निजी अस्पतालका १५ प्रतिशत स्वास्थ्यकर्मीले छाडे काम

अन‌ि यो पनि

भरतपुर । कोरोना कहरले सबैभन्दा धेरै स्वास्थ्य क्षेत्रलाई प्रभाव पारेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म चितवनका करिब तीन सय जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये पनि करिब ४० जना चिकित्सक नै छन् । सङ्क्रमितमध्ये धेरैजसो ‘डिस्चार्ज’ भइसकेका छन् । स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार केही दिनयता देखिएका नयाँ सङ्क्रमितबाहेक अन्य स्वास्थ्यकर्मी सङ्क्रमणमुक्त भइसकेका छन् ।
स्वास्थ्य क्षेत्र नै बढी जोखिममा परेपछि काम छाड्ने स्वास्थ्यकर्मीको संख्या पनि त्यस्तै छ । निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारीका अनुसार चितवनका निजी अस्पतालमा कार्यरत करिब १५ प्रतिशत स्वास्थ्यकर्मीले स्वेच्छाले काम छाडेका छन् । तर, पछिल्लो समय त्यसरी काम छाड्नेको संख्या बिस्तारै कम हुँदै गएको उनले बताए ।
‘सुरूसुरूमा अस्पतालसँग पनि प्रशस्त स्वास्थ्य सुरक्षाका सामग्री नहुनु, आफैँ पनि डराउनु आदि कारणले काम छाड्नेको संख्या बढेको थियो, तर अहिले काम छाड्ने क्रम पनि धेरै कम भएको छ’, उनले भने, ‘किनकि हिजोआज स्वास्थ्य सुरक्षाका सामान पनि पाइन थालेका छन् भने आफैँमा आत्मविश्वास पनि बढ्दै गएको छ ।’ सुरूका तीन महिना अस्पतालमा बिरामीको संख्या पनि ह्वात्तै घट्नु र आमजनमानसमा व्यापक त्रास भएकै कारण यस्तो अवस्था सिर्जना भएको हुन सक्ने उनले बताए । ‘विशेषगरी, इन्टरमिडियट लेबलका स्वास्थ्यकर्मीले जागिर छाडेका छन्’, उनले भने ।
तर, सरकारी अस्पतालमा भने डराएरै काम छाड्नेको संख्या शून्य रहेको अस्पतालको दाबी छ । ‘भरतपुर अस्पतालमा मात्रै ४० जना स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भइसकेको छ, तर अहिलेसम्म कसैले पनि यो समयमा काम छाडेको रेकर्ड छैन’, अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले भने । पछिल्लो केही समययता भने वातावरण थप सहज हुँदै गएकोले निजी तथा सरकारी अस्पतालमा बिरामीको चाप बिस्तारै बढ्दै जान थालेको छ ।
बन्दाबन्दीको सुरूवाती चरणमा सरकारी अस्पताल र ठूला मेडिकल कलेजबाहेकका अस्पतालमा बिरामीको संख्या ज्यादै कम थियो । तर, अहिले संख्या बढ्दै गएको निजी अस्पताल समन्वय समिति चितवनका सचिव अधिकारीले बताए ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया