केशव अधिकारी
धादिङ । धादिङ जिल्लामा फोन, इन्टरनेट तथा मोबाइल सेवामा पटकपटक अवरोध आउनेक्रम बढेपछि नेपाल टेलिकमले अप्टिकल फाइबर मार्फत आफ्नो नेटवर्क जोड्ने भएको छ ।
काठमाडौँबाट फ्याँकिएको नेटवर्क कुम्पुरमा रहेको रिपिटर टावरको रेडियो सिष्टमबाट सदरमुकाम स्थित टेलिकम कार्यालयको सिष्टममा जोड्दा पटकपटक समस्या देखिएपछि अप्टिकल फाइबर जडान गरी सेवा प्रदान गर्न खोजिएको नेपाल टेलिकम धादिङका प्रमुख राजु थापाले बताए ।
रिपिटर टावरमा मुसाले तार खाइदिएर पटकपटक समस्या आउनुका साथै बढ्दो लोडसेडिङका कारण पनि रेडियो सिष्टम नचल्दा दूरसंचारको नेटवर्कमा आउने समस्या रोकथाम गर्न अप्टिकल फाइबर मार्फत सेवा प्रवाहका लागि कार्यालयले नुवाकोटको तारुका हुँदै फाइबर जडान गरिरहेको टेलिकमले जनाएको छ ।
अप्टिकल फाइबर बिछ्याएर कनेक्शन जोड्न जेठ महिनाभरी लाग्ने र त्यसपछि नेपाल टेलिकमका सेवाहरु चौबीसै घण्टा विनाअवरोध संचालनमा आइरहने कार्यालय प्रमुख थापाको भनाइ छ । अप्टिकल फाइबर जोडिसकेपछि टेलिकमले सर्वसाधारण नागरिकमा इन्टरनेटको पहुँच बढाउन वाइफाइ तथा थ्रीजी सेवालाई गाउँगाउँसम्म विस्तार गर्न लागिरहेको पनि थापाले बताएका छन् ।
अप्टिकल फाइबर जडान भएपछि राजधानी बाहिर पहिलो पटक विस्तार हुन लागेको थ्रिजी सेवा धादिङवासीले पनि उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले धादिङ, काभ्रे, रसुवा र नुवाकोट जिल्लामा यो सेवा सञ्चालनको लागि तयारी गरिरहेकोे छ । धादिङ जिल्लामा अहिले जिल्ला सदरमुकाममा १२ सय ५०, मलेखुमा १०५, गजुरीमा १३०, बैरेनीमा १४३, आदमघाटमा ६० र महादेवबेसीमा ८० वटा समेत गरी १६ सय ६३ वटा लाइन फोन संचालनमा रहेको छ भने ८ सय ८ लाइन एडीएसएल इन्टरनेट टेलिकममार्फत संचालनमा रहेको छ ।
त्यसैगरी जिल्लामा तीन हजार लाइन सीडीएमए सेट, १५ हजार भन्दा बढी मोबाइल समेत टेलिकमबाट वितरण भइसकेको कार्यालय प्रमुख थापाले जानकारी दिए । टेलिकमको सेवालाई जिल्लाका सबै गाउँबस्तीमा पु¥याउन अहिले जिल्ला सदरमुकाम सहित १६ स्थानमा बीटीएस संचालनमा रहिरहेको छ भने उत्तरी धादिङको तिप्लिङ, गुम्दी र लापा, पृथ्वीराजमार्गको धुषा, जोगिमाराका साथै दक्षिणी धादिङको महादेवस्थान र थांक्रेमा बीटीएस जडानका लागि प्रक्रिया अघि बढिसकेको थापाले बताए ।
यसैगरी यसै वर्ष जिल्लाको आगिन्चोक, बूढाथुम, छत्रेदेउराली, डांडाखर्क, गोगनपानी र कटुञ्जेमा बीटीएस जडानका लागि योजनामा रहेको टेलिकमले जनाएको छ । अहिले संचालनमा रहेका र नयाँ बन्न लागेका समेत गरी जिल्लामा बीटीएस टावरको संख्या ५८ वटा पुग्ने भएको छ ।
Discussion about this post