चितवनमा ५० वर्ष नाघेका दीर्घरोगीहरु बढी जोखिममा

अन‌ि यो पनि

भरतपुर । चितवनमा ५० वर्ष नाघेका दीर्घरोगीहरु कोरोनाको बढी जोखिममा रहेको पाइएको छ । ५० वर्षभन्दा कम उमेरका धेरै व्यक्तिहरुमा कोरोनाको सङ्क्रमण देखिए पनि मृत्यु हुनेहरुमा ५० वर्ष नाघेका एवम् दीर्घरोगी व्यक्तिहरु नै बढी छन् ।

स्वास्थ्य कार्यालयले गएको शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार ५० वर्षमुनिका सङ्क्रमितको संख्या एक हजार ४६४ छ भने ५० वर्ष नाघेका सङ्क्रमितको संख्या जम्मा २६८ रहेको छ । हिजो (सोमबार)सम्म चितवनका मात्रै १९ जना सङ्क्रमितको मृत्यु भएको छ, जसमध्ये ५० वर्ष नाघेका व्यक्तिहरुको संख्या १४ रहेको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार मृत्यु हुनेहरुमा ५१ देखि ६० वर्ष उमेर समूहका पाँच जना, ६१ देखि ७० वर्ष उमेर समूहका पाँच जना, ७१ देखि ८० वर्ष उमेर समूहका दुई जना र ८१ वर्षभन्दामाथि उमेर भएका दुई जना व्यक्ति छन् । त्यस्तै, ५० वर्षमुनिका जम्मा पाँच जना रहेका छन् । तथ्याङ्कलाई विश्लेषण गर्दा ७३.६८ प्रतिशत मृतक सङ्क्रमितहरु ५० वर्ष नाघेका व्यक्ति हुन् ।

कोरोना सङ्क्रमणको जोखिममा सबैभन्दा धेरै दीर्घरोगीहरु नै रहेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकाल बताउँछिन् । ‘उमेर भइसकेका र दीर्घरोगीहरुमा बढी जोखिम छ’, उनले भनिन्, ‘६० वर्ष कटेकाहरुमा रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ । स्वास्थ्यवद्र्धक खाना पनि खानुहुन्न, त्यसकारण त्यस्ता व्यक्तिहरुमा जोखिम धेरै हुने हो ।’ दीर्घरोग भएका भरतपुर–७ का ५५ वर्षीय एक पुरूषको पनि सोमबारमात्रै मृत्यु भएको छ ।

६० वर्ष नाघेका व्यक्तिमा रोगप्रतिरोधी क्षमता कम हुने र दीर्घरोग पनि भएकाहरु अझ उच्च जोखिममा हुने उनले बताइन् । ‘दीर्घरोग भएका लगभग सबै सङ्क्रमितमा जोखिम छ’, उनले भनिन् । प्रतिवेदनअनुसार ५० वर्षमुनिका सङ्क्रमितहरुको मृत्युदर ०.३४ प्रतिशत छ भने ५० वर्ष नाघेका सङ्क्रमितहरुको मृत्युदर ४.८ प्रतिशत देखिन्छ । मृत्यु हुने सङ्क्रमितहरुमध्ये ९० प्रतिशतभन्दा बढीमा कुनै न कुनै दीर्घरोग रहेको देखिएको अस्पतालहरुले बताएका छन् ।

एक महिनाअगाडिसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या जम्मा तीन थियो । तीन जना नै ६० वर्ष नाघेका व्यक्ति थिए भने तीनैजनामा दीर्घरोगसमेत थियो । पछिल्लो एक महिनामा मात्रै चितवनका १६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । यो अवधिमा ५० वर्ष नाघेका ११ जनाको मृत्यु भयो भने ५० वर्षमुनिका ५ सङ्क्रमितको मृत्यु भयो ।

विसं २०६८ को जनगणनाअनुसार चितवनमा कुल पाँच लाख ७९ हजार ९८४ जनसंख्या रहेको छ । ५० वर्ष नाघेका मानिसहरुको संख्या ७६ हजार १०३ छ भने ५० वर्षमुनिको जनसंख्या पाँच लाख तीन हजार ८८१ रहेको छ । जनसंख्याअनुसार अहिले जिल्लामा नयाँ सङ्क्रमण दर ०.३१ प्रतिशत छ । ५० वर्ष नाघेका मानिसको जनसंख्याअनुसार कोरोना सङ्क्रमण दर ०.३५ प्रतिशत र मृत्युदर ०.०१ प्रतिशत छ । सोमबारसम्म चितवनमा सङ्क्रमितको संख्या एक हजार ८२५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि ६० वर्ष नाघेका र रक्तचाप, मधुमेह, क्यान्सर र मिर्गाैलालगायतका दीर्घरोग भएका व्यक्तिहरुलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । चितवनलगायत चारवटा जिल्लामा सङ्क्रमितको संख्या उच्च रहेकाले यस समूहका व्यक्तिलाई घरबाहिर ननिस्कन र अत्यावश्यक परेर निस्कन परे अनिवार्य मास्कको प्रयोग गर्न मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनुरोध गरेका हुन् । त्यस्तै, व्यक्तिहरुबीच कम्तीमा दुई मिटरको दूरी अनिवार्य कायम राख्न र कामबाट फर्केपछि साबुनपानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न सुझाइएको छ ।

 

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया