाघाट उपयुक्त गन्तव्य हो । साँझपख राप्ती र नारायणीको संगमस्थल गोलाघाटमा सूर्यास्तको दृश्यले मनमोहक पार्छ । जंगल सफारी सुरू गरिएको क्षेत्र पनि मेघौली नै हो ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया