विपन्नको गुर्जो बेचेर गुजारा

अन‌ि यो पनि

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१२, नवरत्न टोलकी टीकामाया तामाङको दैनिकी परिवर्तन भएको छ । कोरोना महामारीबाट उत्पन्न परिस्थितिका कारण हाटबजारमा तरकारी बेचेर गुजारा गर्दै आएकी उनको दैनिकी परिवर्तन भएको हो ।

कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनका कारण उनले तरकारी बेच्ने हाटबजार बन्द भयो । तरकारी बिक्री गर्न नपाएपछि तामाङको परिवारमा बिहान–बेलुका छाक टार्न पनि मुस्किल हुन थाल्यो । नवरत्न टोलमा रहेको सुकुमबासी बस्तीमा बस्दै आएकी तामाङले वर्षौंदेखि गर्दै आएको काम गर्न नपाएपछि विकल्पको खोजी गरिन् ।

महामारी सुरू भएपछि रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधि गुर्जाेको प्रयोग बढ्न थाल्यो । उनले त्यही गुर्जोलाई गुजारा गर्ने माध्यम बनाउने निधो गरिन् । आम्दानीको स्रोत नभएपछि उनले सडककिनारमा बसेर गुर्जोको व्यापार गर्ने योजना बनाइन् । टिकौली जंगलबाट गुर्जोको लहरा ल्याएर उनले गुर्जो बिक्री गर्न थालिन् ।

आस्थाचोकमा रहेको वरपीपलको रुखमुनि उनले गुर्जोको मुठा बनाएर बिक्री गर्दै आएकी छन् । गुर्जो प्रतिमुठा सय र निगुरो प्रतिमुठा ५० रूपैयाँमा बिक्री गर्दै आएको उनले बताइन् । गुर्जो र निगुरो बेचेरै उनले दैनिक एक हजार ५ सयसम्म कमाउने गरेकी छन् । ६ महिनाअघिसम्म ठेलामा तरकारी बिक्री गर्दै आएका टीकामायाका श्रीमान्ले पनि पछिल्लो समय ठेलामै गुर्जो र निगुरो बिक्री गर्दै आएका छन् । उनले पनि दैनिक एक हजार कमाउँछन् । बिहान ५ बजे टिकौली जंगलमा गएर टीकामायाका श्रीमान् गोरे तामाङले गुर्जो टिपेर ल्याउँछन् । निगुरो भने उनीहरुले अरुसँगै खरिद गर्दै आएका छन् ।

हाटबजार बन्द भएर जीविकोपार्जनमा समस्या झेल्दै आएका तामाङ परिवारले पछिल्लो समय लोकप्रिय बनेको गुर्जो बेचेर गुजारा गर्ने गरेका छन् । ‘हाटबजार बन्द भएपछि परिवार पाल्नै मुस्किल भयो’, टीकामायाले भनिन्, ‘केही नलागेपछि गुर्जो बेच्न सुरू गरेका हौँ ।’ अन्न उब्जनीका लागि खेती गर्ने जग्गा नभएको भन्दै उनले वर्षौंदेखि गरिरहेको तरकारीको व्यापार बन्द भएपछि बाध्य भएर गुर्जो र निगुरो बिक्री गर्न थालेको बताइन् । गुर्जो र निगुरो बिक्री गर्न थालेपछि बिहान–बेलुका छाक टार्न समस्या नभएको उनले बताइन् ।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालय चोकदेखि पूर्वतर्फ टिकौली जंगलसम्मको सडककिनारमा विपन्न समुदायहरु जीविकोपार्जनका लागि गुर्जो र निगुरो बिक्री गर्दै आएका छन् । आस्थाचोकमै मदनबहादुर गोले र उनकी श्रीमती सुकमाया गोलेले पनि गुर्जो र निगुरो बिक्री गर्दै आएका छन् । गोले दम्पतीले अरुबाटै गुर्जो र निगुरो किनेर बिक्री गर्दै आएका हुन् । ‘हाटबजार बन्द भएपछि तरकारीको व्यापार पनि बन्द भयो’, मदनबहादुरले भने, ‘जीवन चलाउन पनि सडककिनारमा बसेर गुर्जो र निगुरोको व्यापार सुरू गरेका हौँ ।’

कोरोना महामारी सुरू भएपछि आयुर्वेदिक औषधिको रुपमा गुर्जोको प्रयोग बढ्दै गएको छ । गुर्जोको प्रयोगले रोगप्रतिरोधात्मक क्षमता बढाउने र महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नहुने आयुर्वेद चिकित्सा विज्ञानले प्रमाणित गरेको छ । दीर्घरोगीका लागि गुर्जो अचुक औषधि मानिँदै आएको छ । उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास, दम, थाइराइड, रूघाखोकीलगायतका रोगहरुको निधानका लागि गुर्जोको प्रयोग फलदायी हुने जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्रकी प्रमुख डाक्टर कोपिला अधिकारीले बताइन् ।

पछिल्लो समय गुर्जोको प्रयोग अत्यधिक मात्रामा बढेको भन्दै उनले गुर्जोलगायतका जडीबुटीको प्रयोग सहीरुपमा उपयोग गर्न आग्रह गरिन् । गुर्जो, मरीच, अदुवा, बेसार, तुलसीको पत्ता मिश्रण गरेर पकाएको पानी बिहान–बेलुका प्रयोग गर्दा शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढ्ने र कोरोना भाइरसले सजिलै आक्रमण गर्न नसक्ने डा. अधिकारीको भनाइ छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया