मोटरसाइकल दुरूपयोग भएको स्वीकार
भरतपुर । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कर्मचारीबाट भएको मोटरसाइकल दुरूपयोग– सम्बन्धी समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले यस विषयमा जनस्वास्थ्यसँग बिहीबार जवाफ मागेको छ ।
प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले भन्नुभयो, ‘समाचारमा आएका विषयहरु के–कस्ता हुन् आवश्यक जानकारी गराउनुहोला भनेर मैले लेखी पठाएको छु ।’ सरकारी सम्पत्ति निजी काममा प्रयोग गरेको पाइएमा जो कोहीलाई नछाड्ने चेतावनी दिँदै प्रजिअ शर्माले बदनियतपूर्ण काम गर्नेलाई कारबाही गरिने बताउनुभयो । साथै उहाँले सरकारी सवारी निजी काममा प्रयोग भएको पाइएमा कार्यालयमा सूचना दिन पनि सबैमा आग्रह गर्नुभएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केहरसिंह गोदारले मोटरसाइकल दुरूपयोग भएको स्वीकार गर्नुभएको छ ।
आफूले दुरूपयोग रोक्न खोजे पनि नसकेको उहाँको भनाइ छ । ‘सरकारी मोटरसाइलकलाई रातो नम्बर प्लेट राखेर निजी काममा प्रयोग गर्ने गरेको सत्य हो’, उहाँले भन्नुभयो ।
उहाँका अनुसार रातो नम्बर प्लेटका सबै सवारी अब सेतो प्लेटको बनाउने तयारी भइरहेको छ ।
साथै प्रमुख गोदारले करारमा रहेको व्यक्तिबाट दस दिनको तलब लिएको र कर्मचारीको सवारी लाइसेन्स नभएको भन्ने कुराको खण्डन गर्नुभएको छ ।
Discussion about this post