दुई महिनामा बलात्कारका २१ मुद्दा, १९ जना पक्राउ, दुई फरार

अन‌ि यो पनि

भरतपुर । चितवनमा आर्थिक वर्ष ०७७/७८ को दुई महिनामा नै जबर्जस्ती करणी (बलात्कार)का २१ वटा मुद्दा दर्ता भएका छन् । बलात्कारका घटनाबाट २२ जना पीडित बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बलात्कार मुद्दामा १९ जनालाई पक्राउ गरिएको र दुई जना फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए ।

प्रहरीको तथ्याङ्कअनुसार बलात्कारबाट साउनमा १४ जना र भदौमा ८ जना पीडित भएका छन् । सबैभन्दा बढी १६ वर्षमुनिका १५ जना पीडित बनेका छन् । १६ देखि २५ वर्ष उमेर समूहका तीन जना, २६ देखि ३५ वर्ष उमेर समूहका दुई जना र ६० वर्षमाथिका दुई जना पीडित छन् । गत आव ०७६/७७ मा बलात्कारका ५१ वटा मुद्दा दर्ता भएका थिए ।

गत आव ०७६/७७ को दुई महिनामा सरदर बलात्कारका नौवटा मुद्दा दर्ता भएका थिए । यस आवको सुरूकै दुई महिनामा बलात्कारका २१ मुद्दा दर्ता हुनाले यो वर्ष बलात्कारका घटना बढ्न सक्ने संकेत देखिएको छ ।

यस आवको दुई महिनामा जबर्जस्ती करणी उद्योगका दुईवटा मुद्दा दर्ता भएका छन् । यस मुद्दामा दुई जना प्रतिवादी पक्राउ परेको थापाले जानकारी दिए । त्यस्तै, बालयौन दुरूपयोगको मुद्दामा एक जनालाई पक्राउ गरिएको उनले बताए ।
यौनजन्य अपराधको ग्राफ उकालो

चितवनमा यौनजन्य अपराधको ग्राफ हरेक वर्ष उकालो लाग्दै आएको छ । गत आव ०७६/७७ मा जिल्लामा ८४ वटा यौनजन्य अपराधका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गत आवमा ८४ वटा यौनजन्य अपराधका मुद्दा दर्ता भएकोमा जबर्जस्ती करणी (बलात्कार)का मात्रै ५१ वटा मुद्दा थिए । त्यस्तै, जबर्जस्ती करणी उद्योगका २५ वटा र बालयौन दुरूपयोग एवम् अप्राकृतिक मैथुनका ८ वटा मुद्दा दर्ता भएका थिए । ८४ वटा यौनजन्य अपराधका मुद्दामा १०१ जना पीडक थिए ।

अघिल्लो आव ०७५/७६ मा ७१ वटा र ०७४/७५ मा ८२ वटा यौनजन्य अपराधका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । ०७५/७६ मा पनि बलात्कारका ५१ वटा मुद्दा थिए भने ०७४/७५ मा ५५ वटा मुद्दा दर्ता भएका थिए ।

गत आव ०७६/७७ मा भएको यौनजन्य अपराधको विश्लेषण गर्दा सबैभन्दा धेरै ४५ प्रतिशत घटना ललाइफकाइ वा प्रेमविवाह गर्ने बहाना बनाएर भएका छन् । डर, धाकधम्की र त्रास देखाएर २४ प्रतिशत, आर्थिक प्रलोभनमा पारेर १३ प्रतिशत र शारीरिक बल प्रयोग गरी १८ प्रतिशत घटना भएका छन् ।

यौनजन्य घटनाहरु चिनेजानेकै व्यक्तिहरुबाट बढी हुने गरेको प्रहरीको विश्लेषण छ । गत आवको तथ्याङ्कअनुसार ९२ प्रतिशत यौनजन्य अपराध चिनेजानेका व्यक्तिबाट भएको छ । अपराधमा पीडित र पीडकको सम्बन्धबारे विश्लेषण गर्दा ५५ जना साथीभाइ, ३२ जना छिमेकी, १० जना नाता सम्बन्ध पर्ने र चार जना अपरिचित व्यक्ति रहेको खुलेको छ ।

यौनजन्य अपराधमा ४४.५६ प्रतिशत पीडक १८ देखि २५ वर्ष उमेर समूहका छन् । १०१ जना पीडकमध्ये १८ देखि २५ वर्ष उमेर समूहका सबैभन्दा धेरै ४५ जना रहेका छन् । त्यस्तै, १८ वर्षमुनिका पाँच जना, २५ देखि ३५ वर्ष उमेर समूहका २७ जना, ३५ देखि ४५ वर्ष उमेर समूहका सात जना, ४५ देखि ६० वर्ष उमेर समूहका १३ जना र ६० वर्षमाथिका चार जना पीडक देखिन्छन् ।

 

 

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया