गैँडा संरक्षण चुनौतीको विषय

अन‌ि यो पनि

सेप्टेम्बर २२ अर्थात् विश्व गैँडा दिवसका अवसरमा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) लगायतका सरोकारवालाले विश्वव्यापीरुपमा वन्यजन्तु तस्करी नियन्त्रणमा चुनौती थपिएको औँल्याएका छन् । नेपालमा चोरीसिकारका कारण गैँडाको मृत्यु हुनेक्रम लगभग नियन्त्रणजस्तै भए पनि प्राकृतिक कारण गैँडा मर्न थालेपछि संरक्षणकर्मीहरुले गैँडा संरक्षणमा चुनौती बढेको भन्दै चिन्ता प्रकट गरेका छन् । नेपालले सन् २०३० सम्ममा गैँडाको संख्या दोब्बर बनाउने लक्ष्य लिएको छ । तर, पछिल्लो पाँच वर्षमा गैँडा मरेको तथ्याङ्कले सो लक्ष्य हासिल गर्न चुनौती बढेको छ । चितवनमा गत पाँच वर्षयता १३९ वटा गैँडा मरेको निकुञ्जले जनाएको छ, जसमा तीनवटामात्रै चोरीसिकारीले मारेका छन् । निकुञ्जका अनुसार गैँडा बूढो भएर, एकआपसमा जुधेर र कालगतिका कारणले मरेका छन् । सन् २०१५ मा गरिएको गैँडा गणनाअनुसार चितवन निकुञ्जमा ६०५ सहित नेपालका संरक्षित क्षेत्रमा गरी ६४५ गैँडा रहेका थिए । असामान्य ढङ्गले गैँडाको प्राकृतिक मृत्यु हुन थालेपछि निकुञ्ज विभागले गैँडाको विषयमा अध्ययन गरेको थियो । अनुसन्धान प्रतिवेदनमा आहाराको खोजीमा भौँतारिँदा एकअर्कामा जुधेर गैँडा मर्ने गरेको उल्लेख गरिएको छ ।
पछिल्लो समय गैँडा बच्चा जन्माउन नसकेर, विषाक्त खाना, दलदलमा फसेर, बाढीले बगाएर र साना केटोलाई बाघले खाइदिएरजस्ता कारणले मर्ने गरेका छन् । यस्तै, निकुञ्जमा घाँसे मैदान र सिमसार क्षेत्र घट्दै गएपछि आहाराको खोजीमा गाउँबस्तीमा प्रवेश गरेका गैँडा करेन्ट लागेर र खाल्डोमा परेर मर्ने गरेको पाइएको छ । चालू आर्थिक वर्षको साउन र भदौ महिनामा चारवटा गैँडा मरेको निकुञ्जले जनाएको छ । आथिक वर्ष ०७६/७७ मा २७ वटा गैँडा मरेकोमा ०७५/७६ मा सबैभन्दा बढी ४३ वटा गैँडा मरेका थिए । यस्तै, सो अवधिमा एक वर्षमा ४३ वटासम्म गैँडा मरेको तथ्याङ्क निकुञ्जसँग रहेको छ । आर्थिक वर्ष ०७३/७४ र ०७४/७५ मा २५/२५ वटा र ०७२/७३ मा १४ वटा गैँडा मरेको निकुञ्जले जनाएको छ । निकुञ्जले हरेक पाँच÷पाँच वर्षमा गैँडा गणना गरी गैँडाको तथ्याङ्क सार्वजनिक गर्दै आएको छ । तथापि, गत चैतमा हुने भनिएको गैँडा गणना कोरोना भाइरसको महाव्याधिका कारण स्थगित भएको छ । एकातिर गैँडा मर्नेक्रम बढ्दै गएको छ भने गणनाको कार्यक्रम पनि स्थगित हुँदा गैँडाको यकिन तथ्याङ्क आउन सकेको छैन ।
विश्वभर पाँच प्रजातिका गैँडा पाइन्छन्, जसमध्ये दुर्लभ मानिएको एकसिङ्गे गैँडाका लागि नेपाल उर्वरभूमि मानिएको छ । नेपालमा एकसिङ्गे गैँडा चितवन, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्र पाइन्छ । नेपालमा विगतमा एकै महिनामा दसवटासम्म गैँडा चोरीसिकारीका कारण मारिने अवस्था थियो । तर, सन् २०१५ मा गरिएको गैँडा गणनाको तथ्याङ्कले संरक्षणकर्र्मी उत्साहित बने पनि बढ्दो मृत्युले भने चिन्तित तुल्याएको छ । विशेषगरी प्राकृतिक विपत्ति, बासस्थानको कमी, आहाराको अभावजस्ता कारणले गैँडाको मृत्यु भइरहेको पाइन्छ । नेपालमा सन् २०११ मा गणना हुँदा गैँडाको संख्या ५३४ रेकर्ड भएको थियो । त्यसको चार वर्षपछि अर्थात् सन् २०१५ सम्म बढेर ६४५ रेकर्ड गरिएको थियो । अबको गणनाले मात्र गैँडाको संख्या वृद्धि भए/नभएको थाहा लाग्नेछ । अघिल्लो गणनामा गैँडाको जन्मदर झन्डै ५ प्रतिशत रहेको थियो । यसै जन्मदरलाई आधार मान्ने हो भने गैँडाको संख्या खासै वृद्धि भएको मान्न सकिँदैन । कति गैँडा बाढीमा बगेर भारतसम्म पुगे भन्ने तथ्याङ्क पनि गणनापछि नै थाहा हुनेछ । गैँडा मर्नुको कारण अध्ययन भइसकेकाले विज्ञहरुको सुझावअनुसार निकुञ्जले गैँडा संरक्षणका लागि आवश्यक व्यवस्थापनमा ध्यान दिँदै मानव–वन्यजन्तु द्वन्द्व बढ्न नदिन समुदायस्तरमा चेतनाका साथै र निकुञ्जमा गस्ती बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया