नेपाली भाषाको पृष्ठपोषणमा भाषानीति

अन‌ि यो पनि

वर्तमान सन्दर्भमा ‘नीति’ शब्दले समाज र देशको हित गर्ने औपचारिक कार्यक्रमको आधिकारिक तथा सर्वमान्य दस्तावेजलाई बोध गराउँछ । सरकारी वा गैरसरकारी सङ्घ–संस्थामा तयार पारिएको विधानलाई नीति मानिन्छ । नीतिको आधारमा योजना बन्छ । नीतिको लगामभित्र योजनाको गाडी दगुरेको हुन्छ । नेपाली बृहत् शब्दकोशका आधारमा हेर्दा कुनै सरकार वा संस्था आदिले आफ्नो कार्य सञ्चालनका लागि अँगाल्ने आधारभूत सिद्धान्तलाई नीति भनिन्छ । भाषानीति पनि भाषिक विकासका लागि तयार पारिएको दस्तावेज हो ।

आजसम्मको अवस्थालाई हेर्दा संविधानको परिभाषा र शिक्षाको विकासभित्र भाषानीतिको अवधारणालाई समेटेको देखिन्छ । भाषाआयोगको प्रतिवेदन (२०७४) ले संविधानको आधारमा रहेर स्पष्ट भाषानीतिका लागि राज्यलाई सुझाव तथा सिफारिस पेस गरेको छ । यसर्थ देशको भाषिक विकासका लागि आधिकारिक निकाय अर्थात् भाषा आयोगद्वारा तयार पारिने व्यवस्थित कानुनलाई अबको सन्दर्भमा भाषानीति भन्न सकिन्छ । भाषानीतिले नेपालका भाषाको अवस्था अध्ययन विश्लेषण गरी तिनको संरक्षण, संवद्र्धन र विस्तारमा जोड दिन्छ । यही भाषानीतिको आडबाट भाषायोजनाको व्यवस्थापन हुन्छ । भाषानीति साधन हो भने भाषायोजना साध्यका रूपमा कार्यान्वयन गराउने व्यावहारिक कार्ययोजना हो । भाषानीतिको सिद्धान्तमा भाषायोजना निर्माण गरी कार्यसम्पादनसमेत गरिन्छ । भाषायोजनालाई भाषानीतिले मार्गदर्शन प्रदान गरेको हुन्छ ।

विज्ञान प्रविधिको विकाससँगै भाषाका माध्यमबाट मानिसले विश्वमा आफ्नो सम्बन्ध गाँस्दै आएको छ । कामको अवसर, अध्ययन तथा भ्रमणको उद्देश्यले नेपाल बाहिर जाने क्रम बढेसँगै नेपाली भाषाको व्यापकता पनि बढ्दै गएको छ । विदेशमै बस्ने, उतै आफ्नो स्थायी वासस्थान बनाउने र परिवारको व्यवस्थापन गर्ने हजारौँ नेपालीहरूद्वारा पनि नेपाली भाषाको विस्तारमा सकारात्मक प्रभाव पर्दै गएको पाइन्छ । पछिल्लो समयमा हेर्दा नेपाली भाषासम्बन्धी भएका अध्ययन अनुसन्धान, नवीन सिद्धान्तमा झुकाव तथा अनुसन्धेय विषयमा बढेको चासोले यसमा टेवा पु¥याएको छ । वैज्ञानिक प्रविधि तथा विद्युतीय भण्डारण विकास वा अनलाइन पद्धतिबाट नेपाली समाचार, साहित्य तथा नेपाली भाषीहरूको आपसी सञ्चरण हुने क्रम बढिरहेकै छ । यसै आधारमा इन्टरनेट तथा आधुनिक प्रविधिबाट विश्वका विभिन्न कुनाकुनासम्म बसेका नेपाली प्रयोगकर्ताका लागि सम्पर्क र सम्प्रेषण सम्भव हुँदै गएको तथा भाषामा पनि पहुँच बढ्दै गएको छ । उल्लिखित आधारलाई नियाल्दा नेपाली भाषाले भाषावैज्ञानिक कोणबाट विकासको मार्गलाई पक्रने अवसर पाइरहेको देखिन्छ । डायस्पोरिक भाषा–साहित्य सिर्जनाबाट नेपाली भाषा–साहित्यको विकास र विस्तारले व्यापकता पाउँदै गएको कुरालाई सकारात्मक मान्नुपर्छ ।

परिणामतः प्रसारण तथा व्यापकताका दृष्टिले नेपाली भाषा विश्वव्यापीकृत बन्दै गइरहेको देखिन्छ । यसै क्रममा हेर्दा नेपाली भाषाशिक्षणको पनि विस्तार हुँदै गएको पाइन्छ । व्यापकता पाएको देखिन्छ । कतिपय विदेशीहरू नेपालको भौगोलिक, सामाजिक, सांस्कृतिक अवस्थालाई अध्ययन, अनुसन्धान तथा खोज गर्ने उद्देश्यले नेपाली भाषाप्रति आकृष्ट हुँदै गएका छन् । नेपालभित्र मात्र नभएर नेपाल बाहिर भारत, चीन, म्यानमार लगायतका केही मुलुकमा पनि नेपाली भाषाको व्यापकता बढ्दो क्रममा छ । विशेष गरेर भारतमा नेपाली भाषीको सङ्ख्या धेरै रहेको पाइन्छ । भारतीय नेपाली भाषीहरू अन्दाजी पचास लाख बढी भएको दाबी गरिन्छ । दार्जिलिङ, सिक्किमलगायत कलकत्ता, पटना, देहरादून, दिल्ली, मुम्बईसम्म नेपाली भाषाको विस्तार भएको पाइन्छ । भारतका केही क्षेत्रलगायत सिलगढीको उत्तर बङ्गाल विश्वविद्यालय तथा काशी हिन्दू विश्वविद्यालयमा नेपालीमा एम्.ए. र विद्यावारिधिसम्मको अध्ययन, अध्यापन र अनुसन्धान भएको पाइन्छ ।

भारतपछि नेपाली भाषाका वक्ताहरूको उर्वरभूमिका स्थानमा भुटान र बर्मा रहेका छन् । २०७५ सालमा भुटान सरकारको मन्त्रीमण्डलमा नेपाली भाषीले सहभागी भई बोल्ने, लेख्ने अवसर प्राप्त गरिसकेका छन् । बर्मामा स्थायी रूपमा बस्ने बर्मिज नेपालीहरूको कर्मथलो थाइल्यान्ड पनि हो । थाइल्यान्डमा थुप्रै बर्मिज नेपालीहरू व्यापार–व्यवसायमा संलग्न भएका कारण नेपाली भाषाको विस्तार हुँदै गएको कुरालाई औँल्याउन सकिन्छ । यसका साथै बेलायत र अमेरिकाजस्ता देशमा औपचारिक रूपमा शिक्षणको व्यवस्था गर्न थालिएको देखिन्छ । यसका साथै विदेशमा स्थायी बसोबास गरेका नेपालीहरूले आफ्ना बालबालिकाहरूलाई नेपाली भाषा सिकाउने गरेका छन् । खास गरी कामको अवसरमा गएका नेपालीहरू बेलायत, अमेरिका र अस्ट्रेलियातिर लाखौँको सङ्ख्यामा छन् । त्यहाँ बस्ने नेपालीहरूले आफ्नो पहिचानमूलक भाषिक, सांस्कृतिक, साहित्यिक, सङ्घ–संस्था खोलेर नेपाली समाज र भाषाको संरक्षण, संवद्र्धन गर्दै विस्तारको अभियानमा विशेष टेवा पु¥याइरहेका छन् । यो एउटा नयाँ पाइलो हो ।

यसरी नै नेपालीहरू क्रमशः विश्वका कुनाकाप्चामा पुगेर नेपाली जाति र आफ्नो भाषा लगायत मौलिक सम्पदाको जगेर्ना गरिरहेका छन् । नेपालीहरू जहाँ गए पनि र जहाँ भए पनि नेपाली हुनाको भाव र आत्मीयतालाई नेपाली भाषाकै माध्यमबाट जीवन्त राखिराख्नुले पनि नेपाली भाषाका वक्ता धेरथोर संसारभर छन् । भारतमा पनि नेपाली भाषीहरूले बेलाबेलामा गरेका सशक्त आन्दोलनकै परिणाम स्वरूप भारतीय संविधानमा नेपाली भाषालाई राष्ट्रिय मान्यता दिइएको बुझिन्छ । यो नेपाली भाषीहरूका लागि गर्वको विषय हो । यसरी नै भाषिक पृष्ठभूमि तयार पार्दै पहुँच बढाउन सकियो भने नेपाली भाषालाई विश्वव्यापीकृत बनाउँदै लैजान सकिने देखिन्छ । नेपाली भाषालाई राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेशबाट पृष्ठपोषण प्रदान गरिँदै आइएको छ । मुलुकको भाषानीतिले यसको संरक्षण, संवद्र्धन, विकास तथा विस्तारमा ध्यान दिनुपर्छ । राज्य र नागरिक समाजले भरमग्दुर योगदान दिन सक्नुपर्छ । यसका लागि नेपालमा सबैभन्दा बढी व्यापकता पाएर पहिचान बनाएको नेपाली भाषाका माध्यमबाट आत्मीयता र राष्ट्रियताको भाव प्रदान गर्नु आवश्यक छ ।

परिणामतः नेपाली भाषाको विकासको कुरा गर्ने हो भने यस भाषाको उत्पत्तिदेखि आजसम्म आइपुग्दा यसमा वर्ण, लिपि, शब्द निर्माण, वाक्य गठन, सङ्कथन, व्याकरणको परिपक्वता, साहित्यको लेखन र व्यापकता, वाङ्मयको विकास जस्ता भाषाका आधारभूत पक्षहरूले विश्वव्यापीकरणमा फड्को मार्दै आएको छ । अर्कोतर्पm भाषाको मिश्रण बढी हुनु, त्यसमा पनि मूलतः अङ्ग्रेजी भाषाको मिश्रणले नेपाली भाषाको आधुनिकीकरणमा चुनौती पनि थपिँदै गएको देखिन्छ । यही समस्याका बाबजुत भाषिक अपसरण तथा अपक्षयको भय बढेको छ । यति हुँदाहुँदै पनि अध्ययन अनुसन्धानमा नेपाली भाषाले वर्तमान सन्दर्भमा विश्वविद्यालय तहबाट स्थान पनि पाएकै छ ।

नेपाली भाषाका माध्यमबाट नेपालका मातृभाषाहरूको अध्ययन गर्ने क्रम बढेसँगै नेपालभित्र र बाहिर पनि व्यापकता पाउन थालेको छ । नेपालको संविधानले साझा सम्पर्कको माध्यम भाषाको रूपमा दिएको स्थानले यसको व्यापकतामा अप्ठ्यारो पारेको देखिँदैन । नेपाली भाषाको विकास र विस्तारले फड्को मार्नुमा व्यवस्थित भाषिक संरचना, व्याकरण व्यवस्था र भाषिक व्यवस्थापनको सक्षमताको पक्ष पनि जोडिन्छ । अत्याधुनिक प्रविधिमा अनलाइनबाट सम्बन्ध कायम गर्न सुव्यवस्थित बनाउनेतर्पm पनि उन्मुख छ । यति हुँदाहुँदै पनि नेपाली भाषाको आफ्नोपनामा अन्य भाषाको मिश्रणले प्रभुत्व नजमाओस् भन्ने कुरामा आ–आफ्ना स्थान र एकाइबाट सदैव सावधानी अपनाउनु आवश्यक छ । पछिल्लो समयमा अङ्ग्रेजी भाषाका शब्दहरू सहजै प्रयोगमा ल्याइरहँदा नेपाली भाषामा भाषिक मिश्रणको प्रभाव बढिरहेको छ ।
कोरोना महामारीका समयमा बन्दाबन्दी नभनेर लकडाउन भन्न सहज मान्ने लगायत कोभिड – १९, क्वारेन्टाइन, आइसोलेसन, पीसीआर टेस्ट, होम क्वारेन्टाइनजस्ता शब्दले नेपाली प्रयोगमा निस्फिक्री स्थान पाइरहेका छन् ।

असचेत तवरबाट यस्ता कतिपय शब्दहरू प्रयुक्त हुने क्रम विज्ञान प्रविधिका सामग्री भित्रिएसँगै अत्यधिक बढिरहेको छ । यस्ता शब्दलाई नेपालीकरण गर्न नसक्नुले प्रभावकारी भाषिक व्यवस्थापन गर्न नसकेको प्रष्ट हुन्छ । नेपालले मातृभाषा तथा माध्यमभाषाका विषयमा भन्दा बढी अघोषित रूपमा अङ्ग्रेजी भाषालाई शिक्षाको माध्यमका रूपमा, सञ्चारको प्रयोग सन्दर्भका रूपमा स्थान दिइरहिएको यथार्थलाई नकार्न मिल्दैन । भाषिक स्वायत्ततामा मातृभाषाको विकासार्थ प्रभावकारी कदम चाल्ने गरी भाषानीतिको व्यवस्थापन नहुनु नेपालको ठूलो समस्या हो । अतः नेपालमा भाषिक अपनत्व विकास गर्ने गरी जनचेतना तथा जागरण अभियानका साथै प्रभावकारी भाषिक नीति अपरिहार्य छ ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया