सौराहा । नाइजेरियन खेलाडी एल्बिजको उत्कृष्ट प्रदर्शन मद्दतले स्टार स्पोर्ट्स क्लब गर्दी माडी सौराहामा जारी प्रथम गैंडाकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । १० नम्बर जर्सीका एल्बिजले २ गोल गरेपछि स्टार स्पोटर््स नारायणगढ फुटबल क्लब (एनएफसी)लाई ३–० ले पराजित गर्न सफल भएको हो ।
शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा एनएफसीलाई हराएपछि अब उपाधिका लागि स्टार स्पोर्ट्सले आगामी जेठ ५ गते आयोजक सौराहा युवा समाजको सामना गर्नेछ । स्टार स्पोर्ट्सका लागि एल्बिजले पहिलो हाफको २७ र दोस्रो हाफको ११ औं मिनेटमा गोल हाने । अर्को एक गोल भने दोस्रो हाफको २८ औं मिनेटमा १५ नम्बर जर्सीका कन्हैया गुरुङले गरे । एल्बिज खेलको ‘म्यान अफ दी म्याच’ बने ।
१ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार राशिका लागि अब विदेशी खेलाडीको बाहुल्यता रहेको माडी र काठमाडौंमा विभिन्न स्तरका लिग खेलेका खेलाडीले भरिपूर्ण सौराहाले ५ गते अपराह्न प्रतिस्पर्धा गर्नेछन् । दोस्रोलाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार दिइने छ ।
यसैबीच कुनैपनि खेल नभएको बेला पारेर खेल मैदान बाघमारा सामुदायिक वनको चौरमा आइतबार क्षेत्रीय होटल संघ (हान) सौराहा र रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) सौराहाबीच मैत्रीपूर्ण फुटबल खेलाउन लागिएको छ । आइतबार अपराह्न होटल तथा रेष्टुरेन्ट एवम् बार व्यवसायी मैदान ओर्लन लागेको आयोजक सौराहा युवा समाजका सचिव ईश्वर रानाले जानकारी दिए ।
Discussion about this post