बसन्त पराजुली
भरतपुर । उनी शारीरिक रुपमा कमजोर छिन् । दाहिने खुट्टा सुकेको छ । त्यसले कामै गर्दैन । तर पनि उनको मानसिक क्षमता बढी छ । खुट्टा नभएकै भएपनि वर्षा मैनाली अहिले आफ्ना आमा, हजुरआमा सरहका महिलाहरुलाई साक्षरता बनाउन जुट्दै छिन् । वैशाखी नै टेकेर साक्षरता कक्षामा पुग्ने मैनालीले यो वर्ष मात्रै २० जनालाई लेख्ने र पढ्ने बनाएकी छिन् ।
‘साक्षरता कक्षामा आउने महिलाहरु सुरूमा निरक्षर नै थिए’, रत्ननगर नगरपालिका वडा नम्बर ६ निवासी मैनालीले थपिन्, ‘अहिले सबैले राम्रोसँग लेख्न पढ्न जानेका छन् । अरु केही नभए पनि आफ्नो नाम आफँै लेख्न र हिसाब राख्न जान्ने भएका छन् ।’
चितवनमा सञ्चालनमा रहेका एक हजार ७५३ अनौपचारिक शिक्षा कक्षाका शिक्षिकाहरु मध्ये शारीरिक रुपमा कमजोर रहेकी वर्षा एकमात्रै शिक्षिका हुन् । तर पनि उनको कक्षामा कहिलै अपाङ्ग भएको महसुस गर्नु परेन । ‘शिक्षिकाले नगरेको भए त के लेख्न पढ्न सकिन्थ्यो र’, एक सहभागीले थपिन्, ‘आफू वैशाखी टेकेर पनि हामीलाई लेख्न पढ्न सिकाइरहेकी छिन् ।’
२०४४ असार १९ गते जन्मिएकी वर्षा अहिले व्यवस्थापन विषयमा स्नातक तहको दोश्रो वर्ष पढ्दै छिन् । शहीद स्मृति कलेजमा अध्ययनरत उनी आफू पढ्दै र साक्षरता कक्षामा अरुलाई पढाउँदै गरेकी हुन् । ‘सबैलाई लेख्न पढ्न सक्ने बनाउन तीन महिना लाग्यो’, उनले भनिन् ‘अब कार्यक्रम सकिन लाग्यो । सहयोग नभए कक्षा पनि रोकिने होला ।’
वर्षा आठ वर्षको हँुदा खुट्टामा घाउ आयो । त्यो घाउले उनको दाहिने खुट्टालाई कहिलै टेक्न नसक्ने बनायो । ‘औषधि निक्कै गरियो तर खुट्टा टेक्न सकिने भएन’, वर्षाले विगत सम्झँदै भनिन् । घरको आर्थिक अवस्था कमजोर नै भएको बताउँदै उनले सक्ने जागिरको खोजी पनि गरेकी छिन् । ‘अनौपचारिकता कक्षा सकिन लाग्यो, अब नयाँ काम खोज्नुपर्छ’, केही दिनअघि भेटिएकी वर्षाले थपिन्, ‘कतै सरकारी काम पाए राम्रो हुने थियो ।’
जिल्ला शिक्षा कार्यालय चितवनका विद्यालय निरीक्षक बाबुराम दवाडी पनि वर्षाको कक्षा लिने शैली देखेर प्रभावित छन् । ‘सजिलै बुझाउन सक्ने खुवी रहेछ उनमा’, उनले थपे, ‘उनको लगनशीलताकै कारण धेरै निरक्षर महिलाहरु
साक्षर बनेका छन् । आफ्नो नाम आफँै लेख्न र हिसाब किताब गर्न सक्ने भएका छन् ।’
पढ्दै गरेकाले पनि उनलाई अहिले अपाङ्ग कोटाबाट छात्रवृत्ति उपलब्ध गराउन सकिने पनि दवाडीले जानकारी दिए । सरकारले अपाङ्गको वर्गीकरण गरी छात्रवृत्तिको व्यवस्था गरेको छ । ‘क’ वर्गमा पर्ने अपाङ्गलाई १७ हजार, ‘ख’ वर्गकालाई ७ हजार, ‘ग’ वर्गकालाई तीन हजार र ‘घ’ वर्गकालाइ एक हजार छात्रवृत्तिको व्यवस्था गरेको छ । यो सुविधा लिन अपाङ्ग परिचयपत्र भएको हुनुपर्ने छ ।
यस्तै वर्षालाई रोजगारीका लागि पनि जिल्लास्तरबाट हुन सक्ने सहयोग गरिने दवाडीले बताए । ‘अपाङ्ग कोटाबाटै पनि उनले कम प्रतिस्पर्धामा काम गर्न पाउँछिन्’, दवाडीले भने, ‘उनको पढाउने शैली देख्दा उनी सक्षम शिक्षिका हुन सक्ने क्षमता राख्छिन् ।’ तर उनी शिक्षिका भन्दा कुनै सरकारी जागिर खाने मनःस्थितिमा छिन् ।
‘पाए त सरकारी जागिर नै राम्रो हुन्छ नभए पनि शिक्षण पेसा पाए पनि गरिन्छ’, वर्षाले भनिन् । एउटा अपाङ्ग महिला जो अहिले अरुलाई साक्षर बनाउन जुट्दै छिन् । वैशाखी नै टेकेर पनि उनी अहिले गाउँघरका महिलाहरु जम्मा गरेर साक्षर बनाउँदै छिन् । थोरै पारिश्रमिक पाएर पनि उनीले धेरै राम्रो र अनुकरणीय काम गरेकी छिन् । जुन अन्यका लागि अनुकरणीय हुन सक्छ ।
Discussion about this post