एक अनुत्तरित प्रश्न (लघु कथा)

अन‌ि यो पनि

त्यतिबेला सायद १०–१२ वर्षको हुँदो हुँ म । स्कुलबाट घर फर्कने क्रममा मेरो अघिल्तिर हातमा गह्रौँ जस्तो लाग्ने केही सामानहरु प्लास्टिकको झोलामा बोकी हिँड्दै गरेका एक जना बाजेलाई देखेँ ।
‘बाजे, हजुरलाई झोला गह्रौँ भयो जस्तो छ । एक–दुइटा झोला म बोकिदिऊँ ?’
मेरो बोली सुन्नेबित्तिकै उनी फरक्क पछाडि फर्किए ।
‘तिमी को हौ र बाबु ? कसका छोरा हौ ? स्कुलबाट आएका जस्ता देखिन्छौ । घर कहाँ हो तिम्रो ?’
‘सायद हजुरले मलाई चिन्नुहुन्न । उ त्यो रातो रङ लगाएको घर छ नि, हो त्यही घरमा काम गर्छु म । २–३ महिनाजति भयो ।’
‘ए, उमेश बाबुको घरमा ?’
‘हजुर !’
‘मैले प्रायः हजुरले कौसीमा परेवालाई चारो हालिराख्नुभएको देख्छु । हाम्रो घरमा पनि थुप्रै परेवाहरु आउँछन् चारो टिप्न । हामीलाई त आमाले परेवा आयो भने धपा है बिस्कुन खान्छ भन्नुहुन्थ्यो । तर, हजुरचाहिँ बोलाई बोलाई परेवालाई चारो खुवाउनुहुँदो रै’छ ।’
यसरी गफिँदै जाने क्रममा हामी कति छिटो बाजेका घर आइपुगेछौँ, पत्तै पाइनँ मैले त ।
ठूलो घर । बैठक कोठाका भित्ताहरुमा ठूला–ठूला फोटाहरु सजाइएका । सायद, बाजेका परिवारका फोटाहरु हुन सक्छन् (मेरो अड्कल) । अनि घरको सजावट देख्दा सम्पन्न र हुनेखाने परिवारजस्तो लाग्यो मलाई ।
‘हजुरका छोराछोरी अनि हजुरआमा खै त नि हजुरबा ? सधैँ हजुरलाई एक्लै देख्छु म त !’
‘हजुरआमाले मलाई छाडेर देउताको घर गएको धेरै साल भयो बाबु । छोराछोरी सबै विदेशतिर छन् । उतै पढ्छन् । उतै काम गर्छन् ।’
‘ए, म जस्तै ?’
सायद, मैले यसो भन्न नहुने पो थियो कि ? हेक्का भएन त्यो बालापनको बेला ।
बाजे एकछिन टोलाए अनि निन्याउरो मुख बनाउँदै भने :
‘अँ, हो बाबु !’
‘म हजुरका लागि चिया बनाइदिऊँ ? मीठो पकाउँछु ।’
‘तिमीलाई कसले सिकायो चिया बनाउन ?’
‘हामी त गरिब मान्छे रे ! त्यै माथि म त झन् घरको जेठोबाठो छोरा । ममुनि चार जना भाइबहिनीहरु छन् । बाआमाले हामी सबैलाई पढाउन सक्नुहुन्न । भाइबहिनीहरु सानै छन् । म त अर्काको घरमा काम गर्न सक्ने भइसकेँ रे ! त्यसैले, यहाँ आउने कुरा भएपछि आमाले सिकाउनुभएको चिया बनाउन !’
‘ए, त्यसोभए तिम्रो घरमा काम होला नि त, भै’गो जाऊ । अहिले म आफैँ बनाएर पिऊँला, तिमीलाई के दुःख दिनु, यति सानो बालखालाई !’
‘अहिले घरमा कोही छैनन् । दाइ–भाउजू (मेरा मालिक–मालिक्नी) साँझ ६ः०० बजेतिरमात्रै आउनुहुन्छ अफिसबाट । म यतिबेला स्कुलबाट फर्केपछि एकछिन एक्लै हुन्छु ।’
‘ए, हो ? ल त त्यसो भए हामी दुवैजनालाई चिया बनाएर ल्याऊ जाऊ ।’
मैले चिया बनाएर ल्याइसकेपछि कौसीमा बसेर हामी दुवैजना चिया पिउन थाल्यौँ ।
चिया पिउँदै मैले भनेँ :
‘हाम्रा बाले त झूट बोल्नु भा रै’छ ।’
‘के झूट बोल्नुभो र तिम्रो बाले ?’ बाजेले सोध्नुभो ।
मलाई आफ्नो गाउँ, साथीभाइ, बाआमा, भाइबहिनी छाडेर यहाँ आउन मनै थिएन बाजे । जान्नँ भनेर कत्ति रोएँ, तर…।
‘हामी गरिबले यसो गर्छु, त्यसो गर्दिनँ ! यहाँ जान्छु, त्यहाँ जान्नँ ! भन्न कहाँ पाइन्छ र ? के गर्नु गरिबको कोखमा जन्म लिइस् ! हिँड् बाबु हिँड्, मैले तँलाई राम्ररी पढाउन पनि सक्दिनँ । हेर त, तँमुनि पनि चार–चार जना भाइबहिनी छन् । यिनलाई पनि हुर्काउनै प¥यो । दुई–चार अक्षर यिनीहरुलाई पनि सिकाउनै प¥यो । आफूसँग पैसा भइदिएको भए आफ्नै मुटुको टुक्रालाई किन हामीबाट छुट्टयाएर अर्काको घर काम गर्न पठाउँथ्यौँ र बाबै’ भन्दै बाले सम्झाउनुभयो र यहाँ काम गर्न भनी मलाई छोडी घर फर्किनुभयो ।
बाले भन्नुभएका यी कुराहरु बाजेलाई सुनाउँदै गर्दा भित्रभित्रै मन साह्रै कुँडिनुका साथसाथै परेलीका बाँधहरु पनि फुटौँलाझैँ गर्दैथे मेरा । बाजेले चाल पाउनुअगावै आफ्ना दुई परेलीहरु कमिजको सहायताले ओभानो बनाएँ ।
केही समयपश्चात् आफूलाई सम्हाल्दै बाजेलाई फेरि प्रश्न गरेँ ः
‘बाजे, हजुर त गरिब हुनुहुन्न । धेरै पैसा छ हजुरसँग, तर पनि हजुरका छोराछोरी किन अन्त काम गर्न जानुभाको ? अनि, के भनेर सम्झाउनुभो त आफ्ना छोराछोरीलाई जाने बेलामा ?’
अहँ, बोलेनन् बाजे । उनी स्तब्ध बने । सायद, उनीसँग यसको उत्तर थिएन होला । उनी अनुत्तरित नै बने ।
‘साँझ पर्नै आँट्यो । अफिसबाट दाइ–भाउजू आउने बेला पनि भयो । बाजे म जान्छु ल ।’
‘ल ल बाबु, जाऊ । यसो फुर्सद मिल्यो भने आऊ न है, मलाई पनि मुख बोल्ने बाटो हुन्छ ।’
‘हस्, हुन्छ’ भन्दै म त्यहाँबाट आफ्नो घरतिर लागेँ ।
आज पनि मेरो मनले आफैँलाई प्रश्न गर्ने गर्छ–
‘त्यस्तो बालापनमा पनि कस्तो त्यो ‘एउटा अनुत्तरित प्रश्न’ गरेछु मैले बाजेलाई ?’

[email protected]

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया