निजी स्रोतका शिक्षकलाई सौतेलो व्यवहार गर्‍यो : संघर्ष समिति

अन‌ि यो पनि

भरतपुर । चितवनका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकहरूले तलब सुविधाबाट बञ्चित गर्न नपाइने भन्दै शिक्षा समन्वय इकाइलाई ध्यानाकर्षण गराएको छ। ‘चितवन सामुदायिक विद्यालय निजी स्रोत शिक्षक संघर्ष समिति’ले मंगलबार इकाइ प्रमुख भुमिलाल शर्मा सुवेदीलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएको हो।

विद्यालयमा जागिर दिलाउँदा सरकारी मापदण्ड पुर्‍याउनुपर्ने भए पनि सेवा सुविधामा सरकारी शिक्षकसँग समान व्यवहार नगरेको समितिले जनाएको छ। ‘हामीले आधा तलबमा काम गरिरहँदा पनि अहिलेको अवस्थामा विद्यालयले शिक्षक नै निकाल्ने र ननिकाले पनि तलब सुविधा रोक्ने काम गरेको छ,’ समितिका अध्यक्ष सदन बरालले भने, ‘त्यसैले हामी आन्दोलनमा उत्रन बाध्य भएका छौँ।’

कोरोनाको बहाना बनाएर शिक्षकलाई बेतलबी बिदामा बस्न लगाउने, निस्काशन गर्ने, ३३ देखि ५० प्रतिशतको आधारमा दुई÷तीन महिनाको मात्रै तलब दिने निर्णय सुनाउनु निजी शिक्षकलाई अपमान र अपहेलना गरेको उनको भनाइ छ। देशको उर्जाशील युवालाई काममा लद्याएर सरकारी संस्थाबाटै फरक व्यवहार गरेर निजी स्रोतका शिक्षकहरूको मनोबल गिराउने काम भएको उनले बताए। ‘यही कारणले गर्दा निजी स्रोतका शिक्षकहरूमा मानसिक तनाव बढेको छ,’ उनले भने, ‘शिक्षा समन्वय इकाइ समितिले जिल्लाका सामुदायिक विद्यालयसँग समन्वय गरी निजी स्रोतका शिक्षक कर्मचारीलाई न्याय दिलाउन हाम्रो आग्रह छ।’

समितिले विषम परिस्थितिमा निजी स्रोतका शिक्षकहरूको जीवन रक्षा, जागिरको सुरक्षाजस्ता अधिकारको शुनिश्चितता गरी अन्य शिक्षक सरह हरेक शैक्षिक कृयाकलापमा सहभागी गराउनुका साथै समयमै तलब भुक्तानी गरेर सम्मानपूर्वक व्यवहार गर्न समितिले माग गरेको छ। विद्यालयले चारमहिनाअघि देखि नै शिक्षक कर्मचारीको मञ्जुरीबिना बेतलबी बिदामा राख्ने, निस्काशन गर्नेजस्ता काम गरेकोले यसतर्फ ध्यान दिन पनि समितिले आग्रह गरेको छ। सामुदायिक विद्यालयभित्र शैक्षिक योग्यता र तह उच्च भए पनि शिक्षकले पाउने सुविधा र तलब भत्तामा देखिएको असमानतालाई अन्त्य गरेर सरकारले तोकेको स्केल भत्ता, पोशाक भत्ता, सञ्चयकोषलगायतको व्यवस्था तत्काल गर्नुपर्ने उनीहरूको माग छ।

निजी स्रोतका शिक्षकहरूको माग सम्बोधन नभए आफूहरू चरणवद्ध ढंगले आन्दोलनमा जाने समितिले चेतावनी दिएको छ। ‘भोको पेटले सम्यमता अपनाउन सक्दैन र नाङ्गो शरीरलाई कुनै लाज हुँदैन,’ समितिकी सचिव विनीता श्रेष्ठले भनिन्, ‘शिक्षकहरूप्रतिको यो अपमान, अपहेलना र सौतेलो व्यवहारप्रति ध्यानाकर्षण गराउँदछौँ।’ शिक्षा समन्वय इकाइ समिति चितवनका प्रमुख भुमिलाल शर्मा पौडेलले भने सबै सामुदायिक विद्यालयसँग समन्वय गरेर सहयोग गर्ने प्रतिवद्धता जनाए। कुनै विद्यालयले शिक्षक हटाएको विषयमा भने आफू जानकार नभएको उनले बताए।

समितिले बुधबारै भरतपुर महानगरपालिका शिक्षा महाशाखालाई पनि ध्यानाकर्षण गराएको छ। चितवन जिल्लामा हालसम्म ११२ जना निजी स्रोतका शिक्षक समितिको सम्पर्कमा आएको समितिकी सचिव श्रेष्ठले जानकारी दिइन्।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया