निकुञ्जमा पाँच वर्षमा मरे १३९ गैँडा

अन‌ि यो पनि

रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जमा पाँच वर्षमा १३९ वटा गैँडा मरेका छन् । चालू आर्थिक वर्षको साउन र भदौ महिनामा मात्र ४ वटा गैँडा मरेको निकुञ्जले जनाएको छ । सन् २०१५ मा गरिएको गैँडा गणनापछि चितवन निकुञ्जमा १३९ वटा गैँडा मरेका हुन् । सो अवधिमा एक वर्षमा ४३ वटासम्म गैँडा मरेको तथ्याङ्क निकुञ्जसँग रहेको छ । संरक्षणकर्मीहरुले गैँडा संरक्षणमा चुनौती रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
आर्थिक वर्ष २०७२/०७३ मा १४ वटा, २०७३/०७४ मा २५ वटा, २०७४/०७५ मा २५ वटा, २०७५/०७६ मा सबैभन्दा धेरै ४३ वटा र २०७६/०७७ मा २७ वटा गैँडा मरेको निकुञ्जले जनाएको छ । १३९ वटामध्ये तीनवटा गैँडामात्रै चोरीसिकारीले मारेका छन् । अन्य गैँडाहरु बाढीले बगाएर, उमेर पुगेर, एकआपसमा जुधेर र कालगतिले मरेको निकुञ्जका सूचना अधिकारी अशोककुमार रायले जानकारी दिए । चालू आर्थिक वर्षको दुई महिनामा ३ वटा कालगतिले र एउटा गैँडा चोरीसिकारीले मारेको उनले बताए । सन् २०१५ मा गरिएको गणनामा चितवन निकुञ्जमा ६०५ सहित नेपालका संरक्षित क्षेत्रमा गरी ६४५ गैँडा रहेका थिए ।
मंगलबार विश्व गैँडा दिवस मनाइरहँदा चोरीसिकार नियन्त्रण भए पनि बासस्थान र आहारको अभावले गैँडा मरेको भन्दै संरक्षणकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । दिवसको अवसरमा सौराहामा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम अधिकारीले गैँडाको विषयमा गरेको अनुसन्धानात्मक प्रतिवेदन प्रस्तुत गर्दै आहारको खोजीमा भौँतारिँदा एकअर्कामा जुधेर गैँडा मर्ने गरेको उल्लेख गरेका छन् । निकुञ्जमा घाँसे मैदान र सिमसार क्षेत्र घट्दै गएका कारण आहारको खोजीमा गाउँ छिरेको गैँडा करेन्ट लागेर, खाल्डोमा परेर मर्नु दुःखद भएको उनले बताए ।
अनुसन्धान अधिकृतसमेत रहेका अधिकारीले ९३२ वर्गकिलोमिटर क्षेत्रफल रहेको निकुञ्जमा ५४४ वर्गकिलोमिटर क्षेत्रफलमात्रै गैँडाका लागि उत्तम रहेको बताए । ‘गैँडालाई जंगल, घाँसे मैदान र सिमसार क्षेत्र चाहिन्छ’, उनले भने, ‘यो जनावर नदी तटीय घाँसे मैदानमा बस्छ ।’ उनले गैँडा जोगाउन निकुञ्जमा घाँसे मैदान र सिमसार क्षेत्रको व्यवस्थापन जरूरी रहेको बताए ।
कार्यक्रममा सहभागी संरक्षणकर्मीहरुले कोरोना महामारीका कारण गैँडा संरक्षणमा चुनौती थपिएको भन्दै नेपाली सेना, निकुञ्जका अधिकारी र समुदायको त्रिपक्षीय सहकार्यमा संरक्षण अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताएका थिए । करिब १० दिनअधि चितवन निकुञ्जअन्तर्गत नवलपरासीमा सिकारीले गैँडा मारेका थिए । करिब ४ वर्षपछि निकुञ्जमा चोरीसिकारीहरु सलबलाउन खोजेको भन्दै संरक्षणकर्मीहरुले समुदायमा सचेतना र निकुञ्जमा गस्ती बढाउनुपर्ने बताएका थिए ।
दिवसको अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा र बाघमारा मध्यवर्ती सामुदायिक वनले सौराहामा आयोजना गरेको अन्तक्र्रियामा निकुञ्जका सौराहा सेक्टर प्रमुख प्रकाश उप्रेतीले कोरोना महामारीका कारण निकुञ्जमा मानवीय गतिविधि बढ्न थालेपछि गस्ती बढाइएको बताए । लकडाउनका कारण फुर्सदिला बनेका स्थानीयहरु खोलामा माछा मार्ने, निगुरो टिप्ने काममा सक्रिय हुन थालेको भन्दै नियन्त्रणमा निकुञ्ज लागेको उनले बताए ।
बाघमारा वनका अध्यक्ष जीतु तामाङको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षणकर्मी टीका गिरी, टिकौली सामुदायिक वनका अध्यक्ष ईश्वरीप्रसाद लामिछाने, नेचर गाइड एसोसिएसन चितवनका अध्यक्ष राजेन्द्र धामी, पूर्वअध्यक्ष उदयचन्द्र अर्याल, बर्ड एजुकेसन सोसाइटी चितवनकी अध्यक्ष सरस्वती सेढाईं, पूर्वअध्यक्ष वासु बिडारी, समुदायमा आधारित चोरीसिकार नियन्त्रण युवा जागरण अभियानकी अध्यक्ष डोमा पौडेल, चित्रसेन मध्यवर्ती सामुदायिक वनकी सचिव रीता थापा, कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशकुमार श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

 

प्रतिकृया

मुख्य समाचार

खोप ल्याउने छलफल मात्रै हुँदा मन्त्रीको दाबी-‘खोप ल्याएर चमत्कारी देखाउँछौँ’

काठमाडौँ ११ असार । सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने निर्णय गरेको छ। शुक्रबार स्वास्थ्य...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया