विश्वशान्ति दिवसको सन्दर्भ

अन‌ि यो पनि

आज सेप्टेम्बर २१ अर्थात् अन्तर्राष्ट्रिय शान्ति दिवस, विश्वभर विविध कार्यक्रमका साथ मनाइँदै छ । यसवर्ष ‘सबै मिलेर शान्तिको लागि पहल गरौँ’ भन्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघले विश्वमा शान्ति स्थापनाका लागि विश्व समुदाय साथमा मिलेर पहल गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पनि विश्वमा शान्ति स्थापनाका लागि नयाँ रुपले र सामूहिक पहलको थालनी गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघमा सदस्यका रुपमा आबद्ध विश्वका सबै देशहरु, नागरिक समाज र विश्वका विभिन्न स्थानमा हिंसा मच्चाइरहेका विभिन्न सशस्त्र समूहहरुलाई शान्ति स्थापनाको काममा एकसाथ लाग्नसमेत महासचिवले अपिल गरेका छन् । आज हामीले यो दिवस मनाउँदै गर्दा अफगानिस्तान र सुडानजस्ता देशमा पछिल्लो समय शान्ति स्थापनाका लागि पहलहरु सकारात्मकरुपमा अघि बढेका छन् भने सिरिया, लिबिया र युक्रेनमा पनि हिंसा रोकिनुका साथै युद्धविराम भएका खबरहरु सार्वजनिक भएका छन् । यसबाट वर्षौंदेखि युद्धरत र द्वन्द्वग्रस्त मुलुक शान्तिको लागि अग्रसर रहेको र हिंसात्मक गतिविधि अन्त्य गर्दै शान्ति वार्तातर्फ अघि बढेको संकेत मिलेको छ । यो विश्वशान्तिको लागि सुखद पक्ष हो ।
नेपालको परिप्रेक्ष्यमा पनि १२ वर्षे लामो सशस्त्र द्वन्द्वको अन्त्य भई नेपाल नयाँ युगमा प्रवेश गरिसकेको छ । नेपाली नागरिकले १२ वर्षसम्म भोग्नु परेको अशान्ति, सकस र सङ्कटको विधिवत् अन्त्य पनि शान्ति प्रक्रियाको माध्यमबाटै भएको हो । परिवर्तनका नाममा भएको हिंसात्मक आन्दोलनका कारण नेपालमा १७ हजार नागरिकले ज्यान गुमाउन विवश भए । लाखौँ नागरिक विस्थापित भए भने सयौँ अझै पनि अङ्गभङ्ग भई बाँचिरहेका छन् । सशस्त्र द्वन्द्वका अवशेषहरु अझै पनि बाँकी नै छन् । द्वन्द्वकालीन न्यायको निरुपण अझैसम्म हुन सकेको छैन । कुनै पनि मुलुकमा द्वन्द्व र अशान्ति बढ्नु भनेको विकास र समृद्धि वर्षौं पछाडि धकेलिनु हो । द्वन्द्वपश्चात् पनि त्यसले सामाजिक जीवनलाई वर्षौंसम्म प्रभाव पारेको हुन्छ । नेपालमा सरकार र तत्कालीन नेकपा (माओवादी)बीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि शान्ति प्रक्रियाको सुुरूवात भयो । जसमा संयुक्त राष्ट्रसंघ (अनमिन)ले सेना समायोजनलगायतमा भूमिका खेल्यो । शान्ति प्रक्रिया सुरू भएपछि नयाँ संविधान लेखन कार्यमात्रै अगाडि बढेन, संविधान कार्यान्वयन भई हामीले अहिले छैटौँ संविधान दिवससमेत मनाइसकेका छौँ । नेपालमा शान्ति कायम गर्न अपनाइएका उपाय यतिखेर अन्तर्राष्ट्रियस्तरमै चासो र अध्ययनको विषय बन्न पुगेको छ । नेपालले अवलम्बन गरेको संवाद, सहमति, सहकार्य र एकताको सूत्र शान्ति स्थापनाका लागि उत्तिकै मार्गदर्शन बन्न पुगेको छ ।
नेपालमा राजनीतिक घटनाक्रमको परिणामका कारण नै एक दशक लामो सशस्त्र द्वन्द्वको विधिवत् अन्त्य भई दिगो शान्ति स्थापना र सामाजिक तथा आर्थिक रुपान्तरणमा मुलुक अघि बढेको छ । सशस्त्र द्वन्द्वका क्रममा ५ हजार ५६० वटा भौतिक संरचना नष्ट हुँदा ४ अर्ब ५० करोड रूपैयाँ मूल्यबराबरको क्षति हुन गयो । अब मुलुकमा द्वन्द्वका कारण जनधनको क्षति नहोस् र कुनै पनि असन्तुष्टिको बहानामा मान्छे मार्ने खेलहरु बन्द होऊन् भन्ने कामनाका साथ द्वन्द्वका नमीठा क्षणहरुको स्मरण गर्दै आपसी सद्भाव र सहकार्य गर्दै यो दिवस मनाउनु सान्दर्भिक हुनेछ । नेपालमा २०६५ सालदेखि यो दिवस मनाउन थालिए पनि राष्ट्रसंघ महासभाले सन् १९८१ मा संसारका सबै देश र जनतामा शान्तिको कामनासहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसँगै यो दिवस १९८२ सेप्टेम्बर २१ देखि विश्वभर मनाउन थालिएको हो । यस दिवसमा ज्ञात–अज्ञात शान्तिका प्रवर्तकहरु, मानवअधिकारवादीहरु, शान्तिका लागि महत्त्वपूर्ण योगदान गर्ने व्यक्ति÷संस्थाहरु स्मरणीय र सम्मानका हकदार छन् ।

प्रतिकृया

मुख्य समाचार

चितवनमा ८९ जना संक्रमित, २४ जना संक्रमणमुक्त, चार जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो २४ घन्टामा ८९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार मंगलबार पिसिआर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया