मेघौलीमा पर्यटकको चहलपहल

अन‌ि यो पनि

मेघौली । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको जोखिम नेपालमा समेत बढेपछि गत चैतदेखि बन्द भएको चितवन राष्ट्रिय निकुञ्ज खुलेसँगै पर्यटनकै मुख्य सम्भावना बोकेको मेघौलीमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । महामारी नसकिए पनि आर्थिक गतिविधिलाई चलायमान गराउन र अवस्थालाई बिस्तारै सहज बनाउन सरकारले बन्दाबन्दी खुकुलो बनाएपछि असोज ७ गतेदेखि निकुञ्ज खुलेको हो ।

निकुञ्ज खुलेसँगै पर्यापर्यटनलाई आम्दानीको मुख्य स्रोत बनाएका मध्यवर्ती सामुदायिक वनमा पर्यटकका लागि हात्ती सफारी र डुङ्गा सयर खुल्ला गरिएको चितवन राष्ट्रिय निकुञ्ज मेघौली मध्यवर्ती उपभोक्ता समितिका सचिव पवन चापागाईंले बताए । निकुञ्जमा पैदलयात्रा (जंगल वाक) पनि खोलिएको छ । छिट्टै बाटो मर्मत गरेर जिप सफारीको अनुमति दिने उनले जानकारी दिए ।

निकुञ्जमा जिप सफारीसँगै जंगल पैदल, चरा अवलोकन, डुङ्गा सयरलगायतका गतिविधि हुँदै आएको छ । स्वास्थ्य मापदण्ड पालना गरेर मौसमलाई हेरेर निकुञ्ज खुल्ला भएको उनले बताए । विगत ६ महिनादेखि बन्द अवस्थामा रहेका होटलमा खासै पर्यटक आइनसकेको भए पनि फाट्टफुट्ट आन्तरिक पर्यटक आउन थालेको र भरतपुर एयरपोर्टमा आन्तरिक उडान र निकुञ्जका गतिविधि सुरू हुन थालेपछि मेघौली सल्बलाएको उनले बताए । ठाउँठाउँबाट आन्तरिक पर्यटकहरु आउन थालेपछि दसैँअगाडिसम्ममा त पर्यटकको राम्रो चहलपहल हुने उनको अनुमान छ । घरमा बस्दाबस्दा दिक्क भएका र काम विशेषले मेघौली आउने गरेको उनको भनाइ छ । उनले भने, ‘क्रमशः पर्यटकको संख्या बढ्दै जान्छ भन्नेमा हामी विस्वस्त छौँ ।’

‘अब वन्यजन्तु हेर्न नपाएर पर्यटक निराश भएर फर्किन पर्दैन’, मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिश्चन्द्र महतोले भने, ‘निकुञ्जभन्दा बाहिर जिप सफारी र वन्यजन्तु हेर्नका लागि हात्ती सफारी तथा डुङ्गा सयर खुला भएका छन् ।’ मास्क र स्यानिटाइजरको प्रयोगसहित परिवारसँगै आएका पर्यटकलाई एउटा हात्तीमा चार जना र छुट्टाछुट्टै आएका पर्यटक भए एउटा हात्तीमा दुई जनामात्रै चढाइने उनले बताए । डुङ्गा सयरको हकमा सामाजिक दूरी कायम गरेर पर्यटकलाई बस्ने व्यवस्था मिलाइएको छ ।

सहज अवस्थामा वार्षिक करिब २ लाख पर्यटक निकुञ्ज घुम्न आउने गरेका थिए । निकुञ्जमा पर्यटकीय गतिविधि सुरू भएको सन्देश पाएपछि पर्यटक भित्रन सुरू हुने अध्यक्ष महतोको बुझाइ छ । तत्काल बाह्य पर्यटक आउने सम्भावना नरहे पनि आन्तरिक पर्यटक आउनेमा निश्चिन्त रहेको उनले बताए ।

‘मेघौलीको मुख्य सम्भावना पर्यटन नै हो’, उनले भने, ‘राप्ती र नारायणी नदीको किनारमा रहेको मेघौली कला–संस्कृति र पर्यटकीय गतिविधिका रुपमा अग्रस्थानमा छ ।’ सूर्यास्त हेर्न, चितवन राष्ट्रिय निकुञ्जमा रहेका जनावर अवलोकन गर्न मेघौलीमा पर्यटक पुग्ने गर्छन् । यहाँको रमणीय वातावरण, संस्कृतिमा पर्यटक रमाउँछन् ।

चितवनमा पहिलोपटक स्थापना भएको थारु सामुदायिक होमस्टेमा समेत पर्यटक चहलपहल बढेको थारु सामुदायिक होमस्टेका अध्यक्ष सोमलाल महतोले बताए । मेघौलीमा हाल १० वटा होमस्टे सञ्चालनमा छन्, जसमा ८० जनालाई एकैसाथ राख्न सक्ने क्षमता छ । मेघौलीमा छिट्टै कुमाल समुदायका होमस्टे सञ्चालनमा ल्याइने भएको छ । सस्तो र पारिवारिक वातावरण हुने भएकाले पनि होमस्टेमा पर्यटक बढी पुग्ने गर्छन् ।

मेघौलीमा ३२ वटा साना–ठूला होटल सञ्चालनमा छन् । मेघौली सेराई, बाराही होटल, गोलाघाट वाइल्ड लाइफ रिसोर्ट, होटल सारङ्गाजस्ता ठूलो लगानीमा सुविधासम्पन्न रिसोर्ट तथा होटल सञ्चालनमा छन् । अधिकांश पर्यटक हात्ती सफारी, डुङ्गा सफारी, जंगल वाक, भिलेज वाक, वाइल्ड लाइफसम्बन्धी जानकारी, थारु डान्स हेर्न, चरा अवलोकन गर्न मेघौली उपयुक्त गन्तव्य मानिन्छ ।

मेघौली भरतपुरदेखि झन्डै २५ किमीको दूरीमा पर्छ । मेघौली, पटिहानी, जगतपुर, माडीमा पर्यटन गतिविधि उकालो लाग्न थाले पनि स्थानीय सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा पर्यटनले फड्को मार्न सकेको पाइँदैन ।

प्रतिकृया

मुख्य समाचार

बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिन माग

रत्ननगर । सोमबार जंगलमा निउरो टिन गएकी रत्ननगर-५ मगरटोलकी गीता अधिकारीको बाघको आक्रमणबाट निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया