सौराहामा नयाँ प्याकेज : निकुञ्जमा साइकल सफारी

अन‌ि यो पनि

रत्ननगर । कोरोना भाइरसका कारण थलिएको सौराहाको पर्यटनलाई माथि उठाउन साइकल सफारीको अवधारणा अघि सारिएको छ । सफारी पर्यटनको हिसाबले विश्वमै परिचित पर्यटकीय गन्तव्य सौराहामा आन्तरिक पर्यटनको पवद्र्धनका लागि साइकल सफारी सुरू गर्ने योजना बनेको हो ।
सौराहाको पर्यटनलाई साइकलका माध्यमबाट पश्चिम चितवनको पर्यटनसँग जोड्ने नयाँ अवधारणाका साथ साइकल सफारी सञ्चालन गर्ने तयारी गरिएको क्षेत्रीय होटल संघ चितवनका निवर्तमान अध्यक्ष सुमन घिमिरेले बताए । साइकल सफारीलाई सौराहाको प्याकेज कार्यक्रममा समावेश गरेर सञ्चालन गर्न सके आन्तरिक पर्यटकको संख्या वृद्धि हुने उनको विश्वास छ । चितवनको पर्यटन विकासका लागि जिल्लाका अन्य पर्यटकीयस्थलहरुलाई सौराहासँग जोड्न आवश्यक रहेको भन्दै घिमिरेले त्यसको भरपर्दो माध्यम साइकल सफारी हुने बताए ।
सौराहाबाट निकुञ्जको बाटो हुँदै पश्चिम चितवनका पर्यटकीयस्थलहरुमा पर्यटक लैजाने विषयमा पहिलो चरणको छलफल भएको छ । चितवन साइकल राइडर्स क्लबले साइकल सफारीलाई पर्यटनसँग जोड्ने विषयमा सौराहाका व्यवसायीहरुसँग छलफल गरेको छ । बाघमारा मध्यवर्ती सामुदायिक वनको संयोजनमा भएको छलफलमा सौराहाबाट निकुञ्ज हुँदै पश्चिम चितवनसम्म साइकल सफारी सुरू गर्ने विषयमा सौराहाका व्यवसायीहरु सकारात्मक देखिएका छन् । सौराहा आउने स्वदेशी तथा विदेशी पर्यटकहरु हात्ती सफारी, डुङ्गा सयर, जिप सफारीमा रमाउने गर्दछन् । विदेशी पर्यटकहरु पनि साइकल चढेर पर्यटकीय गन्तव्य घुम्न मन पराउने गरेका छन् । सौराहाबाट विदेशी पर्यटकहरु पैदल हिँडेर निकुञ्ज हुँदै पश्चिम चितवनका पर्यटकीयस्थलहरुको अवलोकन गर्ने गरेका छन् ।
सौराहाबाट साइकलमार्फत पर्यटकलाई गोलाघाट, पटिहानी र मेघौली लैजाने गरी साइकल सफारी सुरू गर्न उपयुक्त हुने संघका निवर्तमान अध्यक्ष घिमिरेले बताए । साइकल सफारीका लागि निकुञ्जसँग अनुमति लिनुपर्ने हुन्छ । साइकल सफारीका विषयमा निकुञ्ज सकारात्मक देखिएमा स्थानीय सरकारका प्रमुखसहित सौराहा व्यवसायी र राइडर्स क्लबका पदाधिकारीहरुको बृहद् कार्यक्रम गरेर साइकल सफारी सञ्चालन गर्ने विषयमा टुङ्गो लगाउने व्यवसायीसमेत रहेका वनका अध्यक्ष जीतु तामाङले बताए ।
राइडर्स क्लबले सौराहादेखि निकुञ्ज हुँदै भरतपुर महानगरपालिका–१३ सीतामाई, जगतपुर र त्यहाँबाट गोलाघाटसम्म साइकल सफारी सुरू गर्ने योजना रहेको क्लबका सचिव धर्मराज सापकोटाले बताए । ‘त्यसका लागि हामीमात्रै तातेर हुँदैन’, उनले भने, ‘स्थानीय सरकार र सौराहाका व्यवसायीको तदारूकता चाहिन्छ ।’ यसरी साइकल सफारी सञ्चालन गर्दा निकुञ्जमा पाइने दुर्लभ वन्यजन्तु र वनस्पतिहरुको प्रत्यक्ष अवलोकन गर्दै प्रकृतिसँग साक्षात्कार गर्न पाइने भएकाले यसले आन्तरिक तथा बाह्य पर्यटक आगमन वृद्धि हुने उनले बताए ।
व्यवसायीहरुले साइकल सफारीलाई सौराहाबाट हात्ती प्रजनन केन्द्र बिसहजारी तालसम्मको यात्रालाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिएका छन् । क्लबका उपाध्यक्ष पदमबहादुर बानियाँले सौराहाबाट हात्ती प्रजनन केन्द्र हुँदै सीतामाईसम्म पुग्ने जैविक मार्ग बनिसकेकाले साइकल सफारीका लागि निकुञ्जले अनुमति दिए सुरू गर्न समय नलाग्ने बताए । सौराहाका पुराना व्यवसायी राधाकृष्ण श्रेष्ठले साइकल सफारीलाई चितवनमा पर्यटकको बसाइँ लम्ब्याउने माध्यमका रुपमा विकास गर्न सकिने धारणा राखे ।
सौराहाबाट साइकल सफारीमा निस्केका पर्यटकलाई पहिलो रात गोलाघाटमा राख्ने, दोस्रो रात पटिहानीमा राख्ने र तेस्रो रात मेघौलीमा राख्ने बृहद् योजनाका साथ साइकल सफारी सुरू गर्दा दीर्घकालीन र पर्यटन प्रवद्र्धनको माध्यम हुने व्यवसायी श्रेष्ठले बताए । छलफल कार्यक्रममा क्षेत्रीय होटल संघ चितवनका महासचिव गुणराज थपलिया, राप्ती तटीय क्षेत्र सरसफाइ अभियानका संयोजक अपिल घिमिरेलगायतले मन्तव्य राखेका थिए ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया