आजदेखि चल्दै सार्वजनिक बस, यातायात व्यवसायी उत्साहित

अन‌ि यो पनि

भरतपुर । झन्डै ६ महिनापछि सडकमा पुनः सार्वजनिक बस चल्दैछन् । सरकारले नै असोज १ गतेबाट सार्वजनिक बस सञ्चालन गर्न पाइने बताएपछि व्यवसायीहरु उत्साहित भएका छन् । ‘ढिलै भए पनि सरकारले स्वागतयोग्य निर्णय गरेको छ’, नारायणी यातायात व्यवसायी संघको क्षेत्रीय कार्यालय भरतपुरका प्रमुख शंकर गिरीले भने, ‘व्यवसायीहरु थप पलायन हुनबाट जोगिएका छन् ।’
यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदीले अस्तव्यस्त बनेको यातायात क्षेत्रले पुनर्जीवन पाउनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिए । ‘६ महिनादेखि थन्किएकाले गाडी स्टार्ट हुन पनि गाह्रो छ, टायर खत्तम भएका छन्’, उपाध्यक्ष सुवेदीले भने, ‘कोरोनाको ठूलो चोट यातायात व्यवसायीले सहन प¥यो ।’
चैतमा थन्क्याएको गाडी अहिलेसम्म केकस्तो हालतमा छ थाहा नभएको भन्दै ग्यारेजमा गाडी बनाउँदा खर्च निस्कने र आम्दानी पनि नहुने हुँदा व्यवसायी दोहोरो मारमा परेको यातायात व्यवसायी चिनीबहादुर बोहराले बताए ।
दोहोरो छलफल
आजबाट सार्वजनिक बसहरु चल्ने भएपछि ट्राफिक प्रहरी र यातायात व्यवसायीहरुबीच बुधबार छलफल भएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनको आयोजनामा जिल्लाका दुई दर्जनजति यातायातसम्बद्ध व्यवसायीहरुसँग छलफल गरिएको हो ।
छलफलका क्रममा बोल्दै बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनका प्रमुख एसपी शान्तिराज कोइरालाले कोरोना सङ्क्रमण रहिरहेकाले सुरक्षित र सावधानी अपनाई बसहरु सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरे । ‘सार्वजनिक बस सञ्चालन हुन दिनु भनेको कोरोना सकियो, अब पहिलेकै जस्तो गरे हुन्छ भन्ने नबुझ्नुहोला’, प्रमुख एसपी कोइरालाले भने । दुर्घटना नियन्त्रणको सवालमा प्रयोग हुँदै आएको भनाइ कोरोना कहरमा झनै उपयुक्त भएको उल्लेख गर्दै उनले आफू बचौँ र यात्रुलाई पनि बचाऔँ भन्ने मान्यता लिई सुरक्षित तरिकाले सेवा दिनुपर्ने बताए ।
चाडबाडको समय निकटमा आइरहेको र धेरै समयपछि बस चल्न लागेकाले यही मौका हो भनी यात्रुलाई असुविधा वा मर्का पार्ने काम गरे नछाडिने चेतावनी दिँदै एसपी कोइरालाले भने, ‘गल्ती गर्ने चालकलाई कर्मचारीले छाडेको थाहा पाएँ भने म फेरि उसलाई छाड्दिनँ, कर्मचारी नै कारबाहीको भागीदार हुन सक्छ ।’
भाडा, रूट, यात्रु संख्या, आरक्षण कोटाजस्ता ट्राफिक नियमसँग सम्बन्धित सबै विषय हेरिने र नियम उल्लङ्घन भएको अवस्थामा कारबाही गरेरै छाड्ने प्रमुख एसपी कोइरालाले बताए । छलफलका क्रममा व्यवसायीले कोरोना कहरका कारण केही असहज स्थिति भएकाले लचिलो बनिदिन आग्रह गरेका थिए ।
चितवन ट्राफिक प्रहरी प्रमुख प्रनि दयाकृष्ण भट्टले सरकारले गाडी चल्न दिएको सुविधालाई नियम उल्लङ्घन गरी कमाउने मौकाका रुपमा नलिन व्यवसायीलाई भने । गाडीलाई हरहालतमा चुस्तदुरूस्त बनाएर सञ्चालनमा ल्याउनुपर्ने, अन्यथा यान्त्रिक गडबडीले दुर्घटना निम्तनेतर्फ सचेत हुन व्यवसायीलाई प्रनि भट्टले आग्रह गरे ।
चितवनका यातायात व्यवसायीसम्बद्ध विभिन्न समितिहरुले असोज १ गतेबाट सार्वजनिक बस सञ्चालन गरिने भनी जिल्लामा जानकारी गराइसकेका छन् । १ लाख ५० हजार बढी मजदुर प्रभावित बनेको र १ खर्बको हाराहारीमा पुँजी पलायन हुने अवस्थामा पुगेको उनले बताए ।

प्रतिकृया

मुख्य समाचार

चितवनमा ८९ जना संक्रमित, २४ जना संक्रमणमुक्त, चार जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो २४ घन्टामा ८९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार मंगलबार पिसिआर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया