रमेशकुमार पौडेल
भारतमा भएको संसदीय निर्वाचनमा त्यहाँको पार्टी भारतीय जनता पार्टीे (भाजपा) ले उल्लेख्य सफलता हात पारेको छ । उक्त पार्टीका नेता नरेन्द्र मोदीको अगुवाइमा निर्वाचनमा होमिएको भाजपाले जितेपछि अब नेपालमा कस्तो प्रभाव पर्ला भनेर चर्चाहरु सुरू भएका
छन् । विकासवादी र हिन्दूत्वको छवि भएका मोदीको उदयले नेपालमा हुने सकारात्मक प्रभावको चर्चा कम छ । बरू, यहाँ संस्थागत हुँदै गरेको गणतन्त्र नै धरापमा त पर्ने होइन ? भन्ने खालको अड्कल र आशंका हुने गरेको छ । नेपाल धर्मनिरपेक्ष राज्यबाट हिन्दू राज्यमै फर्कने पो हो कि ? भन्नेसम्मको गाइँगुइँ चल्न थालेको
छ । गणतन्त्र र धर्मनिरपेक्षजस्ता विषय सार्वभौम देशको आन्तरिक मामिलाहरु हुन् । यस्ता विषयमा बाह्य प्रभाव घातक मानिन्छ ।
भारत आफैँमा धर्मनिरपेक्ष र गणतन्त्रात्मक मुलुक हो । यी दुई मूलभूत कुराहरुलाई परिवर्तन गर्छौं भनेर त्यहाँ कसैले चुनाव लड्दैन । अनि, त्यस्तो भारतमा कुनै ‘ए’ नाम गरेको पार्टीका ठाउँमा ‘बी’ भन्ने पार्टी जितेर आएमा नेपालमा भएका परिवर्तनहरु धरापमा पर्छन् भनेर चर्चा–परिचर्चा चल्नुचाहिँ अनौठो भएन र ? भाजपा भनेको हिन्दू संस्कार र मान्यताको संरक्षण गर्ने विचारबाट अभिप्रेरित भएर बनेको पार्टी हो । स्वयम् मोदी हिन्दू धर्मका नियमलाई कट्टरतापूर्वक पालना गर्ने व्यक्तिका रुपमा परिचित छन् ।
मोदीले मुसलमानले उपहारका रुपमा लगाइदिन खोजेको मुस्लिमहरुको टोपी पनि लगाउन मानेनन् । सार्वजनिक समारोहमा नै उनले टोपी अस्वीकर गरे । यसबारेमा उनी भन्छन्, म अरुको संस्कारहरुको सम्मान गर्छु तर आफ्ना नियमहरु पालना गर्छु । अर्थात्, उनले आफ्ना नियमहरु यति कडा बनाएका छन् कि जहाँ हिन्दूत्वलाई अगाडि सार्न अग्रसर हुन्छन् र मुसलमानको टोपीसमेत लगाउन तयार हुँदैनन् । उनी मुख्यमन्त्री भएका बेलामा गुजरात राज्यमा दंगा भयो र दुई हजारका हाराहारीमा मुसलमानहरुको ज्यान गयो । मोदीमाथि त्यो दंगा नियन्त्रणमा सक्रियता नअपनाएको आरोप छ ।
भारतमा यो चुनावमा मोदीले भाजपाको पक्षमा आँधी ल्याए भन्ने गरिएको छ । भाजपा र मोदीको हिन्दूमुखी चरित्रका कारण भारतमा मोदीले आँधी ल्याउँदा नेपालमा पातहरु हल्लिनु असामान्य होइन, किनकि नेपाल अहिले हरेक कुरामा भारतप्रति निर्भर छ । यो गणतन्त्र आउनुमा पनि नेपालीको मात्रै नभएर भारतीय नेताहरुको चाहना र सक्रियताको पनि भूमिका थियो भन्ने छर्लंगै छ । नेपालमा गणतन्त्र स्थापनाका लागि भूमिका खेल्ने ६२–६३ सालको आन्दोलनको जग भनेको भारतमै भएको तत्कालीन विद्रोही पक्ष माओवादी र संसद्वादी शक्ति सात दलबीचको १२ बुँदे दिल्ली सम्झौता थियो ।
त्यो दिल्ली सम्झौता यस्तो पृष्टभूमिमा भएको थियो, जतिबेला भारतीय संसद्मा वामपन्थीहरुको बलियो उपस्थिति थियो । भारतका कम्युनिस्ट नेता सीताराम यचुरीलगायतकाको सक्रियतामा माओवादी र संसद्वादीबीच भएको १२ बुँदे समझदारीकै बलमा भएको आन्दोलनले नेपाललाई धर्मनिरपेक्ष र गणतन्त्रात्मक मुलुक बनायो । अब भारतको संसद्को स्वरुप बदलियो । त्यसैले, हिन्दू धर्मप्रति लगाव राख्नेहरुको त्यहाँको संसद्मा दरिलो उपस्थिति रहेका बेलामा नेपालमा भएका पहिलेका परिवर्तनहरु उल्टिन सक्छ भनेर आशा र आशंका राख्नु अस्वाभाविक पनि होइन ।
नेपालमा एउटा सामान्य बुझाइ के छ भने भारतका कम्युनिस्ट र नेपालका कम्युनिस्ट एकै हुन् । त्यस्तै, त्यहाँको कांग्रेस पार्टी र यहाँको कांग्रेस पार्टी एउटै हुन् । अनि, भारतमा कांग्रेस र कम्युनिस्ट दुवै कमजोर हुँदा र यहाँ कांग्रेस र कम्युनिस्टको सरकार हुँदा नेपाली सरकारप्रति भारतीय कसरी सकारात्मक होलान् भन्ने तहको आँकलन गरिन्छ ।
भारतमा गैरकांग्रेसी सरकार बन्दा यहाँ सत्तामा रहने कांग्रेसभन्दा बाहिरका शक्तिहरुलाई सहयोग हुनेछ भन्ने बुझाइ पनि रहेको छ । त्यसैले, नेपालमा हिन्दू राज्यको वकालत गर्दै आएको राप्रपा नेपालजस्तो दक्षिणपन्थी शक्तिहरुलाई हिन्दूवादी भाजपा नेतृत्वको भारतीय सरकारको सहयोग र सहानुभूति हुन्छ र नेपाल परिवर्तनबाट पछाडि फर्कन पनि
सक्छ भनेर अड्कलहरु लगाउन थालिएको छ ।
आशा र आशंकाका आधारहरु यिनै हुन्, तर कुरो यसरी अगाडि बढ्न भने सक्दैन । किनकि, भाजपा स्वयम् नै अहिले भारतमा हिन्दूत्वको नारा बोकेर सत्तासीन हुन लागेको हुँदै होइन । भ्रष्टाचार र महँगी नियन्त्रण तथा आर्थिक विकासमार्फत समृद्धिको नारा लिएर चुनावी अभियानमा होमिएका मोदीले भाजपालाई प्रचण्ड बहुमत दिलाएका हुन् । त्यसैले, मोदीको प्राथमिकता यिनै चुनावी वाचाहरु पूरा गर्नु
हुनेछ ।
मोदीको नजरमा नेपाल छ कि छैन ? उनको प्राथमिकतामा नेपाल पर्छ या पर्दैन ? भन्ने कुराले पनि अर्थ राख्छ । मोदीको नजरमा चीन, पाकिस्तान र अमेरिका छ । यी देशहरुबाट भारतलाई केही सिक्नु पनि छ । अनि यी देशलाई देखाउनु पनि छ । नेपालबाट भारतले केही सिक्न पनि पर्दैन । नेपाललाई देखाइदिन पनि आवश्यक छैन । त्यसैले, नेपाल मोदी र भारतको प्राथमिकतामा छैन ।
त्यसो त, भारतको विदेश नीति सरकार परिवर्तन हुनासाथ नबदलिने खालको हुन्छ । स्थायी विदेश नीतिमा निर्भर रहेको देशमा सत्तामा पार्टी र व्यक्ति परिवर्तनले के अर्थ राख्ला
र ? त्यसोभए, मोदीको आवागमनले नेपालमा कुनै खालको ता¤िवक अर्थ नराख्ला त ? कुरो त्यसो पनि
होइन । मोदी हिन्दूत्वप्रति सहानुभूति राख्छन्, तर उनी नेपाललाई हिन्दू राज्य बनाउने काम बोकेर भने हिँडेका छैनन् । नेपालबाट हिन्दूत्वको लागि भनेर मोदीलाई मनाउने र पक्षमा लिने काम भयो भने यहाँको हिन्दूवादी अभियानकर्ताहरुले साथ भने अवश्य पाउने देखिन्छ । अब कुरो मोदीलाई त्यसरी मनाउन सक्ने कि नसक्ने ? भन्ने नै हो ।
नेपालका नेताले भारतका नेतासँग सीधा सम्पर्क गर्ने हैसियतसमेत गुमाएका छन् । नेपालको दूतावासले होइन, दूतावासअन्तर्गतको इकाइ महावाणिज्य दूतावासका कर्मचारीले यहाँका नेतालाई थर्काउँछन् । त्यसैले, यहाँका कुन नेताले मोदीलाई मनाएर देशमा हिन्दू राज्य र राजा फर्काउनु ? तर, नेपाली राजनीतिमा भारतीय नाङ्गो हस्तक्षेपको आकांक्षा राख्ने समूह नेपालभित्रै छ । त्यो समूहको क्रियाशीलता बढ्दै र फैलँदै
गएमा मोदीको सहानुभूति हासिल गर्न सक्ने सम्भावनालाई चाहिँ नकार्न नमिल्ला ।
खाट्टी कुरोचाहिँ के हो भने नेपालमा हिन्दू राज्य र राजा फर्काउने कार्यसूची मोदीको हुनेछैन । यस कार्यमा उनको सहानुभूति लिन खोज्ने चेष्टा भने नेपालभित्रैबाट हुनेछ । अब मोदीको समर्थन पाउलान् वा नपाउलान्, त्यो अहिले नै भन्न
सकिँदैन । त्यस्ताले देशभित्रैबाट कत्तिको साथ, समर्थन पाउलान् ? त्यो पनि मह¤वपूर्ण पक्ष हुनेछ । मोदी आउँदैमा नेपालीलाई अहिले नै ता¤िवक अन्तर केही हुने भने होइन ।
मोदीले पाएको सफलताका कारण नेपाली नेताहरुले सिक्न धेरै छ । आफ्नो राज्य गुजरातमा मोदीले गरेको विकास यस विजयको आँधीको मूल कारण हो । मोदीले विकासमा गुजरात मोडल नै स्थापित गराए । हो, यस्ता कुरा नेपाली नेताहरुले सिको गरुन्, यस्ता विषयमा सहयोगको अपेक्षा राखून् । देशको आन्तरिक राजनीतिक विषयमा मोदीको सहानुभूति बटुल्न खोज्नु देशका लागि नै दुर्भाग्य हुनेछ ।
Discussion about this post