राजकुमार मृत्यु प्रकरण : कुटपिटका आरोपित सेना पक्राउ

अन‌ि यो पनि

भरतपुर । चितवन राष्ट्रिय निकुञ्ज सेनाबाट भएको भनिएको कुटपिट घटनाको सम्बन्धमा आरोपित सेनाका कर्मचारीसँग चितवन प्रहरीले बयान लिन थालेको छ । मृतक राजकुमार चेपाङका बुबाले नामै किटेर जाहेरी दिएपछि प्रहरीले मुुद्दा प्रक्रिया अघि बढाउन सहज भएको छ । घटनाको दुई महिनापछि आरोपितसँग बयान लिन थालिएको छ ।

हुद्दा दर्जामा कार्यरत नेपाली सेनाका कर्मचारी चिरणकुमार बुढाविरूद्ध मृतक राजकुमारका बुबा विष्णुलाल चेपाङले भदौ २५ गते किटानी जाहेरी दिएका हुन् । यसअघि साउन ८ गते पीडित परिवारले दिएको घटनासम्बन्धी जाहेरी दरखास्त जिल्ला प्रहरी कार्यालय चितवनले साउन ११ गते दर्ता गरेको थियोे ।

मुद्दाका आरोपित बुढालाई असोज १२ गते पक्राउ गरेको प्रहरीले जनाएको छ । मौखिक बयानसँगै पोलिग्राफ परीक्षणसमेत गर्ने तयारी भएको छ । ‘किटानी जाहेरीमा परेका कर्मचारीसँग बयान लिने काम थालिएको छ’, चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरूङले भने । ‘मुद्दाले थप गति लिनेछ’, एसपी गुरूङले भने, ‘धेरै विषयहरु अनुसन्धानको पाटो भएकाले अहिल्यै केही बताउन सकिन्न ।’ मुद्दाका सबै अङ्ग पुगेपछि रायसहितको प्रतिवेदन सरकारी कार्यालयमा पुग्नेछ । पीडित पक्षले हत्याको किटान गरेको र आरोपितले इन्कारी बयान दिएकाले सत्य पत्ता लगाउने मेसिन (पोलिग्राफ) परीक्षण गर्न लागिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सेनाद्वारा कुटपिटपश्चात् राप्ती नगरपालिका–२ का राजकुमार चेपाङको साउन ८ गते मृत्यु भएको थियो । मृतक राजकुमारको घर राप्ती–२, सूर्यमुखी टोलमा पर्छ । उनका आमा, बुबा, श्रीमती र छोरा छन् ।
मानवअधिकारकर्मीको अनुगमन टोलीले सेनाकै कुटाइबाट राजकुमारको मृत्यु भएको, आर्थिक अभावले समयमै उनको उपचार हुन नसकेको र भरतपुर अस्पतालका चिकित्सकहरुले अन्य घाइते पीडितहरुको स्वास्थ्य जाँचमा लापर्बाही गरेको निष्कर्ष निकालेको छ ।

यस्तै, घटनामा दोषी देखिएकाहरुलाई नियमित प्रणालीबाटै कानुनी कारबाही गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा दिइएको छ ।
पीडितहरुका अनुसार सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिलाबाहेक पाँच जना पुरूषहरुलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलाहरुलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको थियो । साउन १ गते यातना पाएपछि घर फर्किने बेलामा नै राजकुमार हिँड्न नसक्ने भएपछि दुई जनाले सहारा दिएर घर पु¥याएको पीडित सन्तोष तामाङले बताए ।

राप्ती नगरपालिका–२, मिलनटोलका २३ वर्षीय पूर्ण चेपाङ, ३२ वर्षीय सन्तलाल प्रजा, ३२ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय गोपीराम प्रजामाथि कुटपिट भएको थियो । साथमा दुई जना महिलासमेत रहेकामा उनीहरुलाई शारीरिक यातना नदिएको बताइएको छ ।

 

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया