प्याजमा कालोबजारी गर्ने चार व्यवसायीलाई थप अनुसन्धान गर्न सिफारिस

अन‌ि यो पनि

भरतपुर । प्याजमा कालोबजारी गरेको आरोपमा नारायणगढका चार व्यवसायीलाई थप अनुसन्धान गर्न सिफारिस भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले चार व्यवसायीको कागजात नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनलाई सिफारिस गरेको छ ।
भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि प्याजमा चर्को मूल्य लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढको लायन्सचोकमा रहेको सब्जीमण्डीमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा प्याजको चर्को मूल्य लिएको एउटा पसल सिल गरेको थियो ।
‘अनुगमनमा हामीले चार जना व्यवसायीको कागजात लिएका थियौँ, तिनीहरुको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयलाई सिफारिस गरेका छौँ’, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले भने, ‘प्रहरीले चार जना व्यवसायीको अनुसन्धान गरिरहेको छ ।’
उनका अनुसार अनुसन्धानमा कुनै गल्ती भेटिए, कालोबजारी भए कानुनअनुसार कारबाही हुनेछ ।
सिल गरिएको पसललाई प्रशासनले खोल्न आदेश दिएको छ । सूचना अधिकारी सिंखडाले भने, ‘गल्ती महसुस गरेपछि लागतअनुसार १० प्रतिशत नाफा राखी बेच्ने प्रतिबद्धता गरेपछि सिल गरिएको पसल खोलिएको हो ।’ सिंखडाका अनुसार ती व्यवसायीले होलसेलमा ४८ रूपैयाँ किलोमा प्याज बेचिरहेका छन् ।
भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै प्याजको मूल्य आकासिएको थियो । चितवनको बजारमा यतिबेला प्याज खुद्रा मूल्य १०० रूपैयाँसम्म बिक्री भइरहेको छ ।
चितवन प्रशासन कार्यालयका अनुसार प्याजमा भारतले निर्यातमा प्रतिबन्ध लगाउनुअघि नेपाल भित्रेका प्याज व्यवसायीको गोदाममा अझै छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सिंखडाका अनुसार नारायणगढ, लायन्सचोकनजिकै रहेको सब्जीमण्डीमा अनुगमन गरी पसलका नामसहितको बोर्ड राख्न भनिएको छ । उनले भने, ‘धेरै पसलमा बोर्ड पनि देखिएन, हामीले बोर्ड राख्न भनेका छौँ, व्यवसायीहरुले राख्न सुरू गरेका छन् ।’
किराना व्यवसायी संघ चितवनले जुनसुकै खाद्यवस्तुको मूल्यमा २० प्रतिशतभन्दा बढी नाफा नलिन भनेको छ । यता, प्रशासन कार्यालयले दस प्रतिशतमात्रै नाफा राख्न व्यवसायीहरुलाई निर्देशन दिएको छ । संघका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठ भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको अभाव भएको र अभावकै कारण मूल्य वृद्धि हुन गएको बताउँछन् । उनका अनुसार व्यवसायीहरुको खरिद मूल्य नै बढी भएको कारण प्याजको मूल्य बढ्न गएको हो ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया