सरकारी कार्यालयका कर्मचारीहरुको अनियमितताको प्रसङ्ग बेलाबेला चर्चामा आउने गर्दछ । केही वर्षअघिसम्म सरकारी कार्यालयमा काम गर्ने कर्मचारीलाई भ्रष्टाचारको पर्यायवाचीका रुपमा लिइने गरिन्थ्यो । सरकारी कार्यालयभित्र हुने गरेका अनियमितताको प्रसङ्ग सेलाएजस्तो देखिएका बेला जिल्ला जनस्वास्थ्य कार्र्यालयमा अनियमितता भेटिएको समाचार आएको छ । स्वास्थ्य संस्थाहरुमा ‘देखावटी अनुगमन’ गरेर चर्चामा आउने गरेको जनस्वास्थ्य कार्यालयभित्र कार्यालय प्रयोजनका लागि राखिएका सवारीसाधन कर्मचारीको व्यक्तिगत र पारिवारिक काममा प्रयोग भइरहेको भेटिएको छ । सरकारी सवारीसाधनलाई व्यक्तिगत बनाई जनस्वास्थ्य कार्यालयका चार जना कर्मचारीले अनियमितता गरेको पाइएको छ । कर्मचारीहरुको बदनियतपूर्ण कार्यमा कार्यालय प्रमुखको समर्थनसमेत रहेको देखिएको छ । जिल्ला जनस्वास्थ्यमा भएको यस प्रकारको भ्रष्टाचारबारे जिल्ला प्रशासन कार्यालय बेखबर रहनु पनि दुर्भाग्यपूर्ण मानिएको छ ।
जनस्वास्थ्यका कर्मचारीले कार्यालयको नाममा रहेको मोटरसाइकल, स्कुटर कार्यालयको काममा नल्याउने र निजहरुका छोराछोरीले प्रयोग गर्दै आएको भेटिएको छ । त्यसमा पनि इन्धन भने नियमित रुपमा कार्यालयबाट व्यहोर्ने गरेको पाइएको छ । कतिपय कर्मचारीहरुले सरकारी साधन निजी नम्बर प्लेटमा बदलेर नियमित रुपमा इन्धन खर्च लिँदै डेरामा थन्क्याएर अनियमितता गरिरहेको भेटिएको छ । यसरी सरकारी बजेटमा रजाइँ गर्नेविरूद्ध जनस्वास्थ्यले कुनै कारबाही अघि बढाउन नसक्नु अर्को विडम्बना हो । जनस्वास्थ्य कार्यालयमा ज्यालादारी काम गर्ने कर्मचारीले पनि साधनको दुरूपयोग गरेको पाइनु हदैसम्मको भ्रष्टाचार हो । दैनिक ज्यालादारी कर्मचारीलाई दिन नमिल्ने साधन दिएर जनस्वास्थ्यले सरकारी नियम र प्रावधानको समेत खिल्ली उडाएको छ । आपसी समझदारीका आधारमा कार्यालयभित्र आर्थिक चलखेल हुने गरेका प्रसङ्गहरु बाहिर आएका थिए ।
जनस्वास्थ्य प्रमुखले सवारीसाधनको दुरूपयोग भएको स्वीकार गर्दै आफूले रोक्न नसकेकोमा निरीहता देखाएका छन् । यसले कर्मचारीतन्त्र हाबी भएको र सरकारी दुरूपयोग बढिरहेको प्रस्ट हुन्छ । सरकारी सवारीसाधनमा रातो नम्बर प्लेट राखेर निजी काममा प्रयोग गर्ने तर इन्धन खर्च भने कार्यालयबाट लिने सरकारी रबैयाविरूद्ध प्रशासनसमेत बेखबर रह्यो । सरकारी कर्मचारीले सरकारी साधन व्यक्तिगत कामकारबाहीमा प्रयोग गर्ने चलन नयाँ भने होइन । यसअघि पनि कार्यालय प्रमुखहरु बिदाका दिनमा समेत सरकारी गाडी दुरूपयोग गरी परिवारसँग घुम्ने र कार्यालय समयपछि विभिन्न होटलहरुमा देखिने गुनासाहरु सुनिँदै आएका थिए । जिल्ला प्रशासनले जनस्वास्थ्यका कर्मचारीले गरेको सवारीसाधनको अनियमितताप्रति ध्यानाकर्षण भएको जनाउँदै जनस्वास्थ्यसँग जवाफ मागेको छ । उसले अन्य सरकारी कार्यालयमा हुने गरेका विभिन्न सरकारी सम्पत्तिको दुरूपयोगसम्बन्धी गतिविधि छानबिन गरी अनियमितता रोक्नु आवश्यक देखिएको छ ।
Discussion about this post