– डा. डीबी सिंह
आज नेपालमा कम्युनिस्टहरुको पक्षमा ६९ प्रतिशतभन्दा बढी जनताहरु छन् भन्ने सुनिन्छ । तिनीहरु थुप्रैथुप्रै दल, ग्रुप, उपग्रुप र गुटहरुमा विभाजित भएर खण्डित, विखण्डित र चिराचिराहरुमा आ–आफ्नो अस्तित्व धान्नमै व्यस्त रहेको पनि देखिन्छ । सारांशमा यिनीहरुमाझको फूट, झगडा र कचिंगल हेर्दा यस्तो लाग्छ कि त्यहाँ निकै ठूला समस्याहरु छन् । सबभन्दा ठूला समस्याहरु वास्तवमा बुझाइमा छन्, अर्थात् दर्शनको बुझाइ, राजनीतिको बुझाइ, इतिहास विकास प्रक्रियाको बुझाइ, आर्थिक सिद्धान्तहरुको बुझाइ, राज्यको उत्पत्तिसम्बन्धी बुझाइ, वर्गहरुसम्बन्धी बुझाइ, क्रान्तिसम्बन्धी बुझाइ, नेता र नेतृत्वसम्बन्धी बुझाइ, पुँजीसम्बन्धी बुझाइ, उद्देश्यसम्बन्धी बुझाइ, विज्ञानसम्बन्धी बुझाइ आदिआदिहरुमा समस्याहरु देखिएका छन् ।
कम्युनिस्टहरुमाझका गुटग्रस्तता, विखण्डन र फूटहरु कतै आकस्मिक रुपमा आकाशबाट बर्सिएका होइनन्, पातालबाट उम्रिएका होइनन् र ईश्वरले पठाइदिएका पनि होइनन् । बस्, यथार्थतालाई बुझ्ने, जान्ने र त्यसअनुसार धारणा र कार्यदिशा बनाउने प्रक्रियामा नै भयावह भूलहरु भएका छन् । फलतः कम्युनिस्ट पार्टीको साइनबोर्ड र संगठनको नामबाटै अनेकौँ कार्यदिशा, नेतृत्व, संगठन र डफ्फाहरु उदाइरहेका छन् । कस्तो अचम्म ! कसैले सामाजिक परिवर्तनका लागि युद्धको अनिवार्यता ठोकुवा गरिरहेछन् भने कसैले बहुदलीय प्रतिस्पर्धाभन्दा बाहिर पटक्कै जानुहुँदैन भनिरहेछन् त कसैले ती दुवै धारको वित्तबाट दुवै धारका डुंगामा अलगअलग गोडाहरु राखेर डुंगा चलाउने गरिरहेछन् । तर, कतिपयले भने मूलतः पुँजीवादकै कार्यदिशालाई कम्युनिस्ट क्रान्तिकारी दिशा भनेर फलाकिरहेछन् भने कतिपयले पुँजीवाद र कम्युनिस्ट दिशा आपसमा नामले फरक भए भइहाल्छ भन्ने टुंगोमा पुगेर एउटा बहुदलीय दल
कायम गरी आत्मसन्तोष लिइरहेका छन् ।
तिनीहरु मेहनती छन् । खटेर, डटेर, मरिमेटेर काम गर्छन् । समर्पित छन् । रात–विरात, भोक–प्यास, अप्ठ्यारा, खतरा, अभाव, अपमान, थुनछेक, कुटाइ, पिटाइ, जेल–नेल आदि इत्यादि झेल्न, खेप्न र सहन तैयार हुन्छन् तिनीहरु । तर पनि तिनीहरु विभाजित, विखण्डित र चिराचिरामा विभक्त छन् र झन्झन् त्यतैतिर उन्मुख देखिन्छन् ।
कतिपय कम्युनिस्टहरु सत्तामा विराजमान हुन पुगे । कतिपय धनधान्य र सम्पन्न हुन पुगे भने कतिपय सबैभन्दा ठूलो पार्टीका रुपमा प्रकट पनि भए । तर, कतिपयले बलिदान र त्यागका ठूलाठूला उदाहरणहरु पनि आफैँ सहिद बनेर प्रस्तुत गरे र कतिपय अपाङ्गतापूर्ण जीवनयापन गर्ने गरिरहे । तर पनि कम्युनिस्टले फुट्न छाडेन, जुट्न जानेन, लक्ष्यमा पुग्नु त कता हो कता, त्यसको छेउ पनि भेट्टाउन र छुन पनि सकेन । आज उसको त्याग, तपस्या, बलिदान र सत्तामा विराजमान र धनधान्य जे–जेसुकै भए पनि उसको लक्ष्य हराएको छ, उद्देश्य धमिलिएको छ, मार्ग बदलिएको छ र उसले सुन्दर र सम्पन्न बनाउन भनेको समाज अभाव, अनिकाल, अव्यवस्था र अत्यन्तै पीडाहरुले छटपटाइरहेको छ र जैव पारिस्थितिक संकटको भुमरीबाट अनिश्चित भविष्यको अर्थात् जैविक विनाशको युगतर्फ दौडिरहेको छ । यहाँसम्म कि नयाँ किसिमको तेस्रो विश्वयुद्धबाट गुज्रिइरहेको छ । त्यसैले, तिनीहरुले आफ्नो समझमा अर्थात् विचार गर्ने प्रणालीमा, विश्लेषण गर्ने विधिमा र परम्परागत समझमा भएका एकतर्फीपनलाई सच्याउन तैयार हुनुपर्दछ र सच्चिनुपर्दछ ।
हाम्रो अध्ययनअनुसार कम से कम निम्न विषयहरुमा तिनीहरुले बिनाहिचकिचाहट समझ बढाउन, विस्तार गर्न, परिष्कृत गर्न वा रुपान्तरित हुन जरूरी छ, जो उनीहरुलाई वैचारिक स्रोतबाटै र केही ऐतिहासिक रुपले पुँजीवादबाट प्राप्त हुँदै आएका थिए ।
क) पहिलो कुरा हो, अन्तरविरोधको प्रधानता । तर प्रकृति र समाजमा मूलतः एकतामा विविधता वा विविधता एकता नै जहाँकहीँ देख्न सकिन्छ । मूलतः अन्तरविरोध नै खोज्ने प्रणाली अपनाउनु एकतर्फीपन हो ।
ख) दोस्रो कुरा हो, अन्तरक्रियाको नियम । प्रकृतिमा अस्तित्व राख्ने पिडीय, तरंगीय, पार्टीकितजस्ता घटना प्रक्रियादेखि विराट्–विराट् र जैविक सामाजिक घटनाक्रमहरुले मूलतः अन्तरक्रियाको विशेषता राख्दछन् र त्यसैबाट उत्पन्न हुने एकता वा संघर्ष, मेल वा विभाजन, संयोजन वा विघटन, आकर्षण वा विकर्षणको प्रक्रियाबाट गतिशील भएर मात्रात्मक र गुणात्मक दुवै पक्ष अटुट भएरै परिवर्तित हुने गर्दछन् ।
ग) तेस्रो कुरा हो, भित्री र बाहिरी कारण । भित्री कारण नै प्रमुख भइरहने गर्दैन यथार्थतामा, किनकि अन्तरक्रिया घटनाक्रमको भित्रै पनि र भिन्नभिन्न घटनाक्रममाझ पनि निरन्तर चल्ने प्रक्रिया हो, जो अस्तित्वमा नै प्रत्येक चीजले प्राप्त गरेको विशेषता हो । विकास प्रक्रियामा भित्री र बाहिरी दुवैको भूमिका हुन्छ नै ।
घ) चौँथो कुरा हो, सामान्य र विशिष्टको अन्तरसम्बन्ध । यी दुवै पक्ष एकातिर अटुट रुपमा अन्तरसम्बन्धित छन् र प्रत्येक पक्षले अन्तरसम्बन्धित भएरै आ–आफ्ना भूमिका र विशिष्टता प्रकट गर्दछन् । त्यति मात्रै होइन, प्रत्येक विशिष्टता बिनाअन्तरक्रियामा, बिनाअन्तरसम्बन्धमा, बिनाकारणमा र बिनाप्रभावमा एवं बिनाप्रवृत्तिमा रहन सक्दैन । सूक्ष्म होस् वा विराट्, दृश्य होस् वा अदृश्य, पिंड होस् वा तरंगीय, पदार्थ होस् वा प्रकाश, कार्वनिक होस् वा अकार्वनिक सबैले सामान्य प्रक्रियाभित्रै अन्तरसम्बन्धित भएर मात्रै आफैँलाई प्रकट गर्दछन् र परिवर्तित हुने र अन्यलाई परिवर्तन गर्ने भूमिका निर्वाह गर्दछन् । त्यसरी नै हरेक सामान्य स्वरुप वा ढाँचा अनेकौँ र भिन्नभिन्न अनेकता विशिष्टताहरुको एकताका रुपमा गठित हुन्छ र सँगसँगै क्रियाशील भइनै रहन्छ र परिवर्तित हुने गर्दछ ।
अतः उपरोक्त यथार्थतायुक्त विश्लेषण विधिअनुसार हेर्ने हो भने आजको हाम्रो विश्व सामाजिक व्यवस्था, अर्थात् पुँजीपतिहरुका लागि विश्वस्तरबाटै मुद्रा, धन र पैसाको व्यवस्थापन गर्ने विश्व कर्पोरेट व्यवस्थाले ३०० वर्षदेखि पैसा बटोर्ने प्रक्रियामा एवं पैसालाई पर्यावरणीय र सामाजिक जीवनलाई बरबाद, तहसनहस र आमानवीय स्तरमा गिराउन पुगेको छ । यहाँसम्म कि त्यसै कारणले भूमण्डलीय गर्मी र जलवायु परिवर्तनजस्ता जैव परिस्थितिक विनाशले जैविक अस्तित्वमा नै प्रश्नचिन्ह खडा भएको छ ।
त्यसैले, हरेक परिवर्तनका वाहक, अग्रगामी पथका रचनाकर्ता र जीवन अनि समाजको सुन्दर भविष्य सुनिश्चित गर्न इच्छुक, जागरूक र सजग मानिसहरुले समयको मागअनुसार पुँजीसम्बन्धी परिभाषा नै परिवर्तन गर्दै पर्यावरण र मानव संशाधनलाई सर्वोच्च पुँजी ठान्दै जैव परिस्थितिक संकट समाधान गर्ने कार्यक्रम र दिशा समयमा नै आत्मसात् गर्न सकेमा आपसी फूट र विभाजन एवं चिरा, उपचिरा र विखण्डनको स्थिति समाप्त भएर सबैलाई नयाँ एजेन्डाको एउटै मालामा गाँसेर युगका आवश्यकता पूर्ति गर्ने सकारात्मक शक्तिका रुपमा उभ्याउन सक्नेछ । तर, यसो गर्दा विगतका थुप्रै अप्रसाङ्गिक र गैरयथार्थतामूलक सोच, समझ, दिशा, ढाँचा र दृष्टिकोणहरुप्रतिको मोह भंग गर्न र नयाँ एजेन्डायुक्त एकतामा गाँसिन तैयार रहनुपर्दछ । र, त्यसो गर्न सकेन भने जतिसुकै सत्तामा बसे पनि, केही जना कमरेडहरु जतिसुकै धनवान भए पनि, जतिसुकै त्याग, तपस्या र बलिदान गरे पनि, जतिसुकै हारगुहार गरे पनि युगको सामान्य चाहनाप्रतिको दायित्व पूरा हुन सक्दैन ।
सबै चिराचिरा, झुराझुरा र साना–ठूला ग्रुप, गुट र व्यक्तिव्यक्तिमा रहेका कम्युनिस्ट नामधारीहरुलाई समेत समयमै चेतना भया ।
Discussion about this post