बस्तीभित्रै पहिरो : भरतपुर–२९ मा ठूलो क्षति

अन‌ि यो पनि

भरतपुर । भदौ २९ गते आएको बाढी र पहिरोले भरतपुर महानगरपालिकाको वडा नम्बर–२९ मा पर्ने तल्लो चिप्लेटी गाउँमा ठूलो क्षति पुगेको छ । गाउँभन्दा माथिबाट मध्यरातमा पहिरो आएपछि गाउँका सबैजना रातारात भागेर सुरक्षित स्थानतर्फ गएका थिए । अहिले पनि उनीहरु त्रिपाल ओढेर सुत्न बाध्य छन् । दिनभर आआफ्नो घर हेर्दै बस्ने उनीहरु रात परेपछि घरभित्र छिर्दैनन् । बाहिरै खाना खाएर राति त्यहीँ त्रिपालमुनि सुस्ताउँछन् ।
‘राति सुतिरहेको बेलामा आएको पहिरोले घरको भित्ता नै भत्काइदियो’, स्थानीय वीरबहादुर गुरूङले भने, अब पहिरो नै नआए पनि कतिदिन त्रिपालमुनि सुत्ने हो थाहा छैन ।’ घरको पछाडि भित्तामा पहिरो बज्रिएपछि घरलाई कमजोर त बनाएको छ नै, आँगनसम्म पनि जान सक्ने अवस्था छैन । रातको समयमा घरभित्रै पहिरो छिरेपछि भागेरै ज्यान जोगाएको उनले बताए ।
सबै निदाइरहेका बेला घरभित्रै पहिरो पसेपछि बुहारी सुनिताले आफ्ना दुई बच्चासहित सासू र ससुरालाई उठाएर घर छाडेकी थिइन् । ‘सुतिसकेपछि मेघ गर्जियो, चट्याङ परेको आवाज आयो, त्यसपछि निद्रा परेन’, त्यो दिनको सम्झना गर्दै सुनिताले भनिन्, ‘म बाहिर पिँढीमा थिएँ, आकासमा बिजुली चम्किएको बेला आँगनमा हिलो बग्दै आएको देखेपछि भित्र सुतिरहनुभएका बाआमालाई बोलाएर म र मेरा दुईवटा बच्चा च्यापेर भागेँ ।’ आँगनमा आएको घुँडासम्म गड्ने हिलो छिचोल्दै सुरक्षित स्थानतर्फ गएको उनले बताइन् । करिब ३०० मिटरमाथिबाट आएको पहिरो धान, मस्याङ र कोदो बारी सोहोर्दै बस्तीसम्म आइपुगेको हो ।
जम्मा ९ घरमात्रै रहेको यहाँका स्थानीय दिनभर दायाँबायाँ भए पनि साँझ परेपछि सबैजना त्रिपालमुनि जम्मा हुन्छन् र जसोतसो रात कटाउँछन् । अहिले सबैको सुत्ने ठाउँ त्यही त्रिपाल ओढाएको टहरो बनेको छ । त्रिपालमुनि सुते पनि पहिरोले कतिखेर घर बगाउने हो भन्ने चिन्ताले निद्रा नै नपर्ने स्थानीय कमानसिंह गुरूङले बताए । ‘मनमा डर उत्तिकै लागिरहेको छ, झन् पानी प¥यो भने त दिउँसै पनि मनमा डरको ढ्याङ्ग्रो बज्छ’, उनले भने । लगाएको खेतीबाली पनि पहिरोले बगाएपछि अर्को वर्ष के खाने भन्ने चिन्ताले पनि पिरोलेको छ । पहिरोले खेतीपातीमा सबैभन्दा धेरै नोक्सान पु¥याएको पनि कमानसिंहकै हो । पहिरोआसपासको क्षेत्रमा मात्रै उनको करिब एक बिगाहा जमिन छ । तर, अहिले सोही जग्गाको बीच भागबाट पहिरो बगेपछि जग्गा नै दुई खण्डमा विभाजन भएको छ । करिब आधा बिगाहा जमिन पहिरोले बगर बनाइदिएको उनले सुनाए ।
साइँला गुरूङको परिवार भने करिब एक महिनाअघि नै घर छाडेर काकाको घरमा बस्दै आएका छन् । भूकम्पको धक्काले घर चर्काएपछि डरैडरमा बसिरहेका उनी यसवर्षको बर्खामा जोखिम बढेपछि काकाको घरमा बस्दै आएका हुन् । असोज महिना लागिसक्दा पनि पानी पर्न छोडेको छैन, जसले गर्दा पहिरो अझै आउने हो कि भन्ने चिन्ता गाउँलेलाई परेको छ । वडामा तत्काल खबर गर्दा अहिलेसम्म वडाबाट कोही पनि गाउँसम्म पुग्न सकेका छैनन् । देशकै सुगम जिल्लाभित्र पर्ने भरतपुर महानगरपालिकामा बाटो नभएकै कारण जनप्रतिनिधि आधा बाटो आएर फर्किए ।
स्थानीय युवा जोखिम गुरूङले गाउँ नै स्थानान्तरण गर्नुपर्ने अवस्थामा आए पनि अहिलेसम्म नेतृत्व तहबाट कोही पनि नआएको भन्दै आक्रोश पोखे । ‘चुनावको बेला यस्तो भएको भए बाटोमा डोजर तेस्र्याएरै भए पनि भोट माग्न आइपुग्थे’, उनले भने, ‘तर अहिले कोही आएनन् ।’ अहिलेसम्म पहिरोबाट भाग्न नपरेको गाउँलेलाई यसपालि घरबाटै धपाएको उनले बताए । गाउँमा विकास चाहिए पनि विकास गर्ने तरिका राम्रो नहुँदा अहिले गाउँ नै पहिरोको जोखिममा परेको उनको बुझाइ छ । मुग्लिन–नारायणगढ सडकको भोर्लेबाट चौकीडाँडा हुँदै दाहाखानी पुग्ने सडक यही पहिरोलाई छिचोलेर गएको छ ।
पहिरोले बस्ती जोखिममा पार्नुका साथै करिब डेढ बिगाहा जमिनमा लगाएको धान, कोदो र मस्याङ बगाएको छ । रातमाटे टोलसुधार समितिका अध्यक्ष कटकबहादुर गुरूङका अनुसार चिप्लेटी, घुमाउने केराबारीलगायतका क्षेत्रमा पहिरोले बढी प्रभावित पारेको छ । यसअघि २०६० सालमा यसवर्षजस्तै वर्षा भए पनि अहिलेको जस्तो त्रासमा बस्न नपरेको उनले बताए । तर, अहिले घरमा बस्न सक्ने अवस्थामा नरहेको उनले बताए । चिप्लेटी गाउँतर्फ जाँदै गर्दा बाटैमा भेटिएका उनले भने, ‘तीन दिन बितिसक्दा पनि वडाबाट कोही आउनुभएन, त्यही भएर आफैँ वडासम्म जानलाई झरेको ।’
वडा नं–२९ ले भने आफ्नो वडा क्षेत्रभित्र धेरै नै क्षति भएको अनुमान गरेको छ । पहिरोले घर नै बगाएको खबर आएपछि चार जना वडा सदस्यलाई संयोजक बनाएर चारवटा समिति गठन गरेर अनुगमन तथा विवरण संकलनको काम भइरहेको वडा सचिव कैलाश रेग्मीले जानकारी दिए । ‘साबिक कविलास गाविसका ९ वटै वडामा बाढीपहिरोले क्षति पु¥याएको खबर छ, त्यसका लागि वडाले चारवटा समिति बनाएर काम थालिसकेको छ’, उनले भने, ‘कतिपय ठाउँमा बाटोको समस्या अतिविकट भएका कारण पुग्न सकिएको छैन ।’

 

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया