अब विद्यालय खोल्न ढिला गर्न हुँदैन

अन‌ि यो पनि

हाम्रो उत्तरी छिमेकी चीनको वुहानमा डिसेम्बर २७, २०१९ तदनुसार २०७६ पौष १४ गते पहिलोपटक देखा परेको कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापीरुपमा फैलने क्रममा माघ महिनामै नेपालमा भित्रिएसँगै विश्व स्वास्थ्य संगठनले २०७६ फागुन मध्यतिर नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा रहेको सूची प्रकाशन गरेपछि नेपाल सरकारले यससम्बन्धी तयारी र सजगता अपनाउन विभिन्न योजनाहरु लागू गर्दै जाने क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामान्यतया चैत्र महिनाको मध्यतिर सुरू हुने विद्यालयस्तरका वार्षिक परीक्षाहरु चैत्र ५ गतेभित्र सक्नुपर्ने निर्देशन जारी गर्दै क्रमशः चैत्र ६ गते सुरू हुने एसइई परीक्षा चैत्र ५ गते स्थगित ग¥यो भने चैत्र ११ गतेदेखि त लकडाउन (बन्दाबन्दी)को आदेश जारी गर्दै क्रमशः वैशाख ८ गतेदेखिको कक्षा १२ र वैशाख २१ गतेदेखिको कक्षा ११ का परीक्षाहरु समेत स्थगित भए, जसबाट करिब १४ लाख विद्यार्थीहरुको परीक्षा लामो समयसम्म अन्योलमा रह्यो । लामो समयको अन्योल र पर्खाइपछि सरकारले एसइई परीक्षाका सम्बन्धमा निकास निकाले पनि कक्षा ११ र १२ को परीक्षाका बारेमा भने अझै अन्योल कायमै देखिएको छ ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसैवर्ष जेठ १८ गते वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७ जारी गरी विद्यालय तहको शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाउनका लागि विभिन्न जिम्मेवारी तोके पनि शैक्षिक सत्र तय नगरकोले त्यस समयको शिक्षण सिकाइमा आमविद्यार्थीहरु सहभागी हुन खोजेनन् भने अधिकांश अभिभावकहरुले समेत चासो राखेको देखिएन । तर, जब मन्त्रालयले भाद्र १९ गते विद्यार्थीहरुको सिकाई सहजीकरण निर्देशिका–२०७७ लागू गरी वैकल्पिक र दूरशिक्षाको माध्यमबाट रेडियो, एफएम, टेलिभिजन, अनलाइन तथा अफलाइन प्रविधिको प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाउने र आश्विन १ गतेदेखि शैक्षिक सत्र सुरू भएको भनी घोषण गरेपश्चात् विद्यार्थी तथा अभिभावक र शिक्षकहरुमा समेत एक प्रकारको जिम्मेवारी बोध भएको पाइएको छ । त्यसमाथि पनि यो शैक्षिक सत्रमा कहीँ पनि शिक्षण सिकाइ क्रियाकलापमा सहभागी नभएका विद्यार्थीहरु अर्को शैक्षिक सत्रमा माथिल्लो कक्षामा अध्ययन गर्न नपाउने भएबाट पनि शिक्षक, विद्यार्थी र अभिभावकहरुमाथि भर्ना गर्ने, पाठ्यक्रमबमोजिमका शैक्षिक गतिविधिहरु उपयुक्त माध्यमको चयन गरी सञ्चालन गर्ने र सिकाउने दबाब सृजना भएको छ । यही सुरूआत आषाढ १ गतेदेखि भैदिएको भए शिक्षण सिकाइ क्रियाकलाप धेरै अगाडि बढिसकेको हुन्थ्यो, तर ढिलै भए पनि यो शैक्षिक वर्ष खेर नजाने गरी व्यवस्था भएको छ जसले सबैमा उत्साहको सञ्चार भएको देखिएकोे छ ।

मन्त्रालयले शैक्षिक क्रियाकलापहरु अगाडि बढाउन विद्यार्थीहरुको पहिचान, अभिलेखीकरण तथा वर्गीकरण गर्न विद्यार्थीहरुलाई सबै प्रकारका प्रविधिको पहुँचभन्दा बाहिर रहेका, रेडियो एफएममा पहुँच भएका, टेलिभिजनमा पहुँच भएका, कम्प्युटर भएका तर इन्टरनेटको पहुँच नभएका र इन्टरनेटलगायतका सूचना प्रविधिका साधनको सुविधा भएका भनी पाँच समूहमा वर्गीकरण गरी सोहीबमोजिम समूहगत सिकाइ कार्यक्रमसम्बन्धी व्यवस्थासमेत गरेको छ । सबै समूहका विद्यार्थीहरुले सिक्न पाउने व्यवस्था गरी तयार भएको उक्त निर्देशिकामा पाठ्यवस्तुको समायोजन गर्न सक्ने व्यवस्थाका साथै शैक्षिक सत्रको समयावधि, महामारीलगायतका विषम परिस्थिति र अवस्था हेरी विद्यालयले दूरशिक्षा वा प्रत्यक्ष साक्षात्कार माध्यमबाट विभिन्न विधिको अवलम्बन गरी सिकाइ सहजीकरण गर्ने व्यवस्थासमेत गरेको छ । निर्देशिका कार्यान्वयन तथा शिक्षण सिकाइका क्रियाकलापहरु सञ्चालन गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी भएको कोभिड–१९ सङ्क्रमणविरूद्धको जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयद्वारा जारी भएको सुरक्षा मापदण्डको पालना गर्नुपर्ने भनी व्यवस्था भएसँगै सिकाइ सहजीकरण प्रणाली कार्यान्वयनसम्बन्धी विशेष व्यवस्था गरी कोभिड–१९ सङ्क्रामक रोग वा यस्तै प्रकृतिका विपद्बाट सृजना हुने विषम परिस्थितिमा सिकाइ प्रणालीलाई निरन्तरता दिने प्रयोजनका लागि दूर तथा खुला शिक्षालगायतका पद्धतिलाई सिकाइ सहजीकरणको प्रणालीका रुपमा लागू गर्न सकिनेछ भन्ने व्यवस्था गरी कुनै क्षेत्रविशेषमा नियमित विद्यालय सञ्चालन हुने सक्ने अवस्था भएमा प्रत्यक्ष शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न निर्देशिकाको कुनै पनि बुँदाले बाधा नपार्ने उल्लेख भएबाट आफ्नो पालिकामा रहेका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको घर, वतन र विद्यालयको अवस्थिति, त्यहाँको सङ्क्रमणको अवस्था आदिलाई मध्यनजर गरी विद्यार्थीहरुलाई दूरशिक्षा वा प्रत्यक्ष शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउने निर्णय गर्ने जिम्मेवारी स्थानीय तहमा रहेको देखिन्छ ।

गत वर्ष चैत्र ११ गतेदेखिको निरन्तर १२० दिनको बन्दाबन्दी, त्यसपछि पनि जिल्लागतरुपमा करिब १ महिनाभन्दा बढी अवधिका जिल्ला प्रशासन कार्यालयहरुबाट जारी निषेधाज्ञा, स्थानीय पालिकाहरुले लागू गरेका विभिन्न बन्देजहरुले आर्थिक गतिविधि ठप्प भई रोगले भन्दा पनि भोकले मरिन्छ कि भन्ने डरले आजित भएका आमसर्वसाधारणहरुले बन्दाबन्दी तथा निषेधाज्ञामा भएको खुकुुलोपनासँगै अहिले असहजताका बीचमा सहजता खोज्दै, भयका बीचमा बाध्यतालाई आत्मसात् गर्दै आफ्ना दैनिकीहरु सञ्चालन गरेको अवस्था छ । सरकारी, अर्धसरकारी तथा गैरसरकारी कार्यालयहरु, बैंक तथा वित्तीय संस्थाहरु, व्यवसायहरु, सबै प्रकारका यातायातका साधनहरु सुचारू भएकोले अहिले जताततै बाक्लो ट्राफिक देखिएको छ । विश्व स्वास्थ्य संगठनबाट समेत कोरोना भाइरसविरूद्धको खोप तथा औषधि बन्न समय लाग्ने, यो भाइरसको सङ्क्रमण लामो समयसम्म रहिरहन सक्ने भन्ने भनाइहरु बेलाबेलामा आइरहेकोले पनि अब हामीले यो भाइरसबाट छिट्टै मुक्ति पाइने अवस्था देखिँदैन । जसरी १९८१ देखि हालसम्म प्रभाव रहेको एचआइभी एड्स जसबाट ३ करोडभन्दा बढी मानिसको मृत्यु भइसकेको छ, हामी त्यो भाइरस सङ्क्रमणविरूद्ध सजग भएर आफ्ना दैनिकी सञ्चालन गरेका छौँ भने कोरोना भाइरस सङ्क्रमणविरूद्ध पनि सजग भएर आफ्ना दैनिकी सञ्चालन गर्नुको विकल्प देखिँदैन ।

अहिले भइरहेको दूरशिक्षा, प्रविधिको प्रयोग आदि माध्यमको सिकाइ सहजीकरण प्रणालीमा धेरै प्रतिशत विद्यार्थीहरु छुटेको अवस्था छ भने अधिकांश अभिभावकहरुले पनि यसलाई पूर्ण विश्वास गरेको, सहजै रूचाइरहेको देखिँदैन । अहिले बालबालिकाहरु विद्यालय गएका छैनन्, तर बन्दाबन्दी तथा निषेधाज्ञा हटेसँगै इष्टमित्र, नातेदार, साथीसँगीकोमा गएकै छन्, सार्वजनिक सवारीमा यात्रा गरेकै छन्, सामूहिकरुपमा खेल्ने, कुद्ने आदि गरेकै छन् । सबै अभिभावकहरु कामका सिलसिलामा घरबाहिर जाने र आउने क्रम निरन्तर जारी छ । कतिपय अभिभावकहरुले आफ्ना सन्ततिहरुलाई होम ट्युसन, सामूहिक ट्युसन आदि राख्नुभएको छ भने शिक्षकहरुको मुभमेन्ट पनि कम छैन । सङ्क्रमणको जोखिममा बालबालिकाहरु हिजो पनि थिए र आज विद्यालय नआउँदाको अवस्थामा पनि त्यत्ति नै छन् । तसर्थ, केही समयको दूरशिक्षा तथा प्रविधिको प्रयोग गरेर गरिने सिकाइ सहजीकरणपछि विद्यालय खोलेर नियमित पठनपाठनको अर्को विकल्प देखिँदैन । भारतलगायतका अन्य देश र नेपालमै पनि विभिन्न स्थानहरुमा विद्यालय खुलेका, जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी शिक्षण सिकाइ भइरहेका समाचारहरु आइरहेका छन् ।

अभिभावक, विद्यार्थी र शिक्षकको त्रिकोणीयरुपमा निरन्तर सजगता रहन सक्यो भने विद्यालय हाल सोचिएको जस्तो सङ्क्रमणको केन्द्रभन्दा पनि सचेतना जगाउने, सङ्क्रमण न्यूनीकरण गर्ने केन्द्र बन्न सक्छ । जसका लागि अभिभावकले आफ्ना बाबुनानीहरुको बानी घरैदेखि सुधार गर्दै पञ्जा, मास्क, फेस सिल्ड, झोलामा स्यानिटाइजर, पानीको बोतल, चम्चासहितको खाजा र विद्यालय ल्याउने र लैजाने व्यवस्था गर्नुपर्दछ । यसका अतिरिक्त विद्यालयहरुले समेत हिजोको पूर्वाधार र व्यवहारमा सुधार गरी आवश्यक स्वास्थ्य उपकरणसहित कम्तीमा एक जना स्वास्थ्यकर्मीको व्यवस्था, विद्यालयका कक्षाकोठा, शौचालय, धारा आदि सबै स्थानमा जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्डको पालना गर्ने भयमुक्त र व्यवस्थित वातावरण सृजना गर्नुपर्दछ । तर, तत्कालै पूर्वाधार विकास गर्न सम्भव नहुने भएकोले भौतिक दूरी कायम गर्नका लागि हप्ताको ३ दिन विद्यालयमा प्रत्यक्ष उपस्थित भई अध्ययन गर्ने र ३ दिन घरमै विद्यालयको समय तालिकाबमोजिम गृहकार्य गर्ने व्यवस्था मिलाउनुपर्दछ भने पछि क्रमशः पूर्वाधार विकास गर्दै सबै विद्यार्थीहरुलाई विद्यालयको कक्षाकोठामा मापदण्ड पालना हुने व्यवस्था गर्नुपर्दछ । तसर्थ, कोभिड–१९ सङ्क्रमणसँग सजगता अपनाउँदै आफ्ना दैनिकी सञ्चालन गर्नुपर्ने अहिलेको बाध्यता भएकोले बालबालिकालाई आफ्नो परिवेशअनुकूल सिक्ने वातावरण सृजना गरी निर्दिष्ट सिकाइ उपलब्धिहरु हासिल गर्न केही समय दूर तथा खुल्ला शिक्षालगायतका प्रणालीलाई लागू गरे पनि सङ्क्रमण, विद्यार्थीहरुको सहभागिता र प्रभावकारिताको सूक्ष्म मूल्याङ्कन गरी विद्यालय खोली शिक्षक तथा विद्यार्थीहरुलाई प्रत्यक्ष सिकाइ क्रियाकलापमा सहभागी बनाउन ढिला गर्न हुँदैन ।
(लेखक सेवानिवृत्त प्रहरी अधिकृत तथा लाइसियम स्कुल रत्ननगरका प्रबन्ध निर्देशक हुन् ।)
[email protected]

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया