मानव त्रुटिका कारण बाघको आक्रमण, साउनयता तीन जनाको गयो ज्यान

अन‌ि यो पनि

भरतपुर । चितवनमा बाघको आक्रमणबाट सोमबार एक जनाको मृत्यु भयो । चितवन निकुञ्जका अनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरी हुन् ।

चितवनमा बाघको आक्रमणबाट गत शनिबार एक पुरूषको मृत्यु भएको थियो । भदौ २२ गते पनि पश्चिम चितवनको मध्यवर्ती सामुदायिक वनमा एक जनाको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जले यही आर्थिक वर्ष सुरू भएको साढे दुई महिना पूरा नहुँदै बाघको आक्रमणबाट तीन जनाको मृत्यु भएको जनाएको छ । निकुञ्जका सूचना अधिकारी अशोक रामले सोमबार बाघले स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र बबना चौधरीमाथि आक्रमण गरेको हो ।
घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको जनाइएको छ । ‘जरायो मारेर सिकार गरिरहेको अवस्थामा उनी घाँस काट्न त्यहाँ पुगे, बाघको सामुन्ने परे’, सूचना अधिकारी रामले भने, ‘बाघले आफूमाथि आक्रमण गर्न आएको सोचेर मानिसमाथि आक्रमण गर्न पुग्यो ।’ उनका अनुसार आक्रमण गर्ने बाघ नरभक्षी होइन ।

बिहान १०ः२५ बजेको समयमा घटना भएको सूचना प्राप्त भएपछि सो क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो । निकुञ्जका प्रमुख अणनाथ बरालका अनुसार बाघलाई निगरानीमा राखिएको छ । मृतकको शव घटनास्थलनजिकै फेला परेको प्रहरीले जनाएको छ ।
गत शनिबार पश्चिम चितवनस्थित भरतपुर–१३ मा रहेको सामुदायिक वनभित्र घाँस काट्न जाँदा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । आक्रमण गर्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लिएर कसरामा राखेको छ । ‘भरतपुर–१३ को सामुदायिक वनभित्र आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिएका छौँ’, निकुञ्ज प्रमुख बरालले भने ।

प्रहरीका अनुसार वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका–१३ का ६३ वर्षीय जन्हु महतोको बाघको आक्रमणबाट शनिबार बिहान मृत्यु भएको हो ।

भरतपुर–१३ को स्थानीय बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका चौधरीलाई बाघले आक्रमण गरेको थियो । बाघलाई डार्ट गरेर शव नियन्त्रणमा लिइएको हो ।

यसअघि भदौ २२ गते पश्चिम चितवनको बाटुलेपोखरी मध्यवर्ती सामुदायिक वनमा एक जनाको बाघको आक्रमणबाट नै मृत्यु भएको निकुञ्जले जनाएको छ ।

‘यो आर्थिक वर्षमा बाघको आक्रमणबाट तीन जनाको मृत्यु भएको हो’, सूचना अधिकारी अशोक रामले भने, ‘तीनवटा घटना सामुदायिक वनभित्र भएको हो, मानिस वन क्षेत्रमा प्रवेश गर्दा नै बाघको आक्रमण भएको देखिन्छ ।’

निकुञ्जका प्रमुख अणनाथ बरालले मानिसहरु वन क्षेत्रमा पस्नाले नै बाघले आक्रमण गरेको बताउँछन् । उनी भन्छन्, ‘बाघ बस्तीमा प्रवेश गरेको छैन, मानिस जंगलमा प्रवेश गरे, बाघसँग जम्काभेट भयो र आक्रमणमा परे ।’

उनका अनुसार यो आर्थिक वर्षमा बाघको आक्रमण भएको तीनवटा घटना मानिसको कमजोरीका कारण भएको देखिन्छ ।

उनले भने, ‘घाँसदाउरा गर्न मानिस एक्लै वन क्षेत्रमा प्रवेश गरिरहेका छन्, मानिस एक्लै वन क्षेत्रमा जान भएन, बाघको बासस्थानमा सतर्क हुनुप¥यो । बाघ बसेको कुनै शङ्का लाग्नासाथ त्यो ठाउँ छोडेर अन्यत्र जानुप¥यो ।’ उनका अनुसार सबैभन्दा पहिला सावधानी मानिसहरुबाट हुनुप¥यो ।
बाघ विज्ञ डा.झमक कार्कीका अनुसार कुनै सिकार गरिरहेको अवस्थामा कसैलाई देखेमा बाघले आक्रमण गर्छ । त्यस्तै, बच्चासँग बसेको बघिनीले पनि आक्रमण गरेको पाइन्छ । आफूमाथि आक्रमण गर्न खोजेको अनुभव बाघले पाएमा पनि आक्रमण गर्छ । सिकार गर्न नसक्ने बूढो बाघले पनि मानिसमाथि आक्रमण गरेको पाइन्छ ।

प्रतिकृया

मुख्य समाचार

बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिन माग

रत्ननगर । सोमबार जंगलमा निउरो टिन गएकी रत्ननगर-५ मगरटोलकी गीता अधिकारीको बाघको आक्रमणबाट निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया