मासु खाने कि नखाने ? (संस्कार चिन्तन)

अन‌ि यो पनि

उठान
मासु खानेहरुले मासुकै प्रशंसा गर्छन् र मासु खानुपर्छ भन्छन् भने मासु नखानेहरुले मासु खानु हिंसा हो भन्दै मासु खानेहरुको निन्दा गर्न रूचाउँछन् । त्यसैले शाकाहारी र मांसाहारीका बीचमा सधैँ मतभिन्नता रहेको पाइन्छ । एक किलो मासु उत्पादन गर्न दश किलो खाद्यान्न खपत हुने भएका कारण एक किलो मासु खाने व्यक्तिले दशजना शाकाहारी व्यक्तिको खाद्यान्न हसुर्ने हुँदा विश्वमा खाद्य सङ्कट बढ्दै गएको हो । त्यसैले धेरैजसो विकसित देशका नागरिकहरुले मांसाहारीबाट शाकाहारीमा र शाकाहारीबाट पनि दुग्धजन्य पदार्थ नै नखाने ‘भेगन’का रुपमा आफ्नो परिचय दिन रूचाउने क्रम बढ्दो छ ।
नेपालका सन्दर्भमा कुरा गर्ने हो भने शाकाहारी व्यक्तिहरुका तुलनामा मांसाहारी व्यक्तिहरुको सङ्ख्या बढ्दै गएको हो कि भन्ने आभास हुन थालेको छ । त्यसैले मासु खाने कि नखाने ? भन्ने विषय हिजो बहसकै विषय बनेको थियो, आज पनि बनिरहेको छ र भोलिसमेत बहसकै विषय बनिरहने कुरामा कसैको दुई मत छैन तापनि यस विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण हुनु जरूरी छ ।
मासु खाने कि नखाने ?
मासु खाने कि नखाने ? भन्ने विषय प्राचीन कालदेखि वर्तमानसम्म मात्र होइन भविष्यमा समेत विवादकै रुपमा रहिरहनेछ । धेरैजसो विद्वान् पनि आफ्नो रूचिकै किनारा लागी एकपक्षीय प्रमाणलाई लिएर विवादित विषयमा आफ्ना विचारहरु प्रस्तुत गर्न अग्रसर हुने भएकाले तिनका विचारहरु सर्वग्राह्य हुन सक्तैनन् र तटस्थ भएर विचार प्रवाह गर्ने व्यक्तिहरु पाइन पनि वर्तमानमा निकै मुस्किल छ ।
मासु मात्र खाने भन्दा मासुसँगै मदिरापान गर्नेहरुको सङ्ख्या वर्तमानमा बढ्दै गएको छ । मदिरापान गरेका अवस्थामा बुद्धि र विवेक दुवै प्रायः सामान्य अवस्थामा रहँदैनन् । मासु र मदिरापान गर्नाले स¤व गुणमा क्रमशः ह्रास आउँछ भने मासु र मदिरापान गर्नाले आर्थिक अवस्थासमेत ओरालो लाग्न थाल्छ । जसका कारण हाम्रो नैतिक समाजमा चोरी र डकैती मात्र होइन हिंसा र बलात्कारका घटनाहरुसमेत बढ्न थाल्छन् । जन्मजात र वंशगत रुपमा सानै उमेरदेखि मासु र मदिराको सेवन गर्नेहरुका तुलनामा जातै जाला कि भनेर लुकीछिपी मासु र मदिराको अनियन्त्रित सेवन गर्नेहरुले प्रायः हाम्रो समाजलाई अशान्त बनाउँदै आएको देखिन्छ । वैदिक सनातन पद्धतिमा मासु नखाने पक्षमा बढ्ता प्रमाणहरु भेटिन्छन् भने आधुनिक चिकित्सा विज्ञानले मासु खान जोड दिएको पाइन्छ ।
मासु किन नखाने ?
संस्कृत वाङ्मयका वेदमा, ब्राह्मणग्रन्थमा, सूत्रग्रन्थमा, उपनिषद्मा, धर्मशास्त्रमा, इतिहासमा र पुराणग्रन्थहरुमा समेत बजारबाट खरिद गरिएको वा कुनै यज्ञमा समर्पण नगरिएको मासु खाने विधान उल्लेख गरिएको पाइँदैन । अथर्ववेदको आठौँ काण्डको छैटौँ सूक्त गर्भदोषनिवारण सूक्तका नामले प्रसिद्ध छ । त्यसको तेइसौँ मन्त्रमा काँचो मासु खाने, पकाएको मासु खाने र गर्भको भ्रूण वा अण्डा खानेबाट गर्भिणी स्त्रीलाई बचाउनुपर्छ भन्ने कुरा उल्लेख गरिएको छ । त्यसैगरी मनुस्मृति (५।४८) ले प्राणीको हिंसा नगरीकन मासु उपलब्ध नहुने र प्राणीलाई मारेर स्वर्ग पनि प्राप्त नहुने भएकाले मासु खान हुँदैन भन्ने निर्देश गरेको छ ।
बाघ, कुकुर, बिरालो आदि जीवहरुका दाँत, नङ्ग्रा, आमाशय आदि प्राकृतिक अङ्गहरु मांसाहारकै दृष्टिले बनेका हुन्छन् तर मान्छेमा त्यस्तो मांसोचित अङ्गहरु नभएकाले मान्छेलाई मासु नखान शास्त्रले जोड दिएको हो । दिनप्रतिदिन भौतिकवादले गर्दा विश्व अशान्त बन्दै गइरहेका सन्दर्भमा अध्यात्मवादको मार्ग श्रेयस्कर ठान्न थालिएको छ ।
मासु खाने व्यक्तिमा आध्यात्मिक चेतना तुलनात्मक रुपमा कम हुने भएकाले मासु नखान शास्त्रहरुले निर्देश गरेका हुन् । सुँगुर, कुखुरा र माछाले प्रायः दिसा वा दुर्गन्धित चीजहरु खान रूचाउँछन् । त्यसरी खाएर बाँचेका जीवहरुको हिंसा गरेर मासु खाँदा हाम्रो मस्तिष्कमा समेत तिनै दुर्गन्धित चीजहरुले गम्भीर प्रभाव पार्छन् । एकातिर जीवहिंसा हुने र अर्कातिर हाम्रो स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पर्ने भएकाले पूर्वीय वाङ्मयमा मासु नखान निर्देश गरिएको हो ।
शास्त्रले मासु खाने छुट दिएकै छ त ?
मांसभक्षणका सन्दर्भमा श्रीमद्भागवत (११।५।११) मा केही विचारणीय कुरा उल्लेख गरिएको छ । संसारमा मदिरापान, मांसभक्षण र व्यभिचार वा परस्त्रीगमन तीन किसिमका प्रमुख दुव्र्यसनहरु स्वाभाविक रुपमा देखिन्छन् । तिनका लागि शास्त्रीय विधान र प्रचारप्रसारको कुनै आवश्यकता नै पर्दैन किनभने अनेकौँ जीवजन्तुको योनि पार गरेर हामीले मनुष्य जन्म प्राप्त गरेका छौँ तर मान्छेमा पशुप्रवृत्तिको अन्त्य भने हुन सकेको छैन । जसका कारण मान्छेमा उपर्युक्त प्रमुख तीन दुव्र्यसनहरु स्वाभाविक रुपमा देखापर्ने गरेका हुन् र तिनको रोकथामका लागि शास्त्रमा विवाह, यज्ञ र मदिरा सुँघ्ने व्यवस्था गरिएको हो । मान्छेलाई दुव्र्यसनमा प्रवृत्त हुन कसैले सिकाउनुपर्दैन तर अनुशासनमा बस्न भने सधैँ सिकाइरहनुपर्छ ।
समाजमा परस्त्रीगमन वा व्यभिचारको दुष्प्रवृत्ति नफैलियोस् भनेर विवाहको व्यवस्था गरिएको हो । त्यसैगरी समाजमा सदैव जीवहिंसाद्वारा मांसभक्षण गर्ने दुष्प्रवृत्तिलाई मर्यादित बनाउनका लागि शास्त्रमा मांसभक्षणसम्बन्धी केही वैकल्पिक व्यवस्था गरिएको छ, जसलाई प्राचीन धर्मशास्त्रकारहरुले ‘परिसङ्ख्या’का रुपमा चर्चा गरेका छन् ।
‘पञ्च पञ्चनखा भक्ष्याः’ अर्थात् पाँच नङ्ग्रा भएका खरायो दुम्सी, कछुवा, गोही र गैँडा पाँच भक्ष्य मानिन्छन् भने यसबाहेक अन्य पाँचनङ्ग्रे जीवजन्तु अभक्ष्य मानिन्छन् । त्यसमा बाख्रो र बाख्रामा पनि लामकाने सेतो बाख्रो ग्राह्य मानिएको छ । त्यो पनि सधैँ होइन वर्षभरमा वा जीवनभरमा फलानो दिन, फलानो मुहूर्तमा, फलानो विधिले, यस्तो धार्मिक अनुष्ठानमा र यति खर्च गरेका खण्डमा मात्र यज्ञमा पशु बध्य मानिन्छ भन्ने शास्त्रीय व्यवस्था रहेको हुँदा यसलाई मांसभक्षणका सन्दर्भमा ‘परिसङ्ख्या’ भनिएको हो ।
वास्तवमा यहाँ परिसङ्ख्याको आशय मांसभक्षणको क्रमलाई क्रमशः न्यून गर्दै अन्तमा मांसभक्षणबाट छुटकारा दिलाउनु हो । आफूखुसी बजारबाट ल्याएर वा गाउँघरमा पशुको हिंसा गरेर मांसभक्षण गर्न शास्त्रले छुट दिएको छैन र यज्ञमा अर्पण गरेर प्रसादस्वरुप ग्रहण गर्ने मासुलाई पनि क्रमशः हटाउँदै जानुपर्छ भन्ने शास्त्रको उद्देश्य रहेको देखिन्छ ।
अश्वमेध आदि यज्ञमा पशुलाई तिमी मर्दैनौ, तिम्रो हिंसा पनि कसैले गर्दैन र तिमी सरल मार्गबाट देवतासम्म पुग्दछौ वा देवत्वलाई प्राप्त गर्दछौ (ऋग्वेद १।१६२।२१) भन्ने आश्वासन दिइएको हुन्थ्यो । पशुयोनिबाट मुक्त गरेर पशुलाई देवलोकमा पु¥याउने त्यस किसिमका यज्ञहरु हाल प्रचलनमा छैनन् र त्यस्ता यज्ञ गर्नका लागि योग्य ब्राह्मणको पनि वर्तमानमा अभाव छ । त्यसैले अश्वमेध आदि वेदविहित यज्ञमा हुने विधिपूर्वकको पशुहिंसालाई आधार बनाएर शास्त्रले मासु खाने छुट दिएको थियो भन्न सकिँदैन ।
मासुबारे व्यासको दृष्टिकोण
महर्षि व्यासले अठारवटै पुराणहरुमा मांसभक्षणका सन्दर्भमा प्रासङ्गिक चर्चा अवश्य पनि गरेका होलान् । उनले महाभारतको अनुशासन पर्वमा मासुबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । मासु नखानाले अहिंसा धर्मको पालना हुन्छ । मनले मासु खाने इच्छा गर्नु, वचनले मासु खाने उपदेश दिनु र प्रत्यक्ष रुपमा मासुको स्वाद लिनु यी तीन कारणलाई हिंसादोष मानिन्छ ।
सुन्दर रुप, पूर्णाङ्ग वा साङ्ग, पूर्ण आयु, उत्तम बुद्धि, स¤व, बल र स्मरणशक्ति प्राप्त गर्न चाहनेले हिंसा गर्नुहुँदैन । हिंसा नगर्ने र मासु नखाने व्यक्ति सबै प्राणीको मित्र ठहरिन्छ । मासु नखाने व्यक्ति जस्तोसुकै विकट ठाउँमा, डरलाग्दो वनमा, रातमा, चौबाटामा र सभासम्मेलनहरुमा जाँदा पनि निडर हुन्छ । मांसभक्षण नगर्नाले सबै किसिमको सुख प्राप्त हुन सक्छ ।
मासु नखाई नछाड्नेहरुले पनि विशेषतः असोज महिनामा मासु नखाँदा आंशिक रुपमा भए पनि धर्म मिल्छ । मासु खान छाड्दा कीर्ति, आयु, यश र बलसमेत प्राप्त हुन्छ । संसारमा हामीलाई सबैभन्दा बढ्ता प्रिय लाग्ने भनेको आफ्नै प्राण हो भने पशुहरुलाई पनि आफ्नो प्राण अवश्य पनि सबैभन्दा प्रिय लाग्छ होला । तसर्थ मासुका लागि निरपराध पशुको प्राण नै लिएर पशुमाथि अन्याय गर्नु निश्चय नै राम्रो होइन भन्ने दृष्टिकोण व्यासले महाभारतमा व्यक्त गरेका छन् ।
मासुबारे मनुको दृष्टिकोण
मनुले मनुस्मृतिको पाँचौँ अध्यायमा भक्ष्य र अभक्ष्य विधानका सन्दर्भमा मासुका बारेमा पनि आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । काँचो मासु खाने गिद्ध आदि, गाउँमा बस्ने परेवा आदि, एक खुर हुने पशु र तित्राको समेत मासु खान हुँदैन । गाउँको कुखुरो, सुगा, बकुल्लो, माछा र बाँदरको मासु पनि खान निषेध गरिएको छ । मन्त्रद्वारा संस्कार नगरिएको मासु कहिल्यै खान हुँदैन ।
यदि मासु खानै मन लाग्यो भने घिउ वा पीठाको पशु बनाएर खान सकिन्छ तर विनामन्त्र मासुका लागि पशुको हत्या गर्न हुँदैन । प्राणीको हिंसा नगरीकन मासु उपलब्ध नहुने र जीवहिंसाले स्वर्गको प्राप्ति पनि नहुने भएकाले मासु खान छाड्नुपर्छ भनिएको हो ।
मार्न अनुमति दिने, मार्ने, मासु काट्ने, मासु बेच्ने, मासु किन्ने, मासु पकाउने, मासु पस्किएर दिने र मासु खाने यी सबैलाई मनुले हिंस्रक मानेका छन् । प्रतिवर्ष अश्वमेध यज्ञ गर्ने र एक वर्षसम्म मासु नै नखाने दुवैका कर्मको पुण्य समान मानिएको छ ।
वास्तवमा मासु खानुमा, मदिरापान गर्नुमा र परस्त्रीगमन गर्नुमा दोष छैन किनभने यी सबै मान्छेका स्वाभाविक वा प्राकृतिक प्रवृत्ति हुन् र यिनबाट निवृत्त वा मुक्त हुनाले स्वर्ग आदि महान् फल प्राप्त हुन्छ भन्ने मनुको अन्तिम निष्कर्ष रहेको छ । प्रवृत्ति मार्गमा अग्रसर भएर यही सांसारिक जालमा सदैव फसिरहनुभन्दा निवृत्ति मार्गमा प्रवृत्त भएर मोक्ष प्राप्त गर्नु श्रेयस्कर छ भन्ने आशय नै मनुको पनि रहेको देखिन्छ ।
मासुबारे चाणक्यको दृष्टिकोण
नीतिकार चाणक्यले अन्य विषयजस्तै मासुका बारेमा पनि सङ्क्षिप्त दृष्टिकोण प्रस्तुत गरेका छन् । उनले एकातिर मासुले मासु नै बढाउँछ (चाणक्यनीति १०।२०) भन्ने दृष्टिकोण प्रस्तुत गरेका छन् भने अर्कातिर ‘नो दया मांसभोजिनः’ (पूर्ववत् ११।५) अर्थात् मासु खानेहरुलाई दया हुँदैन भन्ने विचार व्यक्त गरेका छन् ।
मोटोपन धेरै रोगहरुको कारण बन्दै गएका सन्दर्भमा मासु खाएर शरीरमा मासुको मात्रा बढाउनु स्वास्थ्यका दृष्टिले राम्रो मानिँदैन । मासु नखानेहरु सबैमा दया हुन्छ भन्न सकिँदैन र मासु खाने सबैमा दया नै हुँदैन पनि भन्न सकिँदैन तापनि तुलनात्मक रुपमा मासु खानेहरुमा दयाको मात्रा कम हुन्छ ।
घरमा आफ्नै सन्तानजस्तै गरेर पालिएका बाखाबाख्रीका पाठापाठीलाई आफैले आफ्ना बालबच्चाहरुका अगाडि हिंसा गर्दा हाम्रा बालबच्चाहरुमा केकस्तो मनोवैज्ञानिक असर पर्दछ ? भन्ने कुरा पनि हामीले ख्याल गरेका हुँदैनौँ । दयालु बन्न र सबै प्राणीहरुमा प्रेम गर्नका लागि मासु खानु राम्रो होइन भन्ने आशयले नै चाणक्यले मासु खानेहरुलाई दया हुँदैन भन्ने विचार प्रस्तुत गरेको हुनुपर्छ ।
बैठान
मांसभक्षण गर्नु आसुरी प्रवृत्ति हो । पशुबलि दिएर राक्षसहरु खुसी होलान् तर देवीदेवताहरु खुसी हुँदैनन् । बलिप्रथाले हिंसाकै सन्देश फैलाउँछ तर शान्तिको शङ्खघोष गर्न सक्तैन । वर्तमान विश्वले हिंसा होइन शान्तिको कामना गरिरहेको छ । त्यसैले हामीले पनि आफूलाई ढिलोचाँडो हिंसाका विपक्षमा उभ्याउन जरूरी छ । त्यसका लागि मासु खाने प्रवृत्तिलाई हामीले क्रमशः निराकरण गर्दै जानु आवश्यक छ ।
[email protected]

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया