नेपाल प्रहरीको प्रशंसनीय कार्य

अन‌ि यो पनि

–सन्तोष पन्त

पृष्ठभूमि
नेपाल प्रहरी समाजमा शान्ति सुव्यवस्था कायम गर्ने, देशवासीको जीउधनको सुरक्षा गर्ने, अपराधको रोकथाम गर्ने र अपराध भएमा सबुद प्रमाणका आधारमा अपराध गर्ने व्यक्तिको पहिचान, खोजतलास र पक्राउ गरी कानुनबमोजिम प्रक्रिया पूरा गरी अदालतसमक्ष अभियुक्तलाई प्रस्तुत गर्ने जवाफदेही र जिम्मेवार संस्था हो । प्रहरीले प्रचलित कानुन र कार्यविधिलाई शिरमा राखी आफ्ना जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेमा र गर्न सकेमा मात्र राज्यमा सुशासन कायम हुन सक्ने कुरा बुझेका आममानिसहरुले प्रहरीका क्रियाकलापहरु सधैँ निगरानी गरिरहेका हुन्छन् । प्रहरी सधैँ निष्पक्ष, पारदर्शी, कानुनसम्मत र व्यावहारिक होस्, दुःख परेर प्रहरीको दैलोमा पुगेका वा प्रहरीलाई सम्पर्क गरेका जनताहरुले प्रहरीको व्यवहार तथा कार्यशैलीबाट मलमपट्टी लगाएको अनुभूति गर्न सकून् भन्ने कुरा आमसर्वसाधारणले चाहेका हुन्छन् भने समाजमा म प्रतिष्ठित हुँ भन्ने व्यक्तिहरुले प्रहरीले मलाई आमनागरिकभन्दा अल्लि पृथक् व्यवहार गरोस् भन्ने चाहना राख्दछन् । एकातिर देशको ठूलो जनसंंख्या प्रहरीबाट समान व्यवहार होस्, पहिलो आउनेको पहिलो पालो होस्, कार्यालय प्रमुखसमक्ष सबैको समान पहुँच होस् भन्ने चाहन्छन् भने अर्कोतिर पद, धन वा अन्य प्रतिष्ठा भएको ठान्ने केहीले मलाई प्रहरीबाट अलग्गै व्यवहार होस्, मैले नै भनेपछि अरु केही गर्नुपर्दैन, मलाई प्राथमिकता दिनुपर्दछ भन्नेसमेत चाहन्छन् । यस्तोको बीचमा सबैको चित्त बुझाएर जनताको चाहना र कानुनबमोजिम कर्तव्य निर्वाह गर्नु निःसन्देह चुनौतीपूर्ण कार्य हो । तर, सबै देशवासीलाई समान व्यवहार गर्दै कानुनी राज्यको प्रत्याभूति गराउन प्रहरी सर्वप्रथम व्यावसायिक हुनैपर्दछ, जसका लागि प्रहरी कर्मचारीहरुमा जिम्मेवारीबोध हुन आवश्यक छ । प्रहरी कर्मचारीहरुलाई जिम्मेवार बनाउन संगठनले आप्mना सदस्यहरुको कार्यसम्पादनको स्तर कस्तो छ भनी आमनागरिहरुबाट पृष्ठपोषण लिने र त्यसको विश्लेषण गरी उपयुक्त निर्णय लिन सकेमा प्रहरी कर्मचारीहरुमा जवाफदेहिता बढ्नेदेखि नेपाल प्रहरीले सुरू गरेको स्थानीय सरकारका कार्यालयहरुमा सुझाव तथा गुनासो पेटिका राख्ने कार्य प्रशंसनीय कार्यको सुरूआत हो । यसका लागि प्रहरी महानिरीक्षक श्री शैलेश थापा क्षेत्रीलाई धन्यवाद दिनैपर्दछ ।
पेटिका स्थापनाको उद्देश्य
क्रमशः सबै स्थानीय तहहरुमा स्थापना गर्ने गरी सुरू भएको नेपाल प्रहरीको यो अभियान बागमती प्रदेश प्रहरी कार्यालयले शुभारम्भ गरिसकेको छ । प्रहरी सेवालाई जनमैत्री र कानुनसम्मत बनाई प्रहरी कर्मचारीलाई सुखदुःखको साथीका रुपमा आमसर्वसाधारणले स्वीकार गर्ने वातावरण सृजना गर्न यो अभियान लागू भएको देखिन्छ भने प्रहरी कर्मचारीहरुको कार्यसम्पादनको स्तरका सम्बन्धमा आमसर्वसाधारणबाट आधिकारिक र सही सूचना संकलन गर्ने, प्रहरी सेवामा भएका कमीकमजोरीहरु पहिचान गरी सुधार गर्ने, प्रहरीप्रति आमसर्वसाधारणको विश्वास अभिवृद्धि गर्दै चुस्त र दुरूस्त प्रहरी सेवा प्रदान गर्ने, प्रत्येक स्थानीय सरकारसँग समन्वय गरी दरिलो सहकार्य तथा साझेदारी निर्माण गर्ने, प्रहरी परिचालन तथा जिम्मेवारी विभाजनसम्बन्धमा जनचाहनाबमोजिमको भावी रणनीति तयार गर्ने र आमसर्वसाधारणहरुलाई कानुनी राज्य तथा सुशासनको प्रत्याभूत गराउनेजस्ता पवित्र उद्देश्यहरु रहेको देखिन्छ ।
सर्वसाधारणको भूमिका
कुनै पनि कार्यक्रमको प्रभावकारिता र सफलता कार्यक्रम सञ्चालन गर्ने पक्षको इमानदारिता र लक्षित वर्गको सकारात्मक सहयोगमा भर पर्दछ । यो अभियानको सञ्चालनबाट नेपाल प्रहरीले आफूमा भएका कमीकमजोरीहरुलाई पहिचान गरी समयसापेक्ष ढङ्गले सुधारिन खोजेको देखिन्छ । आफ्ना कर्मचारीहरु रातदिन, घाम–पानी, महामारी आदि केही नभनी आफ्नो घरपरिवारबाट टाढा रही अत्यन्त न्यून वेतन र सुविधामा अहोरात्र खटिँदा पनि जसभन्दा अपजस धेरै पाउनुको कारण जान्न र आमसर्वसाधारणको मन जित्न खोजेको देखिन्छ भने प्रहरी कर्मचारीहरुबाट अझै पनि नागरिकमैत्री र कानुनसम्मत सेवा प्रवाह हुन सकिरहेको छैन कि भनेर जाँच्न खोजेको देखिन्छ । यस्तो समयमा हामी सबैले प्रहरीको सेवा प्रवाहको वास्तविक ऐना चित्रण गरिदिन सक्नुपर्दछ । कुनै लोभ, माया, डर, त्रासमा नपरी, कुनै आग्रह–पूर्वाग्रह नराखी त्यस सुझाव तथा गुनासो पेटिकामा आफ्ना सुझाव तथा गुनासाहरु लेख्न र राख्न पछि पर्नुहुँदैन ।
प्रहरीलाई कानुनबमोजिम काम गर्ने र गर्न सक्ने वातावरण सृजना गर्न सकिएको खण्डमा मात्र देशमा शान्ति सुव्यवस्था सम्भव छ, नभए नेपाली उखान “सानालाई ऐन र ठूलालाई चैन” चरितार्थ हुन्छ । हामी सबैले प्रहरी कर्तव्य र अधिकारका सम्बन्धमा जानकारी राखी प्रहरीबाट भइरहेका कामकारबाहीहरु साँच्चै कानुन तथा विधिसम्मत छन् वा छैनन् नियाल्नुपर्दछ । प्रहरी कर्मचारीहरुलाई उपलब्ध स्रोतसाधन र जनशक्तिको अनुमान गरी प्रहरी परिचालन तथा घटना, दुर्घटनामा प्रहरीको रेस्पोन्स तथा घटनास्थलमा गर्ने व्यावसायिकता प्रदर्शनबारे निगरानी गर्नुपर्दछ । अपराध भएको, भइरहेको र हुने सम्भावना भएकोबारे नजिकको प्रहरी कार्यालयमा तत्कालै सूचना दिने र प्रहरीले गर्ने कर्तव्यपालनाको स्तरबारे सूक्ष्म अध्ययन गर्नुपर्दछ । प्रहरी कार्यालयबाट सेवा प्राप्त गर्दा सेवाग्राही उपर विधिसम्मत तथा सही व्यवहार नभएमा सोको यथार्थ विवरण राख्नुपर्दछ भने प्रहरी कर्मचारीले आफ्नो पोसाकको कदर नगरेको, प्रहरी आचरणविरूद्धका क्रियाकलापहरु प्रदर्शन गरेको आदि पाइएमा सोसमेतको विवरण राख्नुपर्दछ । यसरी हामी सबैले आफ्नो अध्ययन तथा भोगाइमा प्रहरीले नागरिकमैत्री तथा कानुनसम्मत काम गरेको लागेमा सोहीबमोजिमको प्रशंसा तथा धन्यवाद र कर्तव्यपालना नगरेको लागेमा नजिकको स्थानीयस्तरमा रहेको सुझाव तथा गुनासो पेटिकामा सभ्य भाषामा विस्तृत विवरणसहितको गुनासो गर्नु वा सुझाव दिनु आमसर्वसाधारणको भूमिका हुने देखिन्छ ।
पालिकाको भूमिका
सुझाव तथा गुनासो पेटिका स्थापना भएको पालिकाले पेटिकालाई सुरक्षित तरिकाले पालिकामा आउने सबै सेवाग्राहीले देख्न सक्ने स्थानमा राख्ने व्यवस्था मिलाउनुपर्दछ भने आफ्नो कार्यक्षेत्रका नागरिकहरुलाई प्रहरी कार्यसम्पादनसम्बन्धी सुझाव दिने वा गुनासा राख्ने पेटिका आफ्नो कार्यालयमा भएकोबारे जानकारी गराई दिनुपर्दछ । प्रत्येक महिनाको एक गते पालिकाको जिम्मेवार पदाधिकारी र प्रहरीको रोहवरमा पेटिका खोली, थान गन्ती र खामबन्दी गरी यथासम्भव लाहाछापसमेत लगाई सोको फोटो खिची बन्द खामलाई सम्बन्धित प्रहरी कार्यालयमा पु¥याउन प्रहरी जिम्मा लगाउनुपर्दछ भने पेटिका खोलेको मुचुल्कासमेत राख्नु उपयुक्त हुन्छ । त्यसका अतिरिक्त आफ्नो पालिकामा रहेको पेटिकामा परेको सुझाव तथा उजुरी उपर भएको सुनुवाइको कारबाहीबारे जानकारी लिने र आवश्यकताअनुसार सम्बन्धितलाई दिने व्यवस्थासमेत गर्नुपर्दछ । त्यो पेटिकामा पालिका उपरकै गुनासाहरु समेत पर्न सक्ने भएकाले त्यस्ता गुनासाहरु गोप्यरुपमा पालिकामै फिर्ता गर्न सम्बन्धित प्रहरी कार्यालयसँग समन्वय गर्ने र गुनासाहरुको सम्बोधनसमेत गर्नुपर्दछ ।
जिल्ला प्रहरी कार्यालयको भूमिका
प्रहरी प्रधान कार्यालयको अभियानअनुसार प्रदेश प्रहरी कार्यालयको पहलमा स्थानीय पालिकाहरुमा स्थापना हुने सुझाव तथा गुनासो पेटिकाको सुरक्षितसाथ स्थापना गर्ने, पालिका प्रमुख, सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरु र सम्पूर्ण जिल्लावासीहरुलाई पेटिका स्थापनाको उद्देश्यबारे जानकारी गराउने, प्रचारप्रसार गर्ने र सुझाव तथा गुनासाहरु राख्न उत्प्रेरित गर्नुपर्दछ । हिजोका दिनहरुमा सम्बन्धित प्रहरी कार्यालयहरुमा सुझाव तथा गुनासो पेटिकाहरु रहने, कार्यालय प्रमुखको विवेकले उपयुक्त देखेको बेलामा खोल्ने, त्यसको कतै प्रतिवेदन गर्नु नपर्ने, जानकारी गराउनु नपर्ने परिपाटी भएकोमा प्रहरी कार्यालयको कम्पाउन्डमा गई गुनासो गर्न आमसर्वसाधारणहरु हिचकिचाउने र गरेका गुनासाहरुको सुनुवाइसम्बन्धमा समेत कार्यालय प्रमुखको विवेकमा भर पर्ने भएकोले त्योभन्दा फरक स्थानीय पालिकाहरुमा पेटिका स्थापना भएकोले आमसर्वसाधारणहरुलाई सुविधा भएको छ । जोसुकैले पनि प्रहरीको कार्यसम्पादनका विषयमा गुनासो गर्न सक्ने, सुझाव दिन सक्ने भएकोले सबै दर्जाका प्रहरी कर्मचारीहरुलाई जिम्मेवार बनाउन पेटिकाले मह¤वपूर्ण भूमिका खेल्न सक्ने कुरा कार्यालय प्रमुखले ब्रिफिङ गरिरहनुपर्दछ । कार्यविधिअनुसार प्रत्येक महिनाको एक गते स्थानीय पालिकाहरुमा प्रहरी प्रतिनिधि पठाउने, विधिअनुसार खोल्ने र पालिकाबाट प्राप्त भएको बन्दी खामलाई जस्ताको तस्तै माथिल्ला कार्यालयमा पु¥याउनु र सम्बोधन भएका गुनासा तथा सुझावहरुको शीघ्र कार्यान्वयन गर्नु जिल्ला प्रहरी कार्यालयको भूमिका हुने देखिन्छ ।
निष्कर्ष
नेपाल प्रहरीले घरदैलोबाटै आमनागरिकहरुबाट सुझाव संकलन गर्ने, प्रहरी कार्यसम्पादनका सम्बन्धमा गुनासा भए त्यस्ता गुनासाहरु संकलन गर्ने र गुनासाहरुको सम्बोधन गर्ने तथा कानुनबमोजिमका सुझावहरुलाई हृदयङ्गम गरी भावी योजना बनाउने पवित्र उद्देश्यले स्थापना गरेको सुझाव तथा गुनासो पेटिकालाई स्थापनाको उद्देश्यअनुरुप कार्यान्वयन गर्ने वातावरण सृजना गर्नुृ हामी सबैको दायित्व हो । तसर्थ, वास्तविक गुनासाहरु र विधिसम्मत सुझावहरुमात्रै पेटिकामार्फत दिने गरी पेटिकाको भरपूर उपयोग गर्नु आजको आवश्यकता हो । तसर्थ, वास्तविकमात्र गुनासाहरु राख्ने परिपाटीको विकास गरौँ, नेपाल प्रहरीलाई विधिसम्मत कार्य गर्ने तथा गर्नुपर्ने वातावरणको सृजना गरौँ ।
(पूर्वप्रहरी अधिकृत तथा लाइसियम स्कुल रत्ननगरका प्रबन्ध निर्देशक)

[email protected]

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया