एसिड अपराधमा ‘कडा कानुन’

अन‌ि यो पनि

नेपालमा पछिल्लो समय एसिड अपराधका घटना बढोत्तरी हुँदै गएका छन् । यस्तो मानवताविरोधी जघन्य अपराध बढ्दै जाँदा राज्यले कानुनी आयाम लिन थालेको अनुभूति गरिएको छ । भदौ २५ गते एसिडपीडितहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी आफूहरुले भोग्नु परेको समस्या प्रस्तुत गर्दै पीडकहरुलाई कडा कानुनी सजायको माग गरेका थिए । एसिडपीडितहरुको समस्याप्रति ध्यानाकर्षण गर्दै प्रधानमन्त्री ओलीले १५ दिनभित्र छुट्टै कानुन बनाएर एसिडपीडितहरुको सम्पूर्ण जिम्मेवारी राष्ट्रले लिने प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्रीले दिएको समयावधि नजिकै आउँदै गर्दा सरोकारवालाले एसिड अपराधमा कडा कानुनी सजाय हुनुपर्ने विषयमा सरकारलाई सुझाव दिएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा सरोकारवालाहरुले एसिड आक्रमण गर्नेलाई जन्मकैदको सजाय तोक्दै नैतिक पतनको फौजदारी अपराधको रुपमा व्याख्या गर्न सरकारलाई सुझाएका छन् । उनीहरुले पीडकलाई नैतिक पतनको फौजदारी अपराध गरेको ठहरिने गरी जन्मकैदको सजाय हुनुपर्ने र पीडितको सम्पूर्ण उपचारको खर्च तत्काल सरकारले व्यहोर्ने र पछि पीडकबाट भराउने प्रावधान कानुनमै उल्लेख गर्नुपर्ने राय दिएका छन् । अधिकारकर्मीहरुले पीडितले न्याय पाउने गरी कानुनी व्यवस्था गर्न सरकारले साथ दिनुपर्ने जिकिर गरेका छन्, जुन अत्यन्त स्वागतयोग्य छ ।
एसिड अर्थात् तेजाब अत्यन्तै घातक रसायन हो । यो रसायन मानिसको शरीरमा परेपछि यसले जलाउनुका साथै जीवनभर कुरुप अवस्थामा बाँच्न विवश गराउँछ । एसिडको असह्य जलनले मानिसलाई गम्भीर घाइतेमात्रै बनाउँदैन कतिपय मानिसको मृत्युसमेत हुनसक्छ । नेपालमा एसिड आक्रमणका घटना हुन थालेको केही वर्षमात्रै भएको छ । यस्तो आपराधिक घटना विशेषगरी छिमेकी भारतमा हुँदै आए पनि पछिल्लो समय सीमावर्ती क्षेत्र हुँदै तराई मधेसका जिल्ला र सङ्घीय राजधानी काठमाडौँमा समेत हुन थालेको छ । नेपालमा यस्तो अपराधका घटना कमै भएका कारण यस्ता अपराधीका लागि छुट्टै कानुन बनेको थिएन । फलस्वरुप, सामान्य कानुनी सजाय हुँदै आएको थियो । नेपालमा बर्सेनि कम्तीमा ४० जना एसिड आक्रमणमा पर्ने गरेका छन् । एसिड अपराध निरूत्साहित गर्न केही वर्षअघिदेखि अभियन्ताहरु लागिपरेका छन् । जसमा एसिड आक्रमणकारीलाई कडा सजायको माग राख्दै निरन्तर लडिरहेका एक अभियन्ता हुन्, उज्ज्वलविक्रम थापा । सरकारले एसिड दुरूपयोगबाट हुने अपराध र यसको जथाभावी खरिद–बिक्री नियन्त्रण गर्न अध्यादेशको मस्यौदा तयारी गर्दैगर्दा भारतमा एसिड अपराधविरूद्धको अभियानमा आबद्ध चर्चित बलिउड अभिनेता अमिताभ बच्चनले पनि अभियन्ता थापालाई बधाई दिएका छन् । थापा अमिताभ अध्ययन गरेको सेरउड कलेजका पूर्वविद्यार्थी हुन् ।
नेपालमा एसिड आक्रमणमा परेका पीडित र अभियन्ताहरुले निरन्तररुपमा उठाउँदै आएको आवाज सम्बोधन गर्ने गरी सरकारले विशेष कानुन बनाउने खबरले पीडितहरुमा आशाको सञ्चार गराएको छ । एसिड आक्रमणको क्रूर अपराधमा मात्र होइन, पेट्रोल छर्किएर आगो लगाएर हत्या गर्ने घटना पनि दोहोरिँदै आएका छन् । विशेषगरी, तराईका जिल्लाहरुमा दाइजो नल्याएको, कम ल्याएकोजस्ता बहानामा मानिसको ज्यानै लिने पाशविक अपराध बढिरहेका छन् । आगो लगाएर हत्या गर्ने विषयलाई समेत समेटेर कानुन बनाउन सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । नेपालको संविधानले मृत्युदण्डलाई वर्जित गरे पनि अधिकारकर्मीले बलात्कार, मानव बेचबिखन, अपहरणपछि हत्या, एसिड आक्रमणजस्ता घटनाका दोषीलाई मृत्युदण्ड नै दिनुपर्ने आवाज उठाउँदै आएका छन् । तथापि, आजीवन कारावास, सर्वस्वसहित जन्मकैदजस्ता कठोर सजाय पाउने कानुन भने निर्माण गर्न आवश्यक भइसकेको छ । संविधानले हरेक व्यक्तिलाई स्वतन्त्रतापूर्वक जीवन जिउन पाउने अधिकार प्रत्याभूत गरेको छ । आगामी दिनमा बदलाको भाव वा घरायसी झगडाका कारण एसिड आक्रमणजस्तो मानवताविरोधी अपराध हुन नदिन र समाजमा यस्ता घटनाको पुनरावृत्ति हुनबाट निरूत्साहित गर्न यथाशीघ्र कडा कानुन निर्माण गरी पीडितहरुलाई न्याय दिलाउन जरूरी छ ।

प्रतिकृया

मुख्य समाचार

खोप ल्याउने छलफल मात्रै हुँदा मन्त्रीको दाबी-‘खोप ल्याएर चमत्कारी देखाउँछौँ’

काठमाडौँ ११ असार । सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने निर्णय गरेको छ। शुक्रबार स्वास्थ्य...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया