खरको छानो विस्थापित कार्यक्रम : १०५ घरको लागत अनुमान भएन तयार

अन‌ि यो पनि

भरतपुर । भरतपुर महानगरपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत गत आव ०७६/७७ मा खरको छानोलाई जस्ताको छानोले विस्थापित गर्ने योजनामा सम्झौता भएका १०५ घरधुरीको अझै लागत अनुमान तयार भएको छैन । गत आवमा सम्झौता भएका उनीहरुको लागत अनुमान तयार गरेर पेश गर्न सम्बन्धित वडाहरुलाई महानगरले ताकेता गरिरहेको छ । योजनामा छनोट भएका २६ घरधुरीसँग अझै सम्झौता नै भएको छैन ।
महानगरमा गत आवमा अतिविपन्न २०० घरपरिवारको खरको छानोलाई जस्ता (टिन)को छानोले विस्थापित गर्ने कार्यक्रम रहेको थियो, जसमध्ये १७४ घरधुरीसँग गत आवमा नै सम्झौता भएको थियो । २६ घरधुरीसँग अझै सम्झौता हुन बाँकी छ ।
सम्झौता भएका घरधुरीमध्ये ६५ घरमा जस्ताको छाना लगाउने काम सम्पन्न भइसकेको छ भने १०९ घरमा लगाउन बाँकी छ । भरतपुर–२२, २६ र २८ का ६५ घरमा जस्ताको छाना लगाइसकिएको भरतपुर महानगरपालिकाको सहरी पूर्वाधार विकास महाशाखाकी इन्जिनियर सरु शर्माले जानकारी दिइन् । निर्वाचन क्षेत्रहरुमा सघन सहरी विकास निर्माण आयोजनामार्फत हुँदै आएको यो कार्यक्रम गत आवदेखि स्थानीय तहमार्फत हुन लागेको हो ।
सम्झौता भएका वडा नं–२० का १० घरधुरी, २१ का १५ घरधुरी, २३ का २२ घरधुरी, २४ का २२ घरधुरी, २५ का २० घरधुरी र २७ का २० घरधुरी गरी जम्मा १०९ घरमा जस्ता लगाउन बाँकी छ । वडा नं–२१, २३, २४, २५ र २७ ले अझै पनि लागत अनुमान तयार गरेको छैन । सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि–२०७५ (पहिलो संशोधन)अनुसार लागत अनुमान तयार गरेर असोज दोस्रो साताभित्र पेश गर्न महाशाखाले भदौ २८ गते सम्बन्धित वडाका इन्जिनियरहरुलाई पत्राचार गरेको छ ।
सम्झौता भएका घरधुरीलाई पहिलो किस्तामा २० हजार र दोस्रो किस्तामा ३० हजार रूपैयाँ गरी जम्मा ५० हजार रूपैयाँ महानगरले दिनेछ । ‘जस्ताको छानो हाल्न महानगरले ५० हजार दिने हो, ५० हजारभित्रै घरको पिल्लर र रडहरुलाई पनि समेट्न सकियो भने सेवाग्राहीलाई सजिलो हुन्छ’, उनले भनिन्, ‘घरको प्रकृति हेरेर प्राविधिकहरुले लागत अनुमान गर्नुहुन्छ, पुरानो र नयाँ गरेर यस आवमा ७९२ घरमा जस्ताको छानो हाल्ने कार्यक्रम छ ।’
यो आव ०७७/७८ मा खरको छानो भएका ७६६ घरहरुमा जस्ताको छानो लगाउने कार्यक्रम छ । भरतपुर महानगरपालिकामा पर्ने निर्वाचन क्षेत्र नं–२ का १६६ घरधुरी र निर्वाचन क्षेत्र नं–३ का ६०० घरधुरीमा खरको छानोलाई जस्ताको छानोले विस्थापन गरिने उनले बताइन् । त्यसका लागि प्रारम्भिक चरणकै छलफल गर्न बाँकी छ ।
गत आवका बाँकी र यस आवमा सम्झौता भएका घरधुरीमा यसै आवभित्र जस्ताको छानो लगाउने महानगरको योजना छ । ‘प्राथमिकताको आधारमा घरधुरीको सर्वेक्षण गरेर अतिविपन्न पर्ने गरी घरधुरी छनोट गर्छाैं, अनि विपन्न र खरको छानो भएकासँग सम्झौता गर्छाैं’, उनले भनिन् ।

प्रतिकृया

मुख्य समाचार

चितवनमा मंगलबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा मंगलबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार ६३ जना संक्रमणमुक्त भएका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया