प्राकृतिक विपद् र महामारीमा सुरक्षाकर्मीको भूमिका

अन‌ि यो पनि

सबैलाई चाहिने तर सबैबाट हेपिएको नाम हो ‘सुरक्षाकर्मी’ । जब जब समस्या आइलाग्छ तब तब सुरक्षाकर्मीलाई सम्बोधन नगर्ने मान्छे सायद यो देशमा कोही होला ! राज्य सञ्चालन गर्ने क्रममा सरकारको प्रतिनिधित्व गर्ने दृष्टिकोणबाट भनौँ कि अन्य समुदायस्तरबाट भनौँ, प्रहरीको उपस्थिति नहुने ठाउँ बिरलै मात्रामा पाइन्छ । अहिले विश्व मानव समुदाय कोरोना भाइरस (कोभिड–१९) को भयावह परिस्थितिबाट त्रसित भएको छ । हाम्रो देश पनि यसबाट अछूतो रहन सकेन । नेपालमा सयौँले यसै महामारीका कारण आफ्नो ज्यान गुमाए । हजारौँ आज पनि रोगसँग लडिरहेका छन् । यस्तो भयावह अवस्थामा आफ्नो घरपरिवार र जीवनरक्षाको कुनै पनि पर्वाह नगरी देश, समाज र नागरिकको जीवनरक्षाका लागि अहोरात्र खटिरहने सुरक्षाकर्मीको जीवन हेर्ने हो भने आफैँमा एक कथा बनिसकेको पाइन्छ । र, स्वास्थ्यकर्मीको जीवनशैली पनि एक कथा बनिसकेको छ ।
अहिले पनि देशमा कतिपय ठाउँमा लकडाउन छ । कतिपय ठाउँहरुमा त निषेधाज्ञा नै लागू भएको छ । निषेधाज्ञा कार्यान्वयनदेखि लकडाउन कार्यान्वयन, सरकारको नीति निर्देशनको कार्यान्वयनदेखि कानुनको कार्यान्वयनसम्म मह¤वपूर्ण भूमिका खेल्ने तथा जिम्मेवारी वहन गर्ने काम सुरक्षाकर्मीले मात्र गर्दछन् । यतिमात्रै होइन, देश र हामी नागरिकलाई परेका बेला आफ्नो प्राणको कुनै वास्ता नगरी र आफ्नो परिवार, श्रीमती, छोराछोरी कोही केही पनि नभनी देश र जनताका लागि खटिने सुरक्षाकर्मीहरुको दिनचर्या हेर्ने हो भने झनै दुःखदायी छ । आरामदायी जीवन बिताउनु त टाढाकै कुरा हो, सुखसाथ एक छाक खाना खानसमेत सुरक्षाकर्मीलाई धेरै गाह्रो परेको हुन्छ ।
हामी सडकमा दस मिनेटमात्रै गाडीका लागि कुर्नु परेमा आफ्नो दिन नै बितेको अनुभव गरेर कालो अनुहार लगाउँछौँ, तर दिनभर त्यही सडकको धूलो र गाडीको धूवाँसँगै चोकका भित्ताहरुलाई साथी बनाउँदै जीवन गुजारिरहेका सुरक्षाकर्मीहरुको दैनिकी जीवन र दिनचर्याका बारेमा सोचविचार गर्ने हो भने सायद सुरक्षाकर्मीको यथार्थ पीडालाई बाहिर ल्याउन सक्ने मानिस कमै होलान् भन्ने लाग्दछ । देश र जनताका लागि खटिने ती सुरक्षाकर्मीहरुका बारेमा जति वर्णन र सम्मान गरे पनि कमै हुने मैले सोचेकी छु ।
प्रसंग हालैको मच्छिन्द्रनाथको जात्रातर्फ पनि केही शब्द लेख्न खोजेकी छु । नेपाल धार्मिक देश हो । हाम्रो देशलाई विश्व मानव समुदायमा चिनाउने प्रमुख आधार भनेको हाम्रो देशको रीतिरिवाज, चालचलन, भेषभूषा, रहनसहन नै हो । धर्म–संस्कृति मान्ने, आफ्नो रीतिरिवाज, चालचलन जोगाउने कार्यमा सबैले लाग्नु आजको आवश्यकता हो । कोरोना कालमा भीडभाड गर्न, तडकभडक गर्न, हिँड्डुल गर्न, व्यापार व्यवसाय, होटलहरु सञ्चालन गर्नमा पूर्ण प्रतिबन्ध लगाइएको हुन्छ । हजारौँ मानिसहरु एकै ठाँउमा एकत्रित हुन यस्तो अवस्थामा पाइँदैन, तर हालैको मच्छिन्द्रनाथको रथ तान्ने क्रममा हजारौँहजारको भीड देखियो । प्रहरीले यस्तो अवस्थामा भीडभाड गर्नु कानुनविपरीत हो, त्यसैले कोही कसैले पनि भीड नगरी सबैलाई तितरवितर हुन अनुरोध ग¥यो । कतिपय मानिसहरुले प्रहरीको कुरा सहजै मानेर आफ्नो बाटोतर्फ फर्किए भने धेरै मानिसहरुले उल्टै प्रहरीमाथि ढुङ्गामुढा र इँटा प्रहार गरे जसबाट धेरै जना घाइते पनि भए । उनै नागरिकको भलाइका लागि रोग र महामारीसँग लड्दै सुरक्षामा खटिएका प्रहरीमाथि यसरी प्रहार गर्नु कतिसम्मको जायज हो ? यो कुरा तिनै मानवका नाममा मानवता नभएका मानिसहरुलाई थाहा होला । अर्को कुरा, ती मानव भनिएका मानवहरुले पनि रातदिन प्रहरीकै सहयोग लिइरहेका होलान् । तिनै नागरिकका लागि त प्रहरी भीडमा खटिएको थियो, यो कुरा ती नागरिकहरुले कहिले बुझ्लान् ! एकातिरको समस्या यस्तो छ भने अर्कातिर रोग र महामारीसँग लडिरहेका स्वास्थ्यकर्मीको अवस्था पनि उस्तै छ । रातदिन उपचारमा खटिँदा साँझपख आफ्नो कोठामा फर्कँदा घरभेटीको क्रूर र अमानवीय व्यवहारको सिकार बन्न हजारौँ स्वास्थ्यकर्मी पुगेका छन् ।
यसरी आफ्नै लागि खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग नागरिकले अमानवीय व्यवहार गरी कानुन र नियमको पालना नगर्ने हो भने देशमा कानुन बनाइराख्नु र अधिकार खोज्नु जरूरी नै छैन । आफूलाई जुनसुकै किसिमको समस्या पर्दा पनि प्रहरीलाई सम्बोधन गर्ने हामी नागरिकले प्रहरीको सम्मान गर्न सकेनौँ र जानेनौँ भने हामी आमनागरिकलाई नै हानि हुने मेरो विचार छ । जस्तैः समाजमा घट्ने आपराधिक घटना, बाढीपहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोप, कोरोना भाइरस (कोभिड–१९) जस्ता महामारीदेखि लिएर जुनसुकै समस्या पर्दा पनि हामी प्रहरीलाई नै बोलाउने र प्रहरीसँग नै गुहार माग्ने गर्दछौँ । यदि प्रहरीलाई सम्मान गर्नुपर्ने ठाउँमा ललितपुरको जस्तै गरी निर्घातरुपले प्रहरी कर्मचारीमाथि अमानवीय व्यवहार देखाउँदै नागरिक असंयमित हुँदै जाने हो भने यो आमनागरिकका लागि नै नोक्सानीको विषय बन्नेछ ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया