प्राकृतिक प्रकोपको नियति

अन‌ि यो पनि

बाढीपहिरो र डुबानको कहर नेपाली समाजमा बारम्बार दोहोरिइरहने नियतिजस्तै बन्न पुगेको छ । प्राकृतिक प्रकोपलाई कसैले चाहेर रोक्न सकिँदैन । तर, नेपालमा प्रकृतिजन्य घटनामा कुनै न कुनैरुपमा मानवीय कारण पनि जिम्मेवार रहेको हुन्छ । सिन्धुपाल्चोक एउटा यस्तो अभागी जिल्ला हो जहाँ २०७२ सालको भूकम्पपश्चात् कुनै न कुनैरुपमा प्रकृतिले विनास गर्दै आएको पाइन्छ । आइतबारमात्रै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं–७ स्थित घुम्थाङमा पहिरोले २२ घर बगाउँदा १४ जनाको मृत्यु भयो भने १७ जना अझै बेपत्ता भएका छन् । यसअघि सिन्धुपाल्चोककै जुगल गाउँपालिका वडा नं–२ स्थित लिदीमा पहिरो जाँदा ३९ जनाको ज्यान लिएको थियो । यस्तै, बाह्रबिसे नगरपालिका–५, जम्मुमा पहिरोले बजार नै बगाउँदा दुई जनाले ज्यान गुमाए भने १७ जना बेपत्ता भए । गत दुई महिनायता सिन्धुपाल्चोकमा पटकपटक बाढीपहिरोले थुप्रै जनधनको क्षति गरेको छ । सार्वजनिक समाचारअनुसार गत दुई महिनामा मात्रै सिन्धुपाल्चोकमा पहिरोका कारण ७४ जनाले ज्यान गुमाइसकेका छन् भने ४१ जना अझै बेपत्ता भएका छन् ।
२०७२ सालको भूकम्पपश्चात् सिन्धुपाल्चोकको भौगोलिक बनोट अत्यन्त कमजोर रहेको अनुमान गर्न सकिन्छ । यस वर्षमात्रै दर्जनौँपटक बाढीपहिरोले वितण्डा मच्चाउँदा सयौँ मानिसको ज्यान लिनुका साथै हजारौँ मानिस विस्थापित भए । सिन्धुपाल्चोक बाढीपहिरोको प्रकोपबाट बढी प्रताडित बने पनि देशभरिकै पहाडी क्षेत्रको भौगोलिक अवस्थिति उस्तै जोखिमपूर्ण रहेको छ । प्राकृतिक प्रकोप कुनै संकेत दिएर नआउने भएकाले यसको कुनै समय, याम वा ऋतु भन्ने हुँदैन । यसको स्वरुपमात्र परिवर्तन हुने हो । क्षति र पीडाको मापन त एकै प्रकारको हुने गर्छ । प्रायः हिउँदको महिनामा आगलागीको प्रकोपले जनधनको विनास गर्छ भने वर्षायाममा बाढीपहिरो, डुबानजस्ता समस्याले क्षति पु¥याउँछ । जुनसुकै समयमा पनि विभिन्न कहर नेपाली समाजले भोग्नु परेको छ । कुनै पनि प्रकोपबाट हुने दुर्घटना मानवीय नियन्त्रणमा नभए पनि पूर्वसावधानी र सचेतना अपनाउने हो भने जनधनको क्षति न्यूनीकरण गर्न भने अवश्य सकिन्छ । सिन्धुपाल्चोकको बाह्रबिसे गाउँ पहिरोसँगै बगेको घटनाले सो बस्ती जोखिमपूर्णमात्र होइन, भौगोलिकरुपमा बसोवासका लागि उचित नरहेको प्रस्ट भएको छ । प्राविधिकहरुले जोखिममा रहेका यस्ता बस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने सुझाव दिए पनि सरकारले चासो नदिनु दुर्भाग्य हो ।
नेपालमा विपद् व्यवस्थापन तथा रोकथामका लागि होस् वा विपत्तिपछि उद्धार र पुनःस्थापनाको विषय नै किन नहोस्, सरकारले प्रमुख प्राथमिकतामा पारेको देखिँदैन । सिन्धुपाल्चोकका पहिरोपीडितहरुको नियति हेर्दा यस्तो लाग्छ, विपत्तिमा सरकारका प्रतिनिधिहरु अवलोकनका नाममा रमिते बन्न जान्छन् । अनि, फर्किएपछि पीडितहरु एक्लै हुन्छन् । न सरकारले विपत्तिमा परेकाहरुको पुनःस्थापनामा ध्यान दिएको देखिन्छ न त बस्ती स्थानान्तरणमा कुनै गम्भीरता । जसका कारण सिन्धुपाल्चोकका जनताको बाढीपहिरोे कहर बारम्बार दोहोरिइरहने नियति बन्न पुगेको छ । कुनै पनि प्रकोपबाट पाठ सिकेर अघि बढ्नुको विकल्प छैन । जोखिमपूर्ण बस्ती स्थानान्तरण गर्ने विषयलाई प्राथमिकताका साथ अगाडि नबढाउने हो भने आगामी दिनमा पनि थुप्रै अभागी जनताले अकल्पनीय दुर्दशा भोग्नुपर्छ । देशभरका जोखिमपूर्ण बस्ती व्यवस्थापन गर्ने दायित्व सरकारको हो । अव्यवस्थितरुपमा बसोवास गर्दा हुने जनधनको क्षतिबारे जनतालाई सचेत गराउँदै तीनै तहको सरकारले आवश्यक समन्वय गरी योजनाबद्ध ढङ्गले सुरक्षित र एकीकृत बस्ती विकासका लागि नीति ल्याउनु आवश्यक देखिन्छ ।

 

प्रतिकृया

मुख्य समाचार

चितवनमा ८९ जना संक्रमित, २४ जना संक्रमणमुक्त, चार जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो २४ घन्टामा ८९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार मंगलबार पिसिआर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया