– डा. रामेश कोइराला
सुरूमा त हरिरामजीहरुको दिन फिरेकै थियो । माओवादी शान्ति सम्झौता गरेर सरकारमै आइसकेपछि बच्चाहरुको धन्दा मन्दीमा होला कि जस्तो भएको थियो, अरु द्वन्द्वहरु थपिइहाले । गौर घटनाले गर्दा केही माझीलाई हौसला दियो । मधेसको पानी धमिलो देखिनेबित्तिकै पीपलपाते नेताहरुको चलखेल बढ्दै गयो । भदौतिर शेख जमाललाई कुदरबेटवाको घरबाट बालापुर खेततिर जाँदै गर्दा शान्तिप्रेमी माओवादीले गोली हाने । सलमा बेगम फेरि बेवा भइन् । अनि त बस्, शेख जमालको हत्याको विरोधमा पूरै कपिलवस्तु जल्यो । रिसाएका मुसलमानहरुको पहिलो निसाना फेरि चनौटै भयो । मुसलमान, अरु मधेसवासी र पहाडेबीचको शोध–प्रतिशोधले कपिलवस्तु, दाङ र रुपन्देहीआसपास पुनः एकपटक हिंसात्मक आतङ्क मच्चियो । हरेक समुदायका निर्धाहरु फेरि घुनझैँ पिसिए । बलियाहरुले त्यही मौकामा राम्ररी जाँतो घुमाए । सो घटनाको सहउत्पादनका रुपमा तयार भएका नौ जना भुराभुरीलाई चाहिँ मै गएर २०६४ साल असोज अन्त्यतिर कोपिला आश्रम भिœयाएँ ।
यसपालि पनि काठमाडौँले चनौटालाई चन्द्रौटा नै भन्यो । हुन त, काठमाडौँले आरेभन्ज्याङलाई आर्यभन्ज्याङ र आरूङखोलालाई अरूणखोला समेत भन्दिन थालेकाले चनौटा आजकाल एक्लो महसुस
गर्दैन पनि ।
हरिरामजीसमेत साम्प्रदायिक दङ्गाहरुबाट अलिअलि विरक्तिन थालेका थिए । हुन त, व्यापार बढाइरहेकै थियो आन्दोलनहरुले । तर पनि किनकिन सर अलिक
निराश थिए ।
‘बुझिस्, क्वाँटी किन मीठो हुन्छ ?’ दारू खानेबेला साउने सङ्क्रान्तिमा खाएको बासी क्वाँटीको कुरा निकाले ।
बोलिनँ पनि । सरको ‘बुझिस्’ वाला प्रश्नको जवाफ आफैँ दिन्छन् भन्ने कुरा बुझिसकेको थिएँ ।
‘भाटभटेनीमा पाइने त्यो प्लास्टिकको सोलीमा तहतह गरी मिलाएर राखेको कालो दाल, बोडी, केराउ, चना, राजमा, मुँगहरुलाई निकालेर एकैठाउँ मिसाएर भिजाएपछि बल्ल क्वाँटी बन्छ । झन् निकै समय भिजाएर टुसाउनै दिए त अझ मीठो । हो, यसरी मिस्सिइसकेका गेडागुडीलाई फेरि अलगअलग गर्न त्यति सजिलो त हुँदैन नि । हो, हाम्रा आन्दोलनकारीहरु यही गर्न खोज्दैछन् । केराउ–केराउ एकातिर, मास–मास अर्कातिर । घन्टाको सम्भव हुन्छ यस्तो जात–जातको राजनीति ?
सर, धन्दाको प्रतिकूल सोच्न थालेका छन् ।
किन यो अधोमति ?
सायद गोपिनीकै विरहले त होला नि ! अस्ति कता पत्रिकामा पढेको थिएँ, गोपिनीलाई भद्रगोलमा राखेका छन् रे । सरले त पटक्कै कुरा निकाल्दैनन्, ती गोरीबारे । उनी फेरि अर्कीको चक्करमा लागेनन् पनि । झन् आजकाल त अगाडिको घर किनीवरि ठूलै परिवार बस्न थालेको छ । दिनभरि हल्ला गरिरहन्छन् । आफैंँमा मस्त परिवारले हाम्रो आश्रमतिर चासै दिएका छैनन् ।
झिँगाको सरापले डिँगा मरे पो ! हरिरामजीले जति गनगन गरे पनि मधेस आन्दोलन भयो । मान्छे मरे । सम्झौता भयो । मरेकाजति सहिद भए अनि भीड जुटाउनेजति नेता । यता काठमाडौँको मनलाई फेरि मधेसको आगोले पोलेन । पोलोस् पनि कसरी र ! सारा काठमाडौँ या त पेट्रोलको लाइनमा, या त मोटरसाइकलको सिटमा गोरखापत्र बिछ्याइवरि ग्यास सिलिन्डर बोक्नैमा व्यस्त जो थियो । संविधानसभाको चुनाव हुने नै भयो । छ सय एक जना प्रतिनिधि बसेर दुई वर्षमा ‘नयाँ नेपाल’ को संविधान लेख्ने भए । मलाई समेत कपी–कलम बेच्ने पो विचार आएको थियो, कति मस्यौदा लेख्ने होलान् हाम्रा प्रतिनिधिहरुले भन्ने सोचेरै ।
हरिरामजीले पनि चुनावताका अलिअलि कसरत नगरेका त हैनन्
नै । हामी सामाजिक संस्थावालाको पनि संविधानसभामा प्रतिनिधित्व हुनुपर्छ भनेर सबै ठूला पार्टीदेखि नयाँ पार्टीसम्मलाई भेटेकै थिए । ‘हुन्छ भने यति टक्र्याऊँला’ भनेर रकमै बोल–कबोलसमेत पो गरिसकेका
थिए । तर, उनको थैली सानो भएछ । सबैभन्दा कममा टेन्डर आह्वान् गरेको एनजिओ पार्टीबाट पनि व्यापारी, वकिल, महिला उत्थानवादी र समाजसेवी गरेर चारवटा वर्गका लागि अलगअलग साइजका थैली माग भयो । समाजसेवीवर्गको टेन्डरमा सरको भन्दा अनिल बाबुको थैली गह्रौँ भएछ । हरिरामजी दोस्रो नम्बरमै अड्किए । एक सय पचासवटा समानुपातिक सिट पाइए तपाईंको पनि पक्का भनेर थैली नै नासो राखेका थिए । कहाँबाट त्यत्तिका सिट जित्नु र ! बेकारमा तीन महिनासम्मै सरको पैसा बिनाब्याज अड्काइदिए ।
बरू फादरले नै दुई–चार पटक उक्साएका थिए, खै कुनचाहिँ कोरियन प्रचारकले आर्थिक सहयोग गरेर चुनाव लड्न तयार पारेको पार्टीबाट समानुपातिकको सिट मिलाइदिन्छु, पानीमा डुबुल्की मारिहाल भन्दै । ‘धर्मनिरपेक्ष नेपालमा धार्मिक पार्टी, त्यो पनि ख्रिस्तानवालाले तीन सय भोट ल्याएमा कान काटिदिन्छु’ भनेर अविश्वास गरेका हरिरामजी चुनावपछि तीनछक परे मात्र, कानचाहिँ काटिहालेनन् । सायद फादरको विजयी मुस्कानले उनलाई आफ्नै समाजको वास्तविकताबारे अनभिज्ञ भएकोमा कटाक्ष हान्दै थियो ।
धन्दामा अलिक कचरमचर भइराखेको छ । तीन वर्षदेखि त त्यो ‘एभरेस्ट अर्फनेज’ का फुयाँलजी एक नम्बरमा पर्दैछन् । बाठा पनि अति नै । झन् क्यानडाको ‘एडप्सन च्वाइस’ नामक संस्थाको नेपाली एजेन्ट पनि बनेपछि त हरेक पाँच जना बच्चा विदेश लाग्दा एउटा उनकै अनाथालयको हुन्छ हुन्छ । पोहोरतिर अनाथहरुको अनुगमन गर्न बेलायत जाँदा पनि तिनै फुयाँलजीले सबै एजेन्सीमा सेटिङ मिलाइहालेछन्, हरिरामजीलाई मौकै नदिई । प्रचारप्रसारमा पछि परेकाले पो रहेछ, हरिरामजी त्यो बेला अलिक खिन्न भएका । गोपिनीले बीचका केही दिन त प्रफुल्लै बनाइदिए पनि दिगो भएन क्यारे ! जे होस्, त्यसपछिका दिनमा फुयाँलजीलाई हरिराम सर फुटेको आँखाले धरि मन पराउँदैनन् ।
कसरी मन पराउन् पनि ! परार पहिलोचोटि हरिरामजी दोस्रा हुँदा झन्डै रूएका थिए ।
फुयाँलजीको सन्तानब्बेका विरूद्ध हरिरामजीको जाबो त्रिपन्न ।
अनि त हरिरामजी महिनादिनसम्मै चिन्तित देखिए । निधारभरिका चिन्ताका धर्सा हरेक साँझ ह्विस्की अन द रक्सको गिलासले पखाल्थे ।
‘सर, यसपालि कम भएर के भो र, आघौँ छँदैछ नि,’ मैले सान्त्वनाका स्न्याक्स पनि टक्र्याइहेरेँ ।
उनले त यसो पो भने, ‘तिमी कहिल्यै स्कुलमा फस्ट भएका छौ ?’
‘अहँ ।’
‘त्यसैले थाहा नपाएको तिमीले फस्ट नहुनुको पीडा ।’
केहीछिनपछि उनैले प्रस्ट्याए, ‘बुझ्यौ, जबसम्म तिमी एक नम्बरमा हुँदैनौ, तिमीलाई कुनै चिन्ता हुँदैन । कसैलाई अलिक ठूलो, कसैलाई अलिक सानो अनि कसैलाई रत्तिभर एउटै आशमात्र हुन्छ– यसपालि म प्रथम होइदिऊँ । तर जब तिमी प्रथम हुन्छौ नि, त्यस दिनदेखि तिम्रो निद खराब । बा यसले पो अङ्ग्रेजीमा टप्ने हो कि, बा उसले पो मैलेभन्दा बढी हिसाब मिलाउने हो कि भन्दै रातरातभर निद्रा लाग्दैन । यो फस्ट हुनु पनि अजीवको मात हो यार, अजीवको ।’
अनि थपे, हिन्दी उखान, ‘जो खाए वो भी पछताए, जो नहीँ खाए वो भी पछताए ।’
त्यसो भए त्यै फुयाँलजीलाई पनि आजकाल निद्रा लाग्दैन होला !
चुनावपछि हरिरामजीहरुको बिजिनेसमा निकै कुरा एकैसाथ
भए । जब नेपालमा अन्तर्राष्ट्रिय धर्मपुत्रपुत्री सम्मेलन भयो, एक जना बेलायती सरकारका प्रतिनिधि बच्चा चाहिएको भन्दै खुसुक्क बालगृहहरु घुमेछन् । अनि त सोल्टी होटेलको सम्मेलन कक्षमै भन्दिइहाले, ‘नेपालका अनाथ आश्रमहरुले घूस माग्छन्, नेपालीलाई बच्चा दिँदैनन् र अनाथालयका सबै बच्चा अनाथ पनि हुँदैनन् ।’
हरिरामजी कालोनीलो भएर अगाडि मञ्चमा बोल्दै गरेको त्यै गोरालाई सराप्दै थिए, सायद । हरिरामजीहरुको व्यवसाय ओरालो लाग्न यहीँबाट सुरू भयो ।
अन्तरदेशीय धर्मपुत्रपुत्रीसम्बन्धी प्रक्रिया संयुक्त राष्ट्रसंघको हेग महासन्धिअनुसार हुनुपर्ने रहेछ । नयाँ सरकारले नयाँ नियमावली पास ग¥यो, ‘अन्तरदेशीय धर्मपुत्रपुत्रीसम्बन्धी सर्त र प्रक्रिया, २०६५ ।’ यो नियमावलीले २०५७ का त्रुटि मेटाउनेछ भन्ने सोचाइ थियो होला । तर, हरिरामजीहरुको प्रयासले नयाँ नियमावलीमा पनि निकै चलखेल भयो । बल्लतल्ल आफ्नो दुनो सोझ्याएको, धर्मपुत्रपुत्री छानबिन, सिफारिस र अनुगमन समितिमा बालबालिकाका निम्ति गैरसरकारी संस्थाहरुको महासङ्घ, सिएनएफएका प्रतिनिधि पनि सदस्यका रुपमा रहनुलाई हेग मिसनले २०६६ मै ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ भनेर भन्दियो ।
अझ २०६५ मा युनिसेफ र तेरेदेज होम फाउन्डेसनले एउटा अध्ययन गरे नेपालमा । उनीहरुले त नेपालका बालगृहमा रहेका ६२ प्रतिशत बालबालिकाको अभिभावक भएको र धेरैलाई कागजी अनाथ बनाइने
देखियो भनेर रिपोर्टै पेस गरे । हरिरामजीहरुले निकै हारगुहार
गरे । नेपाली नेताहरुदेखि विदेशी दूतावासहरुसम्म डेलिगेसन गए । तर अहँ, सरकारका तर्फबाट ‘विचार गरौँला’ भन्ने दह्रो आश्वासनबाहेक गोराहरुका तर्फबाट केही पाएनन् ।
बरू बेलुकी मातेर कराए हरिरामजी, ‘स्साला खैरेहरु । पहिला आफैँ समाजसेवाका नाउँमा गाउँगाउँ पसेर पेचिला मुद्दाहरु बनाइदिन्छन् । एउटालाई अर्काको विरूद्ध उकास्छन् र द्वन्द्वको आगो मज्जाले ताप्छन् । मान्छे मर्न थालेपछि आफैँ धामी आफैँ बोक्सी बन्दै ‘मै सहमति गराइदिन्छु’ भन्दै ओट पस्छन् । लडाइँ हुन्जेल खूब अबोध बालबालिकाको उद्धार गर्ने हुन्छन् । असम्भवप्रायः शान्ति केही गरी भइहाल्यो भनेचाहिँ बच्चाहरु अवैध तरिकाले अनाथ बनाइन्छ भन्ने बहाना निकालेर हाम्रो रोजीरोटी खोस्छन् ।’
झन्डै रोए पो सर त !
घाँटीमा खकार अड्केर हो वा रूएर, धोद्रो स्वरले सरले मलाई नै सोधे, ‘के अब हामीले काम
पाउन फेरि एउटा युद्ध हुनैपर्छ र, सोमनाथ भाइ ?’
सोमनाथ यसपालि पनि बोलेन ।
(सहिद गंगालाल अस्पताल सम्बद्ध मुटु सर्जन कोइरालाको उपन्यास ‘कोपिला आश्रम’बाट । कोइरालाको यसअघि ‘आमाको
मुटु’ नामक संस्मरणात्मक कृति प्रकाशित छ ।)
Discussion about this post