न्वारन किन गर्ने ? [संस्कार चिन्तन]

अन‌ि यो पनि

उठान
सनातन वैदिक पद्धतिअनुसारका प्रमुख १६ संस्कारहरुमध्ये गर्भाधान, पुंसवन र सीमन्तोन्नयन संस्कार वर्तमानमा पूर्णतया ओझेलमा परिसकेका छन् भने जातकर्म र निष्क्रमण संस्कारहरु पनि सहरबजारमा मात्र होइन गाउँघरतिर पनि पालना गर्न प्रायः छाडिसकिएको छ ।
घरमै सुत्केरी हुने चलन घट्तै गएका कारण जन्मदाबित्तिकै गरिने जातकर्म संस्कार प्रायः लोप हुन थालेको हो भने नवजात शिशुलाई घरबाट पहिलोपटक निकाल्ने निष्क्रमण संस्कारको पनि गाउँघरतिर केही मात्रामा पालना गरिएको होला तर अन्यत्र यसको अस्तित्व पनि हाम्रो समाजमा कायम रहन सकेको देखिँदैन । तसर्थ नामकरण वा न्वारन संस्कार मात्र होइन त्यसको अघि र पछि गरिने जातकर्म र निष्क्रमण संस्कारका विषयमा समेत हामी सबैले सामान्य जानकारी लिनु आवश्यक छ ।
जातकर्म संस्कार किन गर्ने ?
जन्मदाबित्तिकै गरिने संस्कार भएकाले चौथो संस्कारलाई जातकर्म संस्कार भनिएको हो । ऋग्वेद (५।७८।९) मा दश महिनासम्म आमाका पेटमा शयन गरी सुकुमार जीव धारण गर्दै स्वस्थ आमाबाट सुखपूर्वक बाहिर निक्लोस् वा आमाले सुखपूर्वक जन्माऊन् भनेर भगवान्सँग पुकार गरिएको छ ।
जातकर्म संस्कारका सन्दर्भमा घरको सरसफाइ, नवजात शिशुलाई नुहाइदिने, नाल काट्ने, दूध ख्वाउने आदि कर्म गरिन्छ तर अस्पतालमा सुत्केरी हुनेहरु यस्ता कर्महरु गर्नबाट वञ्चित हुन्छन् । गर्न त अस्पतालमा पनि नर्सहरुले नवजात शिशुको स्वास्थ्यलाई विशेष ख्याल गर्दै सफासँग यस्ता केही शारीरिक कर्महरु गरिदिन्छन् तर नवजात शिशुका लागि आध्यात्मिक संस्कार भने आधुनिक अस्पतालहरुमा सम्भव देखिँदैन ।
शिशु जन्मिएपछि शिशुका पिताले तत्काल सचैल अर्थात् आफूले लगाएका सबै लुगासहित स्नान गर्ने प्रचलन रहेको छ । जातकर्म संस्कारका क्रममा जसरी अग्निदेव वनस्पतिहरुद्वारा आयुष्मान् भएका छन् त्यसैगरी उनकै कृपाद्वारा मैले तिमीलाई दीर्घायु बनाउँछु भन्ने भावनाले युक्त भएका वैदिक मन्त्रहरुको जप गरेर नवजात शिशुका पिताले उसका हृदयमा दीर्घजीवनको भावनालाई सुदृढ बनाउने शास्त्रीय विधान छ ।
साथै पिताले नै नवजात शिशुको शरीरमा स्पर्श गरेर ‘अश्मा भव परशुर्भव, हिरण्यमश्रुतं भव, आत्मा वै पुत्रनामासि, स जीव शरदः शतम्’ अर्थात् हे शिशु ! तिमी पत्थरजस्तै दृढ होऊ, बन्चरोजस्तै शत्रुको विनाशक होऊ, सुनजस्तै स्वच्छ र तेजस्वी बन, तिमी पुत्र नामले मेरै स्वरुप हौ र तिमी सय वर्षसम्म बाँच भन्दै नवजात शिशुको निर्मल हृदयमा मानवोचित दृढता, पराक्रम, तेज आदि राम्रा गुणहरुको अमिट छाप छोडिन्छ । जसले गर्दा नवजात शिशुको आत्मा र मनलाई अपूर्व पोषण प्राप्त हुन्छ । जातकर्म संस्कारका सन्दर्भमा नवजात शिशुको मात्र होइन प्रसवपीडा भोगिरहेकी माताको पनि उत्साह र आत्मबल बढाउने प्रयास गरिन्छ ।
हे वीराङ्गना ! तिमी इडा हौ, तिमीले वीर सन्तानलाई जन्माएर मलाई वीर सन्तानको पिता बन्ने सौभाग्य प्रदान गरेकी छौ र यस सन्तानका माध्यमले तिमी पनि वीर माता बन भन्ने कामना गरिन्छ । यही उत्साहले गार्द जतिसुकै प्रसवपीडामा रहे पनि आमा आफ्नो नवजात सन्तानको शारीरिक र मानसिक दुवै पक्षको संवद्र्धन गर्न सक्षम हुन्छिन् ।
नवजात शिशुलाई आफ्नै आमाको दूध पिलाउनुपर्छ । सर्वप्रथम दूध पिलाउँदा वैदिक मन्त्रहरु उच्चारण गर्ने शास्त्रीय विधान छ । आफ्नै आमाको दुग्धपान गराउँदा आमा र शिशुका बीचको प्रेम भावना जागृत हुनाका साथै शिशु पुष्ट र बलशाली पनि हुँदै जान सक्छ । आमाको दूध नआएका खण्डमा मात्र आफ्नै कुलका धाईआमाको दूध पिलाउन सकिन्छ तर गाई, भैँसीको र बजारिया दूध पिलाउनु शिशुको स्वास्थ्यका लागि लाभदायक मानिँदैन । अज्ञानका कारण कतिपय महिलाहरुले बिगौती दूध फाल्ने गरेको पनि पाइन्छ तर बिगौती दूध पिलाउँदा शिशुको स्वास्थ्यलाई त राम्रो प्रभाव पार्छ नै आमाको स्वास्थ्यमा पनि त्यसले फाइदा नै पु¥याउँछ ।
कतिपय सहरिया महिलाहरुले आफ्नो रुप बिग्रन्छ भनेर न्वारन गरेपछि नवजात शिशुलाई स्तनपान गर्न छुटाउने गरेको पनि पाइन्छ । यस किसिमको दुष्प्रवृत्तिले शिशुको स्वास्थ्यमा र महिला स्वयंको स्वास्थ्यमा समेत दीर्घकालीन गम्भीर असर पर्छ । नियमित स्तनपान गराउने महिलाका तुलनामा छिटै स्तनपान गर्न छुटाउने महिलाहरुमा स्तन क्यान्सरको बढ्ता सम्भावना रहन्छ । शिशु जन्मदाबित्तिकै धेरैजसोले मह चटाउने गर्छन् । सुनमा स्पर्श गरेको महमा मिसाइएको घिउ चटाउनाले नवजात शिशु क्रमशः नयाँ वातावरणसँग प्रतिस्पर्धा गर्न सक्षम हुन्छ । सुन, मह र घिउले क्रमशः वात, पित्त र कफ त्रिविध दोषहरु अन्त्य गर्छन् ।
न्वारन किन गर्ने ?
नामकरण संस्कार नेपाली समाजमा न्वारनका नामले सुप्रसिद्ध छ । नाम राख्नुलाई नामकरण भनिएको हो । हरेक नाम सार्थक हुनुपर्छ । व्यक्तिविशेष वा स्थानविशेषलाई बुझाउने नामले सम्बद्ध व्यक्ति वा स्थानको विशेषतालाई पनि वहन गर्न सक्ने हुनु राम्रो मानिन्छ । नाम राख्ता धेरै सोचविचार गरेर राख्नुपर्छ । हामीले संस्कृत वाङ्मयका पौराणिक र ऐतिहासिक ग्रन्थहरुमा सुप्रसिद्ध नामहरुको गम्भीर चिन्तन र मनन ग¥यौँ भने सबैजसो नामहरु सम्बद्ध व्यक्तिको चारित्रिक विशेषतालाई वहन गर्न समर्थ भएका देखिन्छन् ।
उदाहरणका लागि ‘युधिष्ठिर’ युद्धमा बढ्ता स्थिर हुन पुगे भने ‘दुर्योधन’ दुष्ट वा अन्यायपूर्वक युद्ध गर्ने व्यक्तिका रुपमा चर्चित भयो । प्राचीन समयमा जस्तो नाम त्यस्तै गुण कायम हुनुमा ज्योतिषशास्त्रमा पारङ्गत दूरदर्शी पुरोहितकै सफलता मानिन्छ तर वर्तमान समयया न्वारन गर्ने न त्यस्ता पुरोहितहरु भेटिन्छन् न त यजमानहरु नै न्वारनको मूल मर्मप्रति सचेत हुन सकेका छन् ।
कस्तो नाम राख्ने ?
सांसारिक व्यवहारका लागि मात्र नभई आयु र तेजको वृद्धिका लागि पनि नाम राखिन्छ तर वर्तमानमा आयु र तेजको वृद्धिको कामनालाई वास्ता नगरी सांसारिक व्यवहारका लागि मात्र नाम राख्ने प्रचलन बढ्दै गएको छ । त्यसमा पनि सन्ततिका बावुआमाको नामका अक्षरलाई आधार बनाएर निरर्थक नाम राख्न रूचाउनेहरुको पनि कमी छैन । त्यसैले नामको मह¤व बताएर सार्थक नाम राख्ने विषयमा पुरोहितको मात्र होइन प्रत्येक परिवारका मूलीको पनि ध्यान जानु आवश्यक छ ।
राम्रो र सबैभन्दा पृथक् (युनिक) नाम राख्न त सबैले रूचाउँछन् तर त्यस्तो नाम खोज्न अभिभावक र पुरोहितलाई समेत निकै गाह्रो हुन्छ । नाम राम्रो भए पनि उच्चारण गर्न अप्ठ्यारो पर्ने खालको हुनु हुँदैन । अप्ठ्यारो नामले लोकमा प्रसिद्धि पनि पाउँदैन । बालकको नाम राख्ता दुई वा चार अक्षरको हुनुपर्छ । सुरूमा ग, घ, ज, झ, ड, ढ, द, ध, प, फ वर्णमध्ये कुनै एक हुनुपर्छ, नामको बीचमा य, व, र, ल वर्णमध्ये कुनै एउटा रहनुपर्छ र अन्तमा दीर्घ स्वरयुक्त कृदन्त शब्दको नाम राख्नुपर्छ तर तद्धितान्त शब्द नामका रुपमा प्रयोग गरिनु हुँदैन ।
यसैगरी बालिकाको नाम राख्ता तीन अक्षरले बनेको र अन्त्यमा आकार हुनुपर्छ भने बालिकाको नामका सन्दर्भमा तद्धितान्त शब्द भए पनि कुनै आपत्ति हुँदैन भन्ने पारस्करगृह्यसूत्रको निर्देशन छ । मनुस्मृति (२।३१) ले ब्राह्मण, क्षत्रिय र वैश्यका नामहरु क्रमशः मङ्गलवाचक, बलसूचक र धनवाचक राख्ने परामर्श दिएको छ ।
सामान्यतया कन्याको नाम नक्षत्र, वृक्ष, नदी, पर्वत, पक्षी, सर्प आदि भयङ्कर वस्तुवाचक राख्नु हुँदैन भन्ने शास्त्रीय मान्यता रहेको छ । साथै कन्याको नाम सहजै उच्चारण गर्न सकिने र स्पष्ट अर्थ दिने मनोहर, मङ्गलसूचक, दीर्घान्त र आशीर्वादले युक्त अर्थ दिने हुनुपर्छ (मनुस्मृति २।३३) ।
न्वारन कहिले गर्ने ?
‘दशाहेन विशुद्ध्यति’ अर्थात् सामान्यतया दश रात बिताएर एघारौँ दिनका दिन न्वारन गर्ने शास्त्रीय विधान छ । दश दिनभित्र शिशुको बढ्ता ख्याल गर्नुपर्छ र विशेष ख्याल गर्न नसक्ता शिशुको मृत्युसमेत हुनसक्ने, सुत्केरीको रक्तप्रवाह दश दिनसम्म भइरहने हुँदा सुत्केरी कमजोरी हुने र दश दिनपछि सुत्केरीको निर्बलता क्रमशः हट्तै जाने भएकाले पनि एघारौँ दिनका दिन न्वारन गर्ने प्रचलन रहेको हो ।
धर्मशास्त्रका कतिपय ग्रन्थमा शिशु जन्मेको १०० दिन वा वर्षदिनमा पनि न्वारन गर्न सकिने व्यवस्था छ तर नेपाली समाजमा हालसम्म त्यसको प्रयोग भने भएको पाइँदैन । सुत्केरी दश दिनसम्म पनि उठ्न नसकी कमजोर भएमा र नवजात शिशुका पिता विदेशमा भएका खण्डमा तीन महिना र वर्ष दिनमा न्वारन गर्ने वैकल्पिक व्यवस्था गरिएको हो ।
निष्क्रमण संस्कार किन गर्ने ?
निष्क्रमण भन्नाले निस्कनु भन्ने बुझिन्छ । नवजात शिशुलाई चौथो महिनामा बाहिरी वातावरणसँग साक्षात्कार गर्नका लागि पहिलोपटक घरबाट निकाल्ने संस्कारलाई निष्क्रमण संस्कार भनिन्छ ।
अथर्ववेद (८।२।१४) का अनुसार हे शिशु ! तिम्रो निष्क्रमणकालमा पृथ्वीलोक र आकाशसमेत कल्याणकारी, सुखद र शोभादायक होऊन्, सूर्यले तिमीलाई कल्याणकारी प्रकाश देऊन्, तिम्रो हृदयमा स्वच्छ वायुको सञ्चार होस्, गङ्गा, यमुना आदि नदीहरु तिम्रा लागि निर्मल जल प्रवाह गरुन् भन्ने कामना गरिएको हुन्छ । यो संस्कार मूलतः शिशुको स्वास्थ्य सुरक्षाका लागि प्रवर्तन गरिएको हो तर हाल व्यवहारमा यस किसिमको संस्कारको उपयोग नगरिएकै कारण शिशुहरु बारम्बार अस्वस्थ भइरहने समस्याबाट ग्रस्त छन् ।
बैठान
प्राचीन समयमा व्यवस्था गरिएका सनातन वैदिक पद्धतिअनुसारका संस्कारहरुको वर्तमानमा पूर्णतः उपयोग गर्न नसकिए पनि यथासम्भव तिनको प्रयोग गर्न सकिन्छ । घरमै सुत्केरी हुने परिवारमा वर्तमानमा पनि जातकर्म संस्कार विधिपूर्वक गर्न सकिन्छ भने अस्पतालमा सुत्केरी हुने परिवारमा पनि जातकर्म संस्कारका मूलभूत मान्यतालाई प्रत्यक्ष रुपमा नभए पनि अप्रत्यक्ष वा मानसिक रुपमा अपनाउँदै जान असम्भव छैन ।
न्वारन गर्दा पनि पुरोहितले विधि पु¥याएका छन् कि छैनन् ? भन्ने ख्याल गर्नसक्ने यजमान हुनुपर्छ र त्यसका लागि यजमानमा सचेतता जरूरी छ । शिशुलाई यथासम्भव प्रारम्भिक चार महिना घरमै राख्ने र त्यसपछि बाहिरी वातावरणसँग पनि घुलमिल हुन दिनुपर्छ । तब मात्र शिशुको स्वास्थ्यमा बारम्बार देखिने समस्याहरुको क्रमशः अन्त्य हुँदै जान सक्ने सम्भावना देखिन्छ ।
(सहप्राध्यापक, ने‍.सं.वि, कालिका विद्यापीठ गैँडाकोट, नवलपरासी)

[email protected]

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया