निजामती कर्मचारीको महाधिवेशन सकियो
भरतपुर । नेपाल निजामती कर्मचारी युनियनको छैटौ राष्ट्रिय महाधिवेशन २१ बुँदे चितवन घोषणापत्र जारी गर्दै सकिएको छ ।
युनियनको गत २८ गतेदेखि चितवनको रत्ननगरमा सुरू भएको महाधिवेशन बुधबार घोषणापत्र जारी गर्दै सकिएको हो । घोषणापत्रमा आधिकारिक टे«ड युनियनको निर्वाचन अविलम्ब गराउन रचनात्मक सहयोगसहित दबाब दिइने, जनप्रतिनिधि नभएको अवस्थामा विकास निर्माणको कामलाई प्रभावित हुन नदिई स्थानीय निकायमा काम गर्ने कर्मचारीका लागि स्थानीय सेवा आयोगको गठन गरी छुट्टै विशिष्टीकरण सेवाका रुपमा कायम गराउन पहल गर्ने, द्वन्द्वपीडित निजामती कर्मचारीहरु तथा तिनका परिवारलाई स्वास्थ्योपचार, उचित क्षतिपूर्तिको व्यवस्था गरिने, भ्रष्टचारमुक्त सार्वजनिक प्रशासनको सुनिश्चितता र सुशासन कायम गर्नेजस्ता २१ वटा बुँदाहरु समेटिएका छन् ।
अधिवेशनले युनियनको अध्यक्षमा सुवोधकुमार देवकोटालाई निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै महासचिव, कोषाध्यक्ष र अन्य केही पदमा पनि निर्विरोध निर्वाचित भएका छन् ।
युनियनको वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, श्रेणीविहीन उपाध्यक्ष, सचिव, क्षेत्रीय उपाध्यक्ष र केन्द्रीय सदस्यका लागि मंगलबार मतदान भएको थियो । वरिष्ठ उपाध्यक्षमा विष्णुबहादुर रायमाझीलाई पछि पार्दै गोपालप्रसाद पोखरेल विजयी हुनुभयो । पोखरेलले ३९३ तथा रायमाझीले १५३ मत ल्याउनुभयो ।
त्यस्तै महिला उपाध्यक्षमा दुर्गादेवी आत्रेय विजयी हुनुभएको छ । आत्रेयले २७२ तथा प्रत्यासी विन्दाकुमार नेपालले २५६ मत प्राप्त गर्नुभयो । मधेशी उपाध्यक्षमा मनोजकुमार तिवारी निर्विरोध निर्वाचित हुनुभयो । श्रेणीविहीन उपाध्यक्षमा शंकर पुरी विजयी हुनुभयो । पुरीले प्रत्यासी सोमनाथ कोइरालालाई १२ मतले पराजित गर्नुभयो ।
पुरीले २७१ र कोइरालाले २५९ मत पाउनुभयो । महासचिवमा जीतबहादुर मडै निर्विरोध निर्वाचित हुनुभयो । यसैगरी सचिवमा दुर्गाप्रसाद फुँयाल, राजुप्रसाद उप्रेती, राजेनद्र बुढाथोकी र सुवासकुमार कोइराला विजयी हुनुभयो । चारजना सचिवका लागि १५ जनाको उम्मेदवारी परेको थियो ।
यस्तै मधेशी सचिवमा रामबाबु मण्डल, आदिवासी सचिवमा जगतबहादुर मगर निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा नवलबहादुर मल्ल निर्विरोध हुनुभयो । क्षेत्रीय उपाध्यक्षमा पूर्वाञ्चलबाट दिपेन्द्रकुमार खत्री, पश्चिमाञ्चलबाट जयश्वर पन्थी, मध्यपश्चिमाञ्चलबाट विष्णुदत्त रेग्मी निर्वाचित हुनुभयो । क्षेत्रीय उपाध्यक्षमा मध्याञ्चलबाट प्रदीपकुमार श्रेष्ठ, सुदूरपश्चिमाञ्चलबाट प्रेमबहादुर निदाल र केन्द्रीयस्तरका कार्यालयबाट उपाध्यक्षमा तेजकुमार केशी निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनले ७० सदस्य निर्वाचित गरेको हो भने ५ जना सदस्य मनोनयन हुने युनियनका जिल्ला अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो । महाधिवेशनको गत २८ गते प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्नुभएको थियो ।
Discussion about this post