भैँसीपालनबाट मासिक डेढ लाख आम्दानी

अन‌ि यो पनि

मेघौली । पश्चिम चितवनको भरतपुर–२७ निवासी शिव भूर्तेलले व्यावसायिक भैँसीपालनबाट मासिक १ लाख ५० हजार आम्दानी गर्न सफल भएका छन् । उनले मुर्रा, गुजराती, पञ्जाबी क्रसलगायतका उन्नत जातका भैँसी पालेर दैनिक ७५ देखि ८० लिटरसम्म दूध बिक्री गर्छन् ।
भूर्तेल करिब ३ वर्षदेखि भैँसीपालन व्यवसायमा छन् । उनले उत्पादन गरेको दूध स्थानीयस्तरमा खपत हुन्छ । पैसा कमाउन विदेश चहार्नेका लागि स्वदेशमा कृषि, पशुपालन तथा अन्य व्यवसायबाट मेहनतअनुसार आम्दानी हुन्छ भन्ने उदाहरण बन्दै उनी अहिले नमुना व्यक्ति बनेका छन् ।
आफ्नो ११ वर्षे लामो साना किसान आयोजनाको जागिरे जीवनको अनुभव सँगाल्दै व्यावसायिक भैँसीपालनमा जुटेका हुन् उनी । भूर्तेल आफैँ पनि भैँसीको स्याहारसुसारदेखि दूध दुहुने काममा खट्छन् । उनी भन्छन्, ‘अरु विदेशमा गएर जस्तो पनि काम गर्छन्, म आफ्नै फार्ममा भैँसी दुहुन पाउँदा रमाउँछु, मलाई काम सानो–ठूलो लाग्दैन ।’ उनले घरबाटै दूध बेच्छन् । उनका अनुसार उत्पादन गर्नमात्रै गाह्रो हो, बजारको भने कुनै अभाव छैन ।
मेघौली साना सहरी खानेपानी संस्थाका अध्यक्ष तथा जनकल्याण साकोसका सल्लाहकारसमेत रहेका भूर्तेलले उन्नत भैँसी फार्ममार्फत भैँसीपालन गर्दै आएका छन् । भैँसीपालन केन्द्रमा भैँसीको दूधसँगै मुर्रा जातका भैँसीका पाडापाडीसमेत उत्पादन हुँदै आएको उनले बताए ।
सुरूमा ३४ लाख लगानी रहेको शिव भूर्तेलको फार्ममा अहिले २५ वटा मुर्रा भैँसी रहेका छन् । हाल एघारवटा भैँसी दुहुना छन् । २ बिगाहा जग्गामा भैँसीका लागि आवश्यकताअनुसार घाँसखेती गर्दै आएका उनको भैँसीपालन केन्द्र यतिबेला आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ अहिले घरपरिवारसहित बाहिरका चार जनाले रोजगारीसमेत पाएका छन् ।
उनका अनुसार फार्ममा दैनिक छ–सात भारी घाँस, पराल र दुई चरण कुँडो तथा चोकर आवश्यक हुन्छ । फार्म सञ्चालन गर्नेलाई सरकारले ठाउँठाउँमा आर्थिक अनुदान दिने गरेको सुनिए पनि आफूले भने अहिलेसम्म त्यस्तो अनुदान प्राप्त नगरेको उनले बताए ।
भैँसीपालनका लागि पशु स्वास्थ्य सहज नहुँदा पटकपटक समस्या भोग्नु परेको उनको दुःखेसो छ । फार्ममा पशुसेवा केन्द्र मेघौलीको सिफारिसमा यसअघि पशुसेवा कार्यालय भरतपुरबाट प्राप्त जई घास, मकैचरी घाँसको बीउ लगाएर भैँसीलाई खुवाइएको उनले बताए । चितवन राष्ट्रिय निकुञ्जका मृगका बथान आएर जई घाँस सखाप पारेको र पटकपटक जानकारी गराउँदा पनि कुनै क्षतिपूर्ति नपाएको उनले बताए ।
एउटा भैँसीका लागि करिब डेढ लाखसम्म लगानी गर्नुपर्छ । भारतको बिहार, युपी तथा नेपालको बारा, पर्सा, रौतहट, सर्लाही, त्रिवेणीलगायतका ठाउँहरुबाट भैँसी ल्याउने गरेको उनले सुनाए । ‘यसरी ल्याएको भैँसी ब्याएपछि ६ महिनादेखि ९ महिनासम्म दूध दिन्छ’, उनले भने । दूध दिन छाडेपछि मासुका लागि बेच्नुपर्ने बाध्यता छ उनको । किनकि मुर्रा, गुजराती, पञ्जाबी क्रसलगायतका भैँसी एकपटक ब्याएपछि फेरि बथान जाने सम्भावना बिरलै हुने उनको अनुभव छ ।
भैँसीले दूध दिने अवस्थासम्म दूधको व्यापार र त्यसपछि मासुको प्रयोजनमा समेत बिक्री हुने गरेका कारण पछिल्लो समयमा भैँसीपालनतर्फ निकै आकर्षण बढिरहेको छ । भैँसीको दूध प्रतिलिटर ८० मा बिक्री हुने गरेको जानकारी दिँदै भूर्तेलले बजारमा अत्यधिक मागका कारण त्यसअनुरुप दूध पु¥याउन धौधौ भएको अनुभव सुनाए ।

प्रतिकृया

मुख्य समाचार

परीक्षण कम हुँदा सङ्क्रमितको संख्या घट्दो, १२८ सङ्क्रमित थपिए, ९३ सङ्क्रमणमुक्त

भरतपुर । चितवनमा पछिल्लो हप्ता कोरोनाको परीक्षण कम भएको देखिन्छ । जेठ ३१ गते ७५० जनाको परीक्षण भएकोमा त्यसपछि...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया