सबैको प्रेरणाको स्रोत सीताराम कट्टेल ‘धुर्मुस’

अन‌ि यो पनि

भनिन्छ, मान्छेको जीवन एउटा पुस्तक हो । पाठशाला र प्रयोगशाला हो, जति अध्ययन र खोज गरे पनि नसकिने विशाल संसार हो । जीवन के हो, के होइन ? जीवनमा के छ, के छैन ? प्रयोग गर्न जान्नेहरुका लागि जीवन वासना दिने फूल हो, मीठो फल हो, खुसी र आनन्दको मुहान हो । व्यर्थ ठान्नेहरुका लागि जीवन दुःख, कष्ट र पीडा हो । स्वतन्त्रता छ मान्छेलाई आफ्नो इच्छानुसार जीवन जसरी प्रयोग गरे पनि हुने । बनाउने, बिगार्ने स्वयम्मा रहेछ जीवन । के गर्ने र के नगर्ने ? कति गर्ने र कति नगर्ने ? त्यसले निर्धारण गर्ने रहेछ मान्छेलाई ।
एउटा असल व्यक्तिको जन्म हुनुलाई राष्ट्रकै गौरवको रुपमा लिने गरिन्छ । एक असल व्यक्तिबाट समाज, राष्ट्र र विश्वलाई नै परिवर्तन गर्न सकिने रहेछ । युग अब नयाँ चरणमा प्रवेश गरिसकेको छ । मान्छेको बौद्धिक क्षमता र प्रतिस्पर्धाको युग । नयाँ ज्ञान र सीप उत्पादन गरेर विश्वभर ज्ञान र सीपको सूत्र बेचेर धनी बन्ने युग । सम्पन्नताका लागि अब धनी परिवारमै जन्मनुपर्छ भन्ने रहेन । साधारण परिवारमा जन्मेकाहरु अथाह सम्पत्तिको मालिक बनेका थुप्रै उदाहरणहरु हामीले देखेका छौँ ।
संसारमा मान्छेहरु फरक गुण, दोष, स्वभाव र चरित्र लिएर जन्मेका हुन्छन् । मान्छेले चाहेमा के गर्न सकिँदैन भन्ने कुरा भिन्न गुण, स्वभाव र क्षमता भएका सीताराम कट्टेलले गरेका कामहरुद्वारा प्रमाणित हुने गर्दछ । विसं २०४० साल असार ४ गते सगरमाथा अञ्चल, सोलुखुम्बु जिल्लाको नेचा गाविसको वेदघारे गाउँमा बाबु मेघराज कट्टेल र आमा कमला कट्टेलको कोखबाट जन्मेका सीताराम कट्टेल, कट्टेल परिवारको जेठो सन्तान हुन् । उनी आठ वर्षको हुँदा उनका बुबा मेघराज कट्टेल सबै परिवारसहित झापा जिल्लामा बसाइँ सरेका थिए । सीतारामको माध्यमिक तहसम्मको शिक्षा झापाकै गौरादहमा भएको थियो । निम्न आर्थिक अवस्था भएक सीताराम कट्टेललाई कापी–कलमको जोहो गर्न पनि निकै कठिन थियो । कहिले हलो जोत्ने त कहिले स्केच चित्र बनाएर उनी आफ्नो गर्जो टार्ने गर्दथे । खेतबारीको काम, घाँसदाउरा र घरायसी कामसँगै आफ्नो अध्ययनलाई अघि बढाउने गरेका सीताराम स्कुलमा पनि राम्रो विद्यार्थीका रुपमा गणनामा पर्ने गर्दथे ।
एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि बुबाले ३६ प्रतिशत व्याजदरमा ऋण खोजेर प्राप्त रकम रू. १,७००।– गोजीमा राखेर सीताराम कट्टेल काठमाडौँ प्रवेश गरेका थिए । कोठा खोज्दा र कोठामा सामान्य सामान जुटाउँदा उनको पैसा सकिन्छ । दैनिक हातमुख जोड्ने र आफ्नो अध्ययनलाई अघि बढाउनका लागि उनले काठमाडौँमा चित्र बनाउनेदेखि लिएर भाँडा बेच्ने कामसमेत गरेका थिए । संघर्षले जम्मा गरेको पैसाले उनी रत्नराज्य क्याम्पसमा भर्ना हुन्छन् । काठमाडौँमा टिक्न र दैनिकी चलाउन उनलाई निकै नै कठिन हुन्छ । साथीहरुसँग जोक गर्ने, हँसाउने कामले उनको धेरै दिनको छाक टर्ने काम हुन्छ । काठमाडौँको बसाइँसँगै उनमा कलाकार बन्ने भोक पनि जाग्न थाल्छ । लामो समयसम्म काठमाडौँमा टिकिराख्न र आफ्नो कलेज अध्ययनलाई अघि बढाउन नसकेपछि उनी गाउँमै फर्कन्छन् ।
केही समय गाउँमा बसेर फेरि पनि उनी संघर्षसँग जुध्नका लागि काठमाडौँ नै फर्कन्छन् । धेरै साथीहरुसँगको चिनजान र पहिलो बसाइँमा नै परिचित काठमाडौँ दोस्रोपटक उनका लागि त्यति कठिन बन्दैन । काठमाडौँ बसाइँसँगै उनले सन्तोष पन्तको हिजो आजको कुरामा छोटो संवाद गर्ने मौका प्राप्त गर्छन् । जीतु नेपालसँगको भेटघाटपछि उनले औपचारिकरुपमा हास्यकलाकारको रुपमा प्रवेश पाउँछन् । गीताञ्जली टेलिफिल्ममा अभिनयसँगै उनले माग्ने बूढा (केदार घिमिरे)सँगको भेटघाटपछि धुर्मस र माग्ने बूढाको जोडीले राम्रो बजार लिन सफल हुन्छन् । गीताञ्जलीको अभिनयसँगै उनले तीतोसत्यका निर्देशक दीपकराज गिरीसँग भेट गर्ने मौका प्राप्त गर्छन् र तीतोसत्यमा अभिनय गर्नसमेत पाउँछन् । पछि केदार घिमिरेसँग मिलेर ‘मेरी बास्सै’ नामको टेलिफिल्म बनाएर राम्रो नाम कमाउन सफल हुन्छन् । मेरी बास्सै निर्माणको क्रममा धुर्मुस जोडीको रुपमा देखिएकी कुञ्जना घिमिरेसँग २०६५ मंसिर १४ गते विवाह हुन पुग्छ । हाल उनीहरुका एउटी छोरीसमेत भएको छ ।
२०७२ वैशाख १२ गतेको विनासकारी भूकम्पपछि धुर्मुस–सुन्तली जोडी सामाजिक काममा पनि सक्रिय रहेको देखिन्छ । काभ्रेको डाँडागाउँमा रू. ६७ लाख ३६ हजार लगानीमा धुर्मुस जोडीले पहाडी नमुना एकीकृत बस्तीमा २० वटा तीनकोठे घरहरु निर्माण गरेर सहयोग गरेका छन् । त्यस्तै, सिन्धुपाल्चोकको गिरानचौरमा रू. ५ करोड १५ लाख लागतमा ६६ घर बनाएर सहयोग गरेका छन् । महोत्तरीको मुसहर नमुना बस्तीमा ५ करोड लागतमा ५३ वटा ५ कोठे घर निर्माण गरेर अत्यन्त पिछडिएका जनतालाई सहयोग पु¥याएका छन् ।
नेपालमा हालसम्म अन्तर्राष्ट्रियस्तरको रङ्गशाला नभएको र क्रिकेट खेलमा नेपालको विश्वमाझ प्रतिस्पर्धा गर्न सक्ने खेलाडी तैयार भैसकेकोले देशको प्रतिष्ठा र खेल क्षेत्रको स्तरवृद्धिका लागि अन्तर्राष्ट्रियस्तरको रङ्गशाला आवश्यक छ भन्ने कुराको महसुस गर्दै धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा नेपालको केन्द्रबिन्दु चितवनको रामपुरमा २० बिघा ६ कठ्ठा क्षेत्रफलमा ३० हजार दर्शकले एकैपटक खेल हेर्न मिल्ने रङ्गशाला र एउटै छानामुनि २२ वटा खेल प्रशिक्षण र खेल सञ्चालन गर्न मिल्ने रङ्गशालाको २०७५÷१०÷१६ गते तत्कालीन सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीबाट समुद्घाटन भएर निर्माण कार्य अघि बढेको छ । करिब तीन अरब अनुमानित लागत खर्च लाग्ने उक्त रङ्गशाला दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेता पनि कोभिड–१९ को कारण केही समय थप लाग्ने अनुमान गर्न सकिन्छ । निकट भविष्यमा निर्माण सम्पन्न हुने नेपालको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्नेमा पक्का भएको छ । विश्वलाई फरक पहिचान र सन्देश दिने नेपालको गौरव अन्तर्राष्टिय रङ्गशालाको प्रवेश भागमा शान्तिको दूत गौतमबुद्धको प्रतिमा हुनेछ । सात प्रदेशलाई प्रतिबिम्बित गर्ने सातवटा कमलका फूलहरु हुनेछन् । नेपालका ७७ जिल्ला झल्काउने ७७ वटा कमलका फूलहरु र ७७ जिल्लाको प्रतिनिधित्व गर्ने ७७ वटा कक्षहरु रहनेछन्, जसले आआफ्नो जिल्लाको गौरव, चिनारी र पहिचान झल्कने सामानहरुबाट नेपालका सबै जिल्लालाई एकै ठाउँमा केन्द्रीकृत गराउन सकिने देखिन्छ ।
एक साधारण मान्छे अरुको जस्तै घरपरिवार, दुःखसुख र सपनालाई किनारामा राखेर देश र जनताका लागि चिन्ता गर्ने सीताराम कट्टेलजस्ता मान्छेहरु संसारमा बिरलै पाइने गर्दछन् । हाँस्नु मान्छेका लागि पोषण त¤वजस्तै हो । जति हाँस्यो शरीरलाई त्यति फाइदा हुने । वैज्ञानिकको भनाइमा बच्चाहरु दैनिक ३०० पटक हाँस्ने गर्दछन् । वयस्क मान्छेहरु वर्षभरिमा एकपटक हाँस्न मुस्किल हुन्छ । सीताराम कट्टेलले टेलिफिल्ममा विभिन्न अभिनय गरेर सबैलाई हँसाउने गरेका छन् । सीताराम कट्टेल देशका सबै नेपालीहरु हाँसेको, खुसी र आनन्दित भएको हेर्न चाहन्छन् । उनी देशले विकास गरेको देख्न चाहन्छन् ।
फरक भौगोलिक धरातल, फरक हावापानी, जातजाति, भेषभूषा, बोलीचाली, रहनसहन र फरक धर्म, कला र संस्कृतिले भरिएको नेपालजस्तो मुलुक विश्वमा अन्यत्र पाइँदैन । भविष्यमा सीताराम कट्टेल ‘नमुना नेपाल’ नाम दिएर फरक धर्म, कला, संस्कृति र फरक जातजाति बसोबास गर्ने थलोका रुपमा विश्वलाई परिचय गराएर नेपालमा पर्यटक आकर्षण गर्ने स्थल बनाउने उनको उद्देश्य रहेको समेत हामीले सुनेका छौँ ।
जनताको जीवनस्तर उकास्ने, गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्था र भौतिक पूर्वाधार तैयार गरेर देशलाई समृद्ध बनाउने काम राज्यको हो । यस्ता काम गर्नका लागि ठूलो धनराशि र जनशक्तिको आवश्यकता पर्ने हुन्छ । प्राकृतिकरुपले प्रशस्त सम्भावना भएको देश नेपाल कुशल व्यवस्थापन नभएको कारण अहिलेसम्म गरिबीमा नै खुम्चेर रहन बाध्य भएको छ ।
व्यक्तिगतरुपमा सीताराम कट्टेलले देशमा जेजति काम गरेका छन् उनले गरेको कामको उच्च सम्मान गर्नुपर्दछ । चितवन जिल्लामा आएर यति ठूलो काम गर्ने तपाईं सीताराम कट्टेल (धुर्मुस–सुन्तली फाउण्डेशन)लाई म चितवनवासीको नाताले हार्दिक धन्यवाद भन्न चाहन्छु । तपाईं प्रेरणाको स्रोत बनेर धेरै नेपालीले तपाईंद्वारा भएको राम्रो कामको उच्च मूल्याङ्कन गर्दै सबैले अनुकरण गर्न सकून् ।

 

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया